१६ चैत्र २०८० शुक्रबार
समाज

नागरिकता वितरणसम्बन्धी सामाजिक सञ्जालमा भएका पोष्ट आधारहीन: जिप्रका पर्सा

भीम रावलको बिवादस्पद ‘ट्विट’

सरकारद्वरा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी भएपछि पछिल्लो पटक वीरगन्ज अनावश्यक चर्चामा आएको छ। कोरोना भाइरस संक्रमण न्युनीकरणका लागि जारी निषेधाज्ञाकाबीच वीरगन्जमा जिल्ला प्रसाशन कर्यालयमा नागरिकता लिनेको भिड रहेको र त्यसमा भारतीय नागरिकहरु पनि सामेल रहेको भनी समाजिक संजालमा आएको कुरा गलत रहेको भनी जिल्ला प्रसाशनले विज्ञप्ति नै निकाल्नु परेको हो।  

‘यस कार्यालयको नाम जोडेर हालै समाजिक सञ्जालमा नागरिकता वितरण सम्बन्धी विषयलाई लिएका भएका पोष्ट र आएका समाचारहरु प्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘२०७८ बैशाख १६ गतेदेखि जिल्लाभर लागु हुने गरी निषेधाज्ञा लागु गरिएको र सो निषेध आदेश हालसम्म जारी रहेको छ। निषेधाज्ञा जारी भएको हालको अवस्थामा कार्यालयबाट शान्ति सुरक्षा कोभिड नियन्त्रण संग सम्बन्धित कार्य एवं अत्यावश्यक काम बाहेक अन्य सबै प्रकारका सेवा प्रवाह हाल स्थगन गरिएको अवस्था छ। तसर्थ नागरिकता वितरणको कार्य पनि यस निषेधाज्ञा अवधिमा नगरिएको एंव नभएको व्यहोरा स्पष्ट पारिन्छ।’    

सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जारी गरेको विज्ञप्तिमा नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमणको बढ्दो अवस्थालाई नियन्त्रण, रोकथाम र संक्रमणको श्रृंखला तोड्न निषेधाज्ञा रहेको प्रष्ट्याइएको छ। ‘यस बीचमा निषेधाज्ञा अवधिमा ठुलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भनी केही वर्ष पुरानो जस्तो देखिने भिडियो फुटेज समेत राखी सामाजिक सञ्जालमा भएका पोष्ट एंव आएका समाचारहरु आधारहीन, असत्य र कपोल कल्पित भएको कुरा सबैमा जानकारी एंव अनुरोध गरिन्छ,’ उल्लेख गरिएको छ।  

भीम रावलको बिवादस्पद ‘ट्विट

नेकपा एमालेका एक जना नेता पूर्वमन्त्री भीम रावलले सोमबार साँझ गरेको एउटा ट्विटपछि यो विषय चर्चामा आयो। वीरगन्जमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको संख्या ठूलो रहेको समाचार आयो भन्दै ट्विटरमा लेखे। ‘प्रम केपी शर्माको निषेधाज्ञा जनतालाई घरमना बन्द गरेर नेपाली नागरिकता बिदेशीलाई समेत चकलेट बाँडेजस्तै गर्नलाई होकी ? नेपाली जनतालाई जवाफ चाहियो। सम्पुर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं,’ भनी उनको ट्वीटमा उल्लेख थियो। नेता रावलको टिप्पणीप्रति मानिसहरु आश्चर्य जनाए र आक्रोश व्यक्त गरे। 

उनले अफवाह फैलाएर ठाउँलाई बदनाम गर्न खाजे भनी पर्सा बारामा उनी लक्षित अपशब्दसमेत प्रयोग गरिएका प्रतिक्रियाहरु समाजिक संजालमा छ्यापछ्याप्ती भयो। नेकपाका वरिष्ठ नेता एवं पूव्र प्रधानमन्त्री माधव कुमार नेपालले यस्तोको संगत गरे भनी टिप्पणी पनि देखियो। विश्लेषक चन्द्रकिशोरले समाजिक संजालमा प्रतिक्रिया लेखे, ‘सम्माननीय माधव कुमार नेपालज्यू, तपाई त देश चिनेको, मधेशको घाम–पानी खाएको राष्ट्रिय नेता हुनुहुन्छ,  श्री भीम रावल जी जस्तो देश नबुझ्ने, नागरिक गरिमा नबुझ्ने नेतासंग कानेखुशी गरिरहने हो भने कसरी लोकतंत्र सप्रिन्छ, र मुलुक सग्लो हुन्छ?’  

मंगलबार बिहान रावलले आफ्नो उक्त विवादास्पद ट्विट हटाए। र, लगतै अर्को ट्विटमा अघिल्लो अभिव्यक्तिको वचाउ गरे, त्रुटी स्विकार गरेनन। ‘मैले वीरगन्जमा नागरिकता लिनेको भिड देखियो भन्ने समाचार आयो, सरकारले जनतालाई जवाफ देओस् भनेर सोध्नु कुनै गलत कुरा होइन, सरकारले प्रष्ट पारे भइहाल्यो। तर उक्त समाचार पुरानो भनी ध्यान आकर्षित गराउनुहुने सबैलाई धन्यवाद दिँदै मेरो त्यो ट्विट हटाउने जानकारी गराउँछु।’ त्यसपछि पनि समाजिक संजालमा पुरानो भिडियो र तस्विर हालेर वीरगन्जमा नागरिकता बाडिएको भनि तथ्यहीन सामग्री केही संचारमाध्यम र समाजिक संजालमा आएको जिल्ला प्रसाशन कार्यालयको विज्ञप्तिले बुझिन्छ। 

प्रकाशित: १२ जेष्ठ २०७८ ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App