coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बन्धक जीवनको तीन वर्षपछि सिमाको उद्धार

सिमा पोखरेल (नाम परिवर्तन)लाई  १४ वर्षको  उमेरमै  चिनजानकी एक महिलाले पैसाको लोभ देखाएर भारतको कानपुर लगिन्। घरेलु कामदारको रुपमा त्यहाँको एक परिवारमा उनले लगभग तीन वर्ष काम गरिन्।

तर, उनले कामको तलब होइनन् पीडा पाइन्। शारिरीक शोषणका साथै मानसिक तनाव खेपिन्। घर परिवारसँग सम्पर्क गर्नै नदिई बन्दीजस्तो अवस्थामा राखियो। तलब माग्दा ‘तँलाई तेरी आन्टीले बेचेर पैसा लगिसकेकी छिन्’ भन्ने जवाफ पाउँथिन् उनी। ‘बढी कुरा गरे मारिदिने धम्की !’ समेत पाउँथिन्।

नेपालको गुल्मीबाट भारत कानपुरको एक सेल्टरहोम सम्मको यात्राको क्रममा उनले यस्ता निकै पीडा भोगिन्।

आमाबाबुलाई छोराले जस्तै खुसी दिने रहर बोकेर कामको खोजीमा हिँडेकी  सिमाले जीवनमा सबैभन्दा ठूलो पीडा भोग्नु पर्यो। उनले जसलाई विश्वास गरिन्, त्यसैबाट धोका पाइन्। उनको यो कथा सायद् अझै बन्दी हुन्थ्यो होला, यदि उनले  त्यहाँबाट भाग्ने आँट नगरेकी भए। उनले ‘बरु मर्छु, तर यहाँ बस्दिन’ भनेर जीवनलाई नै जोखिममा राखेर काम गर्दै आएको घरको पर्खाल नाघिन्।

धेरै दिनको बन्धकबाट बाटोमा निक्लेकी उनी केही समय त अलपत्र पनि परिन्। ‘कहाँ जाने, के गर्ने, कोसँग आफ्नो कुरा राख्ने?’जस्ता कुरा उनको मनमा खेलिरहेको थियो।

उनले कानपुरको सडकमा पुलिसलाई देखिन् र आफ्नो पीडा सुनाइन्। पुलिसले उनलाई तत्काल सहयोग गर्याे।  

उनलाई भारतको चाईल्ड लाइनमा जिम्मा लगाइयो। सिमाको जिम्मा लिएको चाईल्ड लाइनले के.आइ.एन इन्डिया नामक संस्थालाई यस सिलसिलामा सहयोग गर्न संस्थाका निर्देशक  नवीन जोशीलाई अपिल गरे। उनकै सहयोगमा सिमाको बारेमा खोज अनुसन्धान गर्न मद्दत मागियो। खोज अनुसन्धानपछि चाईल्ड वेलफेयर कमिटी(सिडब्लूसी)अन्तर्गत रहेर उनको परिवार र आफ्न्तहरुको खोजी भइरहेको छ। उनलाई छिट्टै परिवारको जिम्मा लगाइने छ।  

सिमा अहिले सुरक्षित छिन्। उनलाई कामको बहानामा त्यहाँ पुर्याउने महिला भने सम्पर्कविहीन छिन्। उनको बारेमा प्रहरीले अनुसन्धान गरिरेहेका छन्। सिमाको मुद्धा कानपुरको जिल्ला अदालतमा चलिरहेको छ र उनी कानपुरको बाल गृहमा छिन्।  

सिमालाई सहयोग गर्न आफन्त नेपालले पहल गरिरहेको छ।  उनलाई छिट्टै परिवारको जिम्मा लगाउने आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिए। उनले सिमाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय गुल्मी र मुसीकोट नगरपालिकासँग सहकार्य गरेको बताए।  

नेपालको संविधानअनुसार वुँदा १५ को दण्ड सजाय तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्थाको दफा ३ (क) मा ‘मानिस किन्ने वा बेच्नेलाई बीस वर्ष कैद र दुई लाख रुपैँया जरिबाना’ तिनुपर्ने रहेको छ। पीडितले कानुनअनुसार क्षतिपूर्ति पनि पाउने व्यवस्था छ।

यो सिमाको मात्र वास्तविक कथा हैन। नेपाल र भारतको खुल्ला सिमानाका कारण धेरै सिमाहरुले यस्तो पीडा भोग्दै छिन्। यी सिमाले  पर्खाल नाघिन्। थुप्रै सिमाहरु पर्खालभित्र थुनिएका छन् ।

प्रकाशित: ५ जेष्ठ २०७८ ०९:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App