११ मंसिर २०७८ शनिबार
समाज

कागजमा टिकेको रंगीन सपना

जसले हातले छामेर सजावट सामग्री तयार गर्छन्

‘तपाईको जीवन तपाईकै हातमा छ’, ‘कर्म गरे फल मिल्छ’ यस्ता भनाइहरू जति नै सैद्धान्तिक लागे पनि कतिपयको जीवनमा वास्तवमै सत्य अनि प्रयोगात्मक हुन्छ। यो भनाइ मोहन विश्वकर्माको जीवनसँग मेल झण्डै खान्छ। 

उनले आफ्नो जीवन सुहाउँदो कर्म गरेका छन्। जीवनको उनको सपना  कागजको टुक्रसँग जोडिएको छ। २८ वर्षीय मोहन विगत पाँच वर्षदेखि कागज विभिन्न आकृतिका सामग्री तयार पार्न अभ्यस्त छन्। उनी दृष्टिविहीन हुन्। आँखा देख्न सक्दैनन्, तर हातले छामेर आफ्नो कर्ममा तल्लीन छन्। उनले कागजका टुक्रासँग ‘सपना’ देखेका छन्।  

उनले काम नलाग्ने कागजका टुक्राहरू प्रयोग गरेर गमला, पेन कप, गहना राख्ने बक्स, किरिङ, आम्खोरा, टिकोस्टर, टेबल ल्याम्प जस्ता आकर्षक सामग्री तयार गर्छन।  जुन कसैलाई जन्मदिन उपहार दिन सकिन्छ। यति मात्र होइन दृष्टिविहिन भएकाहरुले लेख्ने स्टाइलस र खेल्ने चेस  मोहनले बनाउँछन्। 

कागजका  सामग्री मात्रै होइन  बाँसको यलम्बर बाजा, बाँसको सिठी, काठका किरिङ, माटोको चरा, फुलदानी, निगालोबाट गीत बजाइने झ्याली बनाउने सीप पनि छ, उनीसँग  ।  

उनले सानैमा आँखाको दृष्टि गुमाए। दृष्टिविहिन भएकै कारण जीवनमा थुप्रै हण्डर ठक्कर खाएका छन्। तर हण्डर–ठक्करबाट उठ्दै आज जीवन सार्थक बनेको छ, उनको। उनी आफै कर्ममा तल्लीन छन्।  

ललितपुरकाे लुबुमा कोठा भाडामा बसेका उनले घरमै बसीबसी आफ्नो सीप र कला मार्फत आकर्षक विभिन्न साइजका सजावट सामग्री तयार गर्छन्।  

श्रीमती र बहिनीले पनि सकेको सहयोग गर्छन्, उनलाई श्रीमती र बहिनीको सहयोगले नै आज यो काम गर्न सफल भएको उनी बताउँछन्। 

कागजबाट विभिन्न सजावट गर्ने रंगीन सामग्री हुन्छ। कागज, पेपर कटर, गम, फेभिकल, ग्लूस्टिक, रंग, थिनर आदिले मात्रै  एउटा सजावट सामग्री बन्छ। उनी दैनिक काजगका टुक्राबाट विभिन्न आकृतिका सिर्जनात्मक काम गर्छन्।

काठमाडौंमा उनी बि.एमा अध्ययनरत हुँदा सामाजिक कार्यमा पनि सक्रिय थिए। नेपाल दृष्टिविहिन कल्याण संघले दृष्टिविहिनहरुका लागि तीन महिने तालिम सञ्जालन गर्याे। जुन तालिम ब्रेल पुस्तकहरु बनाउँने थियो।  

‘ब्रेल पुस्तक बनाउने कागजहरूको छेउमा हुने प्वाल– प्वाल परेका साना भागहरू च्यातेर फाल्ने काम पाएँ’, उनी भन्छन्, ‘जस्तै बैंकका चेक र बिलहरूको छेउमा रहेको प्वाल पार्ने काम हुन्छ। त्यस्तै काम मैले पनि गरेँ। त्यस्ता प्रयोगविहिन कागजबाट आकर्षक सामग्री बनाउने सोच आयो।’  

सुरुवाती दिनमा असम्भव देखे उनले। तर हरेस खाएनन्, प्रण गरे। प्रोगविहिन कागजका टुक्रबाट सजावट सामग्री बनाउन हरपल अभ्यास गरिरहे। कागजहरूका टुक्रालाई नै जीवनको  लक्ष्य बनाए।  

त्यसैले त आजको जिविकोपार्जनको माध्यम बनेको छ, उनको । आज जीवनमा आनन्द र खुशी मिलेको छ।  

उनले तयार पारेको सामग्री मेलामहोत्सव प्रदर्शन गर्छन। उनले कागजको गमलालाई ३ सय रुपैयाँ मूल्य रोखेका छन्। अरु समानअनुसार मूल्य राखेका छन्।  

‘मैले अहिले सम्म पसलमा बिक्रि गर्न राखेको छैन। साथीहरुसंग मेलामहोत्सवमा  लगेर बिक्रि गर्ने गरेकाे छु। अहिले सामान्य जीवनयापन गर्न सजिलो भएको छ’, उनले भने।  

उनले कुनै पनि तालिम लिएका छैनन्। यो उनको ज्ञान र क्षमताले सम्भव भएको हो।  

उनी आफूसँग भएको सीपलाई अझ बजार विस्तार गर्ने सपना छ उनको। त्यसको लागि लगानी खोज्दै छन्।  

आफू जस्तै दृष्टिविहिनहरुको लागि पनि यस्ता सिप विकास तालिम चलाउने सोच उनकाे छ। यसको लागि सहयोगी हातहरु खोज्दै छन्, उनी।  

‘आफूसँग भएको सीप बचेर जिन्दगी चलाउन सकिन्छ। त्यसैले पनि आफूसँग सीप अनुसार काम गर्न थाल्दा बाँच्न सजिलो हुन्छ ।’ सीपबाट आम्दानी गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित: १६ जेष्ठ २०७८ १६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App