८ वैशाख २०८१ शनिबार
समाज

द्रुत गतिमा फैलियो कोरोना, गाउँ-गाउँमा सङ्क्रमित

पाँचथरको हिलिहाङ गाउँपालिका–५ को मालबासे टोल । जहाँ घरैपिच्छे कोरोना सङ्क्रमित छन् । तस्बिर : नागरिक

पूर्वी पहाडी जिल्ला पाँचथरमा कोरोना भाइरसको संक्रमण द्रुत गतिमा फैलिदै गएको छ। सदरमुकाम फिदिममा मात्र नभई ग्रामीण क्षेत्रमा पनि कोरोना भाइरसको सङ्क्रमण दैनिक फैलिदै गएको हो ।  

न्यून परीक्षण भएपनि सङ्क्रमित हुनेको संख्या बढिरहेको  छ । विभिन्न गाँउमा ज्वरोका विरामी बढ्दै गएका छन्। सबैको परीक्षण हुन नसक्दा ज्वरोका विरामी कोरोना सङ्क्रमित हुन हैनन् भने यकिन भएको छ।  

कोरोना नियन्त्रणका लागि गरिएको प्रयास सफल हुन सकेको छैन् । होम आइसाेलेसनमा राखिएका सङ्क्रमितको निगरानी हुन नसक्नु, उनीहरूका आफन्तहरू तथा नजिकको तत्काल परीक्षण हुन नसक्दा समस्या थपिरहेको देखिन्छ। पहिलो लहरमा गाँउमा नपुगेको कोरोनाको दोस्रो लहर गाउँगाउँमा फैलिएको छ। यहाँका सबै गाउँपालिकामा कोरोना सङ्क्रमित रहेका छन्। विहे, पूजा लगायतका कारण ह्वातै कारोना फैलिएको छ ।  

हिलिहाङ गाउँपालिका–५ मा मात्र ७२ जना सङ्क्रमित भएका छन् । गाउँभरि ज्वरोका विरामी रहेका छन्। बासबोटे भन्ने ठाउँमा प्रायः घरैपिच्छे विरामी छन्। स्थानीय सुजन ओझाका अनुसार परीक्षण गरिएका मध्ये धेरैलाई पोजेटिभ रिजल्ट आउने गरेको छ ।  

गाउँभरि ज्वरोका विरामी देखिएकाले गाउँपालिकामा रहेको एन्टिजेन्टले नपुगेर छिमेकी फालेलुङ गाउँपालिकासँग मागेर परीक्षण गरिँदै छ । कोरोना फैलिँदै गएपछि निषेधाज्ञा जारी भए पनि चेन तोडिन सकेको छैन्। निषेधाज्ञा जारी गरी नियन्त्रणको प्रयास गरिएको प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले बताए। कोरोनाको चेन तोड्न नसक्दा सङ्क्रमण फैलिरहेको उनको भनाइ छ।

सदरमुकाम फिदिमका टोलैपिच्छे कोरोना सङक्रमति छन्। ग्रामीण क्षेत्रमा उत्तिकै सङक्रमित बढेका छन्। कोरोना सङ्क्रमणका कारण पाँचथरका चार जनाको मृत्यु भएको छ । एकजना पाँचथर अस्पतालमा, एकजना उपचारको क्रममा र दुई जनाको झापाको अस्पतालमा मृत्यु भएको हो। आइतबार मात्र ५६ जना थपिएका छन्। 

हालसम्म जिल्लामा ३ सय ८५ जना सङ्क्रमित पुगिसकेका छन् । जिल्ला अस्पतालमा एन्टिजेन्ट परीक्षण गर्दा १५ प्रतिशतको हारहारीमा पोजेटिभ देखिन थालेका छन् । पछिल्लो पिसिआर रिर्पोटमा ६६ दशमलव ६६ प्रतिशत पोजेटिभ आएको थियो। ‘सङ्क्रमित हुनेको संख्या बढिरहेको छ । कोभिडका विरामीले बेड भरिएका छन्’ कोभिड अस्पतला पाँचथरका डाक्टर सरोज ताम्लीले भने ‘भेन्टिलेटर जोड्ने तयारी भएको छ। तर चलाउनका लागि स्वास्थ्यकर्मीको अभाव रहेको छ ।’

निजी अस्पताल अस्पतालमा पनि उपचार भइरहेको छ। जिल्लाका विरामीलाई बढी समस्या भए झापा पुर्‍याउनुपर्ने बाध्यता रहेको छ। अक्सिजनको केही जोहो भएको छ। भेन्टिलेटर जोड्ने तयारी भए पनि चलाउने जनशक्ति छैन। जिल्ला अस्पतालमा चारवटा भेन्टिलेटर आएको छ। कोरोनाको सङ्क्रमण फैलन नदिने भनेर काम गर्ने भनिए पनि सङ्क्रमण बढ्याबढ्यै भएको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपालले बताए।  

स्वास्थ्य कार्यालय पाँचथरले पर्याप्त समन्वय गर्न सकेको छैन। स्थानीय तह पनि के गर्ने भन्नेमा अलमलिएको देखिन्छ । अन्य जिल्लामा कोरोना फैलिदै गर्दा जिल्लामा गरिएका निर्णयहरू समयमा कार्यान्वय नहुँदा समस्या छ। फिदिमका टोलटोलमा कोरोना सङ्क्रमित रहेका छन् ।

गाउँगाउँमा विरामी बढ्दै गर्दा उपचार लगायतका लागि समस्या उत्पन्न हुने देखिन्छ। निषेधाज्ञा कार्यान्वनमा सुरक्षा निकायले निकै कडाइ गरिरहेको छ। समुदाय स्तरमा फैलिएको कोरोना नियन्त्रणका लागि निकै कठिन बन्दै गएको छ । गाउँगाउँमा ज्वरोका विरामी छन्। तीव्र गतिमा परीक्षण नहुँदा ज्वरोका विरामी कोरोना सङ्क्रमति हुन् कि होइन भन्ने छुटिनसकेको छैन।

प्रकाशित: ९ जेष्ठ २०७८ १४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App