इलाम जिल्लाभर आउँदो ३१ गतेसम्मलाई निषेधाज्ञा लम्बिएको छ। सिडिओ धुुवबहादुर खड्काले यसअघि २२ गतेसम्म तोकिएको निषेधाज्ञा ९ दिन लम्ब्याइएको आदेश जारी गरेका हुन्।
यो अवधिभर बाहिरबाट जिल्ला भित्रिने तथा जिल्लाभित्र चल्ने सबैखाले सार्वजनिक यात्रुबाहक तथा निजी सवारी साधन चल्न पाउने छैनन्। भिडभाड हुने सबैखाले हाटबजार, मेला, जात्रा, प्रतियोगिता, सभा–सम्मेलन, भेलालगायत बन्द गरिएको छ।
सार्वजनिक निकाय, संस्थान, बैंक तथा वित्तीय संस्था, बीमा कार्यालयले प्रवाह गर्ने अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरिएको छ भने नित्यपूजाबाहेक धार्मिकस्थलमा गरिने सबै कार्यक्रम रोकिएका छन्।
जिल्लामा दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै निशेषाज्ञाको अवधि थप भइरहेको छ।
यसअघि प्रशासनले गत वैशाख २८ देखि जेठ १२ सम्म निषेधाज्ञा जारी गरेको थियो। त्यसपछि जेठ २२ सम्म थपिएको अवधि पुनः थपेर जेठ ३१ पु¥याइएको हो। जिल्लामा मात्र होइन, सीमा जोडिएका पाँचथर र झापामा समेत कोरोना संक्रमितको संख्या बढिरहेका बेला निषेधाज्ञाको अवधि लम्ब्याउनुपरेको प्रशासनले जनाएको छ।
सरकारले पहाडी जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित भए स्थानीय प्रशासनले नै निशषेधाज्ञा र बन्दाबन्दी आदेश गर्नसक्ने निर्णय गरेको थियो। इलाममा शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ८ सय ९९ छ। जिल्लामा अहिलेसम्म १ हजार २ सय २५ जना कोरोना संक्रमित भएकामा २७ जनाको निधन भएको छ। २ सय ९९ जना उपचारपछि घर फर्केका छन्। होम आइसोलेसनमा ८ सय ८४, सामान्य उपचारमा १० र इन्टेन्सिभ केयर युनिछ (आइसियु)मा ५ जना उपचाररत रहेको प्रशासनले जनाएको छ।
प्रकाशित: २१ जेष्ठ २०७८ १४:२३ शुक्रबार