८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

कोरोनाको उत्तम अनुभवः हेलचक्र्याइँ नै बढी जिम्मेवार

नयाँ भेरियन्टको कोरोनाले बिस्तारै छोप्दै थियो देशमा, त्यही कोरोना कहरलाई कम गर्न सरकार दोस्रो लहरको कारोनाको क्रम भंग गर्न निषेधाज्ञाको तयारीमा जुट्दै गरेका समाचारहरु आइरहेका थिए। यता गाउँ(चाँगुनारायण नगरपालिका वडा नं. ९ को साखकर्मी टोल)मा दाइको छोराको बिहेको तयारी पनि त्यही गतिमा हुँदै थियो।

२०७८ वैशाख १० गतेको साइतमा हुने विहेको सबै तयारी सकाएर ५० बढी व्यक्तिहरुको जन्ती टोली सिन्धुपाल्चोक पुगे। त्यसरी जन्तीमा सरिक हुनेमा सोही टोलका ३७ वर्षे युवा उत्तम पनि एक थिए।

‘दाइको छोराको बिहेमा काका सहभागी हुने कुरै भएन, हामी जन्ती गयौं, जन्तीमा आआफ्नै तरिकाले रमाइलो गर्यौं,’ उत्तम भन्छन्। जन्ती गइयो, बेहुली पनि ल्याइयो, टोलमा रमाइलै भयो, तर त्यसको ठीक तेस्रो दिनको साँझबाट भने जब उत्तमलाई जीउ भारी भएको अनुभव हुन थाल्यो। त्यो बेला उनले त्यही जन्ती भोज सम्झे, ‘जन्तीमा काकाको छोरा पनि मसँगै थिए। उसले आफूलाई सन्चो नहोला जस्तो छ भन्दै बिहे भोज पनि राम्रोसँग खाएको थिएन । म उसलाई सन्चो नभए जे पायो, त्यो नखानू भनेर सुझाउँदै थिएँ।’

दिउँसोसम्म केही नभएको जीउमा अचानक ज्वरो आउँदा पनि उनी खासै आँतिएनन्, ‘ज्वरोमात्र त हो नि भनी सिटामोल र पानीपट्टी लगाएर रात काटेँ’ उनले भने। त्यो विधि अपनाउँदा पनि ज्वरो बीसको उन्नाइस हुँदैन, त्यसपछि उनको मनमा चिसो पस्यो,‘कतै जन्तीमा बेहुलीसँगै कोरोनालाई त अन्माइन?’

उनको शंका अझ बढ्न थाल्यो, आफूलाई जस्तै समस्या काकाको छोरा र बेहुलाको दाजुलाई पनि भएको रहेछ। त्यसपछि शरीरमा देखिएको ज्वरो ‘कोरोना नै हो कि’ जस्तो भान भयो। परिवारका सदस्यलाई आफूलाई परेको समस्या बताउँदा ‘हैन, यस्तो ज्वरो त जसलाई नि आइहाल्छ नि, लसुन, जिरा, अदुवा, बेसार पानी उमाल्ने टन्न खाने निको हुन्छ’ भनेर ढाडस दिए। त्यसले पनि उनमा आत्मविश्वासको लेभल बढ्यो।

तैपनि उसको मन मानेन, अनि एक साथीको साथमा भक्तपुर अस्पताल पुगे। उनले पीसीआर परीक्षण गर्ने निधो गरे। तर पीसीआरको लागि १० बजेपछि मात्र खुल्ने, फेरि कोरोना पोजेटिभ भयो भने के गर्ने? भन्ने प्रश्नको जवाफ उनले भेट्टाउन सकेनन् र पीसीआर नै नगरी उनी कमलविनायकस्थित एक पोलिक्लिनिक पुगे र आफ्नो समस्या अनुसारको औषधि लिएर घरै फर्किए।

‘कोरोना नै लागेको भए पनि त्यही औषधि, बेसार पानी, वाफ लिएरै ठीक बनाउँछु’ भन्ने बलियो आत्मविश्वास थियो उनमा। ‘तर आफ्नै टोलका दमरोगी काकीलाई वैशाख १९ गते कोरोनाले भेट्टाएपछि मेरो आत्मविश्वास पनि कम भयो, मलाई डर लाग्न थाल्यो। तब म झसंग भएँ, कतै मेरो शरीरमा पनि कोरोना प्रवेश त प्रवेश गरेन?’ उनले भने।

पीसीआर जाँच गराउन गएको मान्छे नगराइकन फर्केकोमा कताकता पछुतो पनि लाग्यो, हुन त त्यो बेलासम्म उनको ज्वरोको मात्रा पनि घटिसेकेको थियो, जीउ दुखाइको पीडा पनि कम भइसकेको थियो। पहिलाभन्दा जीउ निक्कै चंगा भएको अनुभव गरिसकेका थिए।

