coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोटाङमा तीव्र गतिले फैलिँदै कोरोना

खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेको सालम्बुमा १३ जनालाई कोभिड–१९ को संक्रमण देखिएको छ। सोही वडाको काहुले भन्ने टोलमा पनि ९ जनालाई संक्रमण पुष्टि भएको जन्तेढुंगा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए। यस्तै, जन्तेढुंगा गाउँपालिका–५ खुटाको बितलवमा पनि ९ जना संक्रमित भेटिएका छन्। पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा यसरी कतिपय सिंगो गाउँमा संक्रमण फैलिएको पाइएको स्वास्थ्य शाखा संयोजक पोखरेलले बताए।  

केही समयअघि काहुलेको सालम्बुमा ४०/४५ वर्ष भारत बसेका पुरुष बुढेसकाल लागेपछि गाउँ फर्के। चार/पाँच दशकसम्म परदेश बसेका मान्छे गाउँ आएपछि खुसीयालीमा छरछिमेक तथा आफन्त भेटघाटमा आउने नै भए। त्यहीक्रममा भएको भेटघाट र जमघटले सालम्बुमा संक्रमण फैलिएको अनुमान गरिएको छ। स्वास्थ्यमा समस्या भएपछि चेक गर्दा त्यी पुरुषलाई कोभिड–१९ संक्रमण भएको पुष्टि भएपछि उनका आफन्त छांगाबाट खसेजस्ता भएका थिए।

‘लामो समयसम्म बेपत्ता भएको मान्छे गाउँमा आउँदा आफन्त खुसी मान्दै भेटघाटमा गए। त्यही कारण संक्रमण अरुलाई सर्‍यो,’ पोखरेलले भने, ‘बितलवमा पनि विवाह जस्ता सामाजिक कामले संक्रमण फैलिएको हुनसक्ने अनुमान छ। गाउँपालिकाले सिमित समुहको उपस्थितिमा सामाजिक कार्य गर्न भनेका थियौं त्यसको पालना भएन। अहिले पनि गाउँ–गाउँमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भएको देखिन्न।’ जन्तेढुंगाका अन्य गाउँमा पनि भित्र–भित्रै भुसको आगोझैं संक्रमण फैलिरहेको अनुमान गरिएको छ। जन्तेढुंगा गाउँपालिकामा आइसोलेसन सेन्टरका लागि प्रयास गर्दा पनि अक्सिजन सिलिण्डर जुटाउन सकिएको छैन। प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा भएको दुई वटा खाली सिलिण्डर रिफिल गर्न समेत नपाइएको स्वास्थ्य संयोजक पोखरेलले बताए।  

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कको कट्वाल गाउँमा मात्र ३१ जना संक्रमित भेटिएका छन्। यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको नुनथलाबजारमा पनि २६ जनालाई संक्रमण पुष्टि भइसकेको छ। नजिकैको पञ्चरदोबाटोमा लाग्ने हाटमा भएको जमघट तथा विवाहभोजमा भएको भेटघाटले कट्वालगाउँमा भुसको आगो सरी संक्रमण फैलिएको अनुमान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए। नुनथलाबजारमा भने विवाहका लागि सिन्धुली पुगेर आएका एक व्यक्तिबाट संक्रमण भित्रिएको अनुमान गरिएको छ।  

यस्तै, रावाबेँसी गाउँपालिकामा पनि एउटा सिंगो गाउँमा कोभिड–१९ को संक्रमण फैलिएको छ। रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको वडा कार्यालय रहेको क्षेत्रमा १५ जनालाई संक्रमण भएको पुष्टि भएको छ। सो ठाउँमा प्रायः अधिकांश घरमा संक्रमित भेटिएका छन्। कतिपय सिंगो परिवार समेत संक्रमणको मारमा परेका छन्। संक्रमितको ‘हिस्ट्री’ अध्ययन गर्दा कुभिण्डेमा पनि सुनसरी पुगेर आएका व्यक्तिबाट गाउँमा संक्रमण भित्रिएको अनुमान गरिएको छ।

प्रकाशित: ८ जेष्ठ २०७८ १३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App