७ वैशाख २०८१ शुक्रबार
समाज

डिप बोरिङले ल्याएको खुसी

डिप बोरिङ र पानी ट्याङ्की। तस्बिर: योगेश/नागरिक

अछामको मंगलसेन नगरपालिका–६ हरिनगर (ठुलासैन) का बासिन्दालाई दुई वर्षअघि कसैले एक गिलास पानी माग्दा ठूलै समस्या आईलाग्थ्यो। उनीहरु बरु सहजै दूध, दही, मही मध्ये जेपनि दिन तयार हुन्थे तर एक गिलास पानी दिन आनाकानी गर्थे। उनीहरु सकेसम्म सहजै कसैलाई एक गिलास पानी दिँदैन थिए।  

उनीहरुले कसैलाई सहजै एक गिलास पानी नदिनुको कारण थियो। उनीहरु निकै धेरै मेहनत गरेर पिउने पानीको जोहो गर्थे। एक गाग्री पानी जुटाउन उनीहरुलाई बिहानीपखको पूरै समय खर्चिनु पथ्र्यो। घरको एकजना सदस्यको काम पिउने पानीको जोहो गर्न मै बित्ने गथ्र्यो।

‘गाग्री बोकेर धेरै टाढा पुग्नु पथ्र्यो’ स्थानीय नमराज भण्डारीले भने–‘धारामा पुगेर मात्रै भएन त्यहाँ पनि निकै लामो लाइन बसेर पालो कुर्नु पथ्र्यो।’ एक गाग्री पानी जुटाउन मुस्किल हुने स्थानीयका लागि नुहाउन र लुगा धुन त साइत जुराउनु पथ्र्यो। उनीहरु सल्लाह गरेरै आलोपालो नुहाउन र लुगा धुन जाने गर्दथे। वर्षौदेखी यस्तै समस्या भोग्दै आएका स्थानीय निकै आजित भएका थिए।  

स्थानीय युवा जनक भण्डारीले यो समस्यालाई नजिकबाट भोगे। उनी पेशाले पत्रकार थिए। उनले पानीको समस्याका बारेमा धेरै पटक कलम चलाए। तर कसैले समस्या समाधानका लागि अग्रसरता देखाएनन्। अन्ततः उनी आफै अघि सरे। उनले २०६८ सालमा सबै स्थानीय युवाहरुलाई जुटाए। पानीको समस्या समाधानका लागि एकतावद्ध हुन आह्वान गरे।

सबै युवाहरु उनको कुरामा सहमत भए। उनीहरुले कुनैपनि हालतमा पानीको समस्या समाधान गर्ने लक्ष्य बनाएर अघि बढे। समुन्द्री सतहबाट १८८५ मिटर उचाईमा रहेको हरिनगर (ठूलासैन) मा उनीहरुले खोलाको पानी लिफ्ट गरेर ल्याउने प्रयास गरे। विभिन्न कारणले त्यो सफल हुन सकेन।

यही क्रममा २०७४ मा स्थानीय तहको निर्वाचन भयो। तत्कालिन अवस्थामा नेपाल पत्रकार महासंघ अछामको अध्यक्ष रहेका तिनै पत्रकार भण्डारी वडाध्यक्ष बने। उनले हरिनगर (ठुलासैन) को पानीको समस्यालाई प्राथमिकतामा राखे।  

उनी लिफ्ट गरेर पानी तान्न नसकिने भएपछि तनावमा थिए। ‘जहाँ इच्छा त्यहाँ उपाय’ भने झैं उनले कुनै मिडियामार्फत भारतको पञ्जावमा अग्लो ठाउँमा डिप बोरिङका माध्यमबाट पानी पुर्‍याएको समाचार पढे। यो कुराले उनको मनमा उत्साह जगायो। उनले डिप बोरिङको सम्भाव्यता अध्ययन सुरु गरे। अध्ययनले हरिनगर (ठुलासैन) मा पनि डिप बोरिङबाट पानी तान्न सकिने सम्भावना देखायो। ‘सम्भावना देखेपछि नगरपालिकामा प्रस्ताव पेश गरे’ उनले भने–‘नगरपालिकाले प्रस्ताव स्विकृत गरेपछि काम अघि बढ्यो।’

नगरपालिकाले डिप बोरिङका लागि ५५ लाख रुपैयाँ बजेट विनियोजन गर्‍यो। स्थानीयले ४ लाख रुपैयाँ बराबरको जनश्रमदान गरे। कुल ५९ लाख रुपैयाँमा २०७६ साल भदौमा हरिनगर (ठुलासैन) मा डिप बोरिङबाट पानी तानियो। ४८५ फिट गहिरो डिप बोरिङ चलाउनका लागि बिजुली चाहिन्छ। साँझ र बिहान गरेर दुई पटक पानी झिकिन्छ। 

यसरी झिकेको पानी ट्याङ्कीमा जम्मा पारेर राखिन्छ। ट्याङ्कीमा जम्मा पारेर राखेको पानी पाइप मार्फत ३८ घरधुरीमा २४ सै घण्टा पुर्‍याइन्छ। प्रत्येक घरधुरीले मासिक एक यूनिट ९१ हजार लिटर० वाफत १२० रुपैयाँ महशुल तिर्छन। ‘यो रकमले बिजुलीको महशुल तिर्न ठिक्क हुन्छ’ वडाध्यक्ष भण्डारीले भने–‘पानीका दुःख हटेका छन त्यसैमा खुशी छौं।’ यति मात्रै हैन पिउने पानीको अभाव भएका अन्य ठाउँका पालिकाले समेत भण्डारीको अभियानको सिको गरेका छन्।

अछाममा मात्रै १० ठाउँमा डिप बोरिङ जडान भएका छन्। भण्डारीका अनुसार जिल्लाको जयगढ, बयलपाटा, साँफेबगर, कमलबजारलगायतका ठाउँमा यसरी पानी तानिएको छ। डिप बोरिङबाट पानी तान्ने योजना सफल भएपछि धेरै ठाउँका बासिन्दाले वर्षौको पिउने पानीको समस्याबाट छुट्कारा पाएका छन्। उनीहरु अचेल घरमै पानीको धारा जोडेपछि मख्ख छन्। 

हरिनगर (ठुलासैन) अछामको पर्यटकीय सम्भावना बोकेको स्थान हो। सदरमुकाम मंगलसेनबाट ६ किलोमिटर पूर्वमा अवस्थित यस ठाउँलाई मध्यपहाडी राजमार्गले छोएको छ। यहाँको वातावरण निकै चिसो रहन्छ। पानीको समस्याकै कारण यहाँ बस्ती बस्न सकेको थिएन। पानीको समस्या समाधान भएसँगै यहाँ चहलपहल बढेको छ। बस्ती बाक्लिदै गएको छ। सुविधा सम्पन्न होटल सञ्चालनमा आउन थालेका छन्।

स्थानीय गोरप्रसाद भण्डारीले करोड बढीको लागतमा होटल सञ्चालनमा ल्याएका छन। जिल्लाका मुख्य बजार मंगलसेन, बयलपाटा, जयगढका ब्यापारी र मध्यपहाडी राजमार्गमा ओहोरदोहोर गर्नेहरु हरिनगर (ठुलासैन) मा घुम्न आउन थालेपछि आवश्यकता महशुस गरेर होटल सञ्चालनमा ल्याएको भण्डारीले जानकारी दिए।

प्रकाशित: २४ जेष्ठ २०७८ ०८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App