दीर्घरोगी काकीको मृत्युपछि वैशाख २३ गते चाँगुनारायण नगरपालिकाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने टोली टोलमै आए। टोलमै आएपछि उनीसहित १३ जनाको स्वाब संकलन गरियो र, वैशाख २४ गते रिपोर्ट आयो। ‘रिपोर्टमा टोलका ८ जनामा कोरोना पोजेटिभ भेटियो, त्यसमा म पनि थिएँ।’ उनले भने।

पीसीआरको पोजेटिभ रिपोर्टपछि टोलमा थप सन्नाटा छायो। त्यसपछि बल्ल सबैले अब सजग र सचेत हुनुपर्छ भन्ने जस्ता कुराहरु गर्न थाले। ‘मलाई जब पोजेटिभ भयो, मनमा भने नेगेटिभ कुराहरु खेल्न थाल्यो। कतै मेरो कारणले अरुलाई पो कोरोना सर्ला कि भन्ने डर हुन थाल्यो।’

त्यसपछि उनको आत्मबल अलिअलि कम हुन थाल्यो। नजचाउँदा बढेको आत्मबल जँचाएर पोजेटिभ भएपछि एकाएक घट्न थाल्यो। खोकी लाग्दा मात्र पनि श्वास रोकिएजस्तो हुन थाल्यो। अझ सामािजक सञ्जालमा आएका समाचारले झनै मन आतंकित बनायो।  

‘सायद, ज्वरो कम भइसकेपछि पनि पोजेटिभ आएको रिपोर्टले फेरि ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिन थाल्यो,’ उनले आफू दोहोर्याएर कोराना संक्रमित भएको अनुभव गरे। पोजेटिभ नतिजा आएपछि डर बढेको उनको अनुभव छ। ‘केही नभएका आफ्ना उमेरका मान्छेहरुको मृत्युको खबरले झन् कोरोनासँग लड्न नसकिने हो कि झैं बनायो।’

अनि उनी पुनः घरकै कोठाको आइसोलेसनमा बसे। आफूलाई लागेको रोग अरुलाई सर्ने डरले कोठाभित्र आइसोलेसनमा बसेपछि उनले आफू एक्लिएको अनुभव गरेको बताए। ‘टोलमा मलाई हेर्ने दृष्टिकोण नै फरक भयो, घरमा पनि मसँग सबै टाढा भएर बसेको अनुभव भयो।’

त्यति हुँदाहुँदै पनि उनले कोरोनाविरुद्धको युद्ध लड्न हिम्मत हारेनन्, अनि बेलाबेला केही औषधि खाँदै, अक्सिमिटरले अक्सिजन नाप्दै, थर्मोमिटरले ज्वरो नाप्दै, सजिलोका लागि बाफ लिए। ‘सामाजिक सञ्जालका समाचारले मनमा पैदा  भएका नकारात्मक विचारहरुलाई प्राथमिकता दिइँन, शुभचिन्तकको आर्शिवाद एवं शुभेच्छालाई उर्जा बनाएँ’ उनले थपे, ‘नकारात्मक कुराहरुलाई मनमा नराखी साथीभाइको शुभेच्छा, केही औषधि, तातोपानी र बाफ लिएर कोरोनासँग लड्दै गएँ। अहिले सामान्य खोकी मात्र बाँकी छ, अब यो पनि छिट्टै ठीक बनाउँदैछु।’

कोरोनाले घाँटी अनि फोक्सोलाई असर गर्छ भन्ने सुनेका उनले पीसीआर रिपोर्ट आएपछि त्यसको राम्रोसँग महसुस गरे।  

कोरोना फैलिनुमा बढ्दो लापरबाही, हेलचक्र्याइँ नै बढी जिम्मेवार भएको उनको ठहर छ। युवा वयका उनी युवाहरुमा फैलिरहेको संक्रमणले भयावह अवस्था सिर्जना हुन नदिन स्वयम् अनुशासित जीवन बिताउनु नै उत्तम रहेको उत्तमको ठम्याइ छ। उनले अहिले महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणको शृङ्खला तोड्नका लागि निषेधाज्ञामाक काफी नभएको बताए। ‘कोरोना सर्वत्र व्यापक भएको छ, यसैले सरकारले सबै ध्यान यतातिर लगाउनुपर्छ, टोलटोलमा पीसीआर परीक्षणका लागि टोली खटाउनुपर्छ, स्वास्थ्य सावधानी अपनाउन लगाएर टोलका समूहलगायतलाई परिचालन गर्नुपर्छ।’

प्रकाशित: ६ जेष्ठ २०७८ ०९:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App