७ वैशाख २०८१ शुक्रबार
समाज

सर्जिकल पसलमा पसेर कुटपिट गर्ने प्रहरी टोलीमाथि छानबिन सुरु

वीरगन्जमा कोभिड–१९ लाई नियन्त्रण गर्न जारी निषेधाज्ञामा प्रहरीले कडाई गर्ने र आममानिसहरुले यसलाई असहज मान्नेक्रममा स्थानीय र प्रहरीबीच सम्बन्ध बिग्रिन थालेको छ। यसक्रममा स्थानीय तथा प्रहरीबीच विवाद, द्वितर्फी झडप र प्रहरीद्वारा कुटपिट तथा धरपकडका घट्ना हुँदै आएकोमा यसपटक सर्जिकल पसलका कर्मचारीलाई प्रहरी नायब उपरीक्षकको नेतृत्वको टोलीले कुटपिटको घट्ना भएपछि छानबिन सुरु भएको छ।  

स्थानीयले ‘प्रहरी ज्यादती’ भनेका यस प्रकरणमा प्रदेश २ प्रहरी कार्यालयले छानबिन सुरु गरेको छ। बुधबार बिहान १०ः२१ बजे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीसहितको प्रहरी टोली सर्जिकल पसलमा प्रवेश गरी त्यहाँका कर्मचारी अफरोज अहमदलाई सामूहिक रुपमा कुटपिट गरेका थिए। 

यसअघि जुनियर अफिसर वा मातहतका प्रहरीकर्मीहरु दुर्व्यवहारका घट्नामा मुछिँदै आएका थिए। यसपटक भने प्रहरी नायब उपरीक्षकले आफै डण्डा र लात्तिले हानेको भिडियो भाइरल भएको छ। प्रहरीको भिडियो खिचेको आरोपमा अहमदलाई कार्कीसहितका टोलीले कुटपिट गरेको थियो। उक्त पसलमा राखिएको सीसीटीभी क्यामरामा कुटपिटको दृष्य पनि कैद हुन पुग्यो। एकछिनमैं सामाजिक संजालमा छ्याप्छ्याप्ती भयो।  

निषेधाज्ञामा जारी आदेशअनुसार बिहान ८ बजेभित्र पसलहरु बन्द हुनु पर्नेमा खुल्लै रहेको किराना पसल बन्द गराउन त्यहाँ प्रहरी टोली पुगेको थियो। छेउमैं रहेको सर्जिकल पसलका कर्मचारीले भिडियो बनाएको भन्दै आक्रोशित भएर प्रहरीले पसलभित्र पसेर कुटपिट गरेको थियो। लौरो र बुटसहित लात्तिले हिर्काएपछि अहमदको मोबाइल प्रहरी नायब उपरीक्षक कार्कीले खोसेर लगेको दृश्यमा देखिन्छ। उक्त घट्नापछि प्रहरीको आलोचना भएपछि प्रदेश २ नम्बर प्रहरी कार्यालयले छानबिन समिति बनाएको छ।

जनकपुरधामस्थित प्रदेश २ नम्बर प्रहरी कार्यालयबाट जारी एउटा विज्ञप्तिका अनुसार प्रहरी उपरीक्षक कृष्ण प्रसाईंको संयोजकत्वमा बिहीबार ३ सदस्यीय छानबिन समिति गठन गरिएको हो। ‘कोभिड–१९ मा जनताको स्वास्थ्य सूरक्षाका लागि जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी निषेधाज्ञा पालना गराउने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज–८, घण्टाघरमा रहेको सर्जिकल पसल संचालनकर्तासंग गरिएको गैरब्यवसायिक ब्यवहार सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको,’ प्रदेश प्रहरीको विज्ञप्तिमा छ। 

छानबिन समितले अनुसन्धान कार्य प्रारम्भ गरिसकेको र अनुसन्धानको क्रममा कोही प्रहरी कर्मचारी दोषी देखिएमा प्रहरी नियमावली बमोजिम कारबाही गरिने जनाइएको छ।

प्रकाशित: १३ जेष्ठ २०७८ १४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App