६ वैशाख २०८१ बिहीबार
समाज

बेहुलासहित तीन जनालाई पक्राउ गरि मुद्दा दर्ता

सुनसरीमा बाल विवाहका घटना श्रृखलावद्ध भइरहँदा तीन जना पक्राउ परेका छन्। सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ३ का रामनारायण मण्डलको छोरीको विवाह समारोह चलिरहँदा तीन जना पक्राउ परेका हुन्।

रामनारायणकी १७ वर्षीया छोरी सबिताकुमारी र इनरुवा ४ का हेमनारायण मण्डलका २४ वर्षीय छोरा भरतको विवाह समारोह चलिरहँदा प्रहरीले बेहुला उनका बाबु र विवाहको चाँजोपाजो मिलाउनेलाई पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ परेका बेहुला भरत, उनका बाबु हेमनारायण र विवाहको चाँजोपाजो मिलाउने इनरुवा ८ का सुरेन्द्र मेहताबिरुद्ध प्रहरीले मुद्दा दर्ता गरि अनुसन्धान थालेको हो। तीनै जनाबिरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को विवाह कसुरको दफा १७३ बमोजिम मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइएको छ।  

विवाह समारोहमा स्वयंवरलगायतका अन्य रीतिरिवाज कार्य सम्पन्न भएतापनि बेहुलाले बेहुलीलाई सिन्दुर हल्ने कार्य बाँकी रहँदा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीद्वारा जारि विज्ञप्तिमा उल्लेख छ। वैशाखयता सुनसरीमा बाल विवाहबिरुद्द तीनवटा मुद्दा दर्ता भइ सकेका छन्।  

कानुनमा २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न/गराउने कार्यलाई अपराध मानेको छ। तर, समाजमा वालबिवाह रोकिएको छैन। अभिभावक सहमत भईसकेपछि छोरीचेलीले सहजै स्वीकार गरेर विवाह गर्ने चलन छ। नेपालको संविधानको धारा ३९ को उपधारा (५) मा कुने पनि बालबालिकाको विवाह गराउन नहुने उल्लेख छ। 

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७३ मा २० वर्ष नपुगीकन गरिएको विवाह स्वतः बदर हुने र विवाह गर्नेलाई  तीन वर्षसम्म कैद तथा ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था  छ। बालबालिकासम्बन्धी ऐन २०७५ मा पनि बालविवाह गरेमा दण्डनीय हुने स्पस्ट रुपमा उल्लेख छ।

प्रकाशित: २४ जेष्ठ २०७८ ११:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App