६ वैशाख २०८१ बिहीबार
समाज

राजधानीको वायु प्रदूषणमा सुधार

निषेधाज्ञा जारी भएको तेस्रो सातासम्म अपेक्षित सुधार नभएको राजधानीको वायु प्रदूषण पछिल्ला दिनमा सुधार देखिएको छ। पछिल्ला केही दिनमा वर्षा र हावाहुरी दुवै चलेकाले प्रदूषण छरिन पाउँदा राजधानीको प्रदूषणमा सुधार भएको हो। यसैगरी जारी निषेधाज्ञाले राजधानीको प्रदूषणका प्रमुख कारण मानिएकोे सवारीसाधनवाट हुने उत्सर्जनमा कमी आएको विज्ञ मान्छन्।

रत्नपार्कमा राखिएको वायु प्रदूषण मापन स्टेसनले राजधानीको वायु प्रदूषणका लागि जिम्मेवार मानिएको अत्यन्त सुण्क्ष्म कण पिएम २.५ पछिल्ला ३ दिनमा राष्ट्रिय मापदण्डभन्दा कम रहेको देखाएकोछ। वायु प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा एकदिनमा सरदर ४० माइक्रोग्राम सुक्ष्म कण रहेमा स्वच्छ वायु भनेर नेपालले परिभाषा गरेको छ। रत्नपार्कमा गत बुधबार राति १० बजे पिएम २.५ को स्तर ७१ अंक उक्लेको थियो तर त्यसपछि यो लगातार घट्दो क्रममा छ।। रत्नपार्कमा आइतबार ३ बजे पिएम २.५ को स्तर १० अंक भन्दा कम छ। 

काठमाडौं उपत्यकामा राखिएका अन्य वायु प्रदूषण मापन स्टेसनले पनि वायु प्रदूषणको स्तरमा उल्लेख्य सुधार आएको देखाएका छन्। राजधानीको प्रदूषणका लागि गाडीहरूबाट निस्कने उत्सर्जन, कलकारखाना विशेषगरी इँटा उद्योगबाट निस्कने धुँवा, सडक धुलो, घरबाहिर जलाइने फोहोरलगायतका कारक मानिँदै आएकोछ। स्थानीय कारणसँगसँगै देशका अन्य भागमा लाग्ने डढेलो, अन्य जिल्लामा कृषिजन्य बाली खेतमा डढाउँदा निस्कने उत्सर्जन सहितको प्रदूषित हावाको वहाब राजधानी खाल्डोमा आउदा प्रदुषण बढ्ने गर्दछ। यसैगरी नेपालमा प्रदूषणका लागि किर्गिस्तान, अफगानिस्तान, पाकिस्तान तथा भारत हुँदै आउने प्रदूषित हावा पनि जिम्मेवार मानिन्छ।

पछिल्ला दिनमा उपत्यकाका मात्र होइन, देशका अन्य स्थानमा राखिएको स्टेसनले पनि वायु प्रदूषणको तहमा निकै सुधार भएको देखाएका छन्। वन तथा वातारण मन्त्रालयअन्तर्गतको वातावरण विभागले दाङ, लुम्बिनी, हेटौडा, भरतपुर, पोखरा, सिमरा, जनकपुर, विराटनगर, धनकुटालगायतका स्थानमा राखेको प्रदूषण मापन स्टेसनले पनि पिएम २.५ को स्तर राष्ट्रिय मापदण्डभित्रै रहेको र जनस्वास्थ्यका लागि हानिकारक नरहेको देखाएका छन्।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले केही दिनअघि अरेबियन सागरमा आएको आँधीका कारण नेपालको पश्चिमदेखि पूर्वी भागसम्म वर्षा गराएको र पछिल्ला दिनमा वर्षा र हावाहुरी दुवै चलेकाले प्रदूषण छरिन गएको बताउँछन्। चैत्रको दोस्रो साता देशमा अधिकांश जिल्लामा लागेको ढडेलो अहिले रोकिएको र निषेधाज्ञाका कारण यातायात पनि ठप्प रहेकाले प्रदूषणमा सुधार आएको मानिएको छ। मौसमविद् पौडेल अबको ३ सातामा मनसुन सुरु हुने भएकाले पनि प्रदूषणको स्तरमा झन् सुधार आउने बताउँछन्।

अन्तर्राष्ट्रिय रूपमा वायु प्रदषणको मात्रा नाप्ने इन्डेक्स (एक्युआइ)ले पनि पछिल्ला दिनमा राजधानीको समग्र वायु प्रदुषणको स्तर तुलनात्मक रूपमा सुधार भएको देखाएको छ। देशका विभिन्न स्थानमा लागेको डढेलो र पानी नपर्दा एक्युआइको हिसाबले काठमाडांै चैतको दोस्रो साता विश्वकै सवैभन्दा बढी प्रदूषित सहर बनेको थियो। केही साता अघिसम्म विश्वकै १० प्रदूषित सहरको सूचीमा रहेको काठमाडौं आइतबार ४ बजे एक्युआइमा ७९ अंकसहित संसारको १९औ प्रदूषित सहरमा झरेको छ।

वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजार एक सयजनाको मृत्यु भएको ‘स्टेट अफ ग्लोबल एयर–२०२०’ नामक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ। सन् २०१६ को विश्व स्वास्थ्य संगठनको एक अध्ययन प्रतिवेदनले प्रदूषणका कारण काठमाडौंमा मात्रै झन्डै १० हजार मानिसको मृत्यु हुने देखाएको छ। वायु प्रदूषणका कारण मुटुरोग, फोक्साको समस्या, निमोनिया मस्तिष्का घातलगायतका विभिन्न समस्या उत्पन्न हुने अध्ययनले देखाएका छन्।

प्रकाशित: १० जेष्ठ २०७८ ०१:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App