coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुरमा कोभिड कहरः निषेधाज्ञा कडाइ गर्न सेनाको पेट्रोलिङ

कटारी, बेलदोभान र गुरुङचौरी सिल

कोभिड संक्रमण रोक्न प्रशासनले जारी गरेको निषेधाज्ञा अटेर गरेको पाइएपछि उदयपरमा सेना परिचालन गरिने भएको छ । दिनहुँ संक्रमित बढ्नुका साथै दैनिक ४ जनासम्म संक्रमितको ज्यान जान थालेपछि निषेधाज्ञा कडाई गर्न सैनिक पेट्रोलिङ तयारी गरिएको हो ।  

निषेधाज्ञा लागू भएको १० दिन बितिसक्दासम्म मानव चहलपहल नरोकिनु तथा संक्रमित र मृतक संख्यामा लगातार वृद्धि हुन नरोकिएपछि जिल्ला कोभिड शंकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को भर्चुअल (जुम) बैठकले कडाई गर्ने निर्णय गरेको हो । दिनहुँ संक्रमितको मृत्यु दर र संक्रमित पुष्टि हुने दर बढेको बढ्यै गरेपछि कगाइ गर्न सेना परिचालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईले बताए ।  

सोमबार बसेको डिसिसिएमसीको बैठकले हो । बढ्दो संक्रमण नियन्त्रण तथा प्रतिकार्यबारे सचेत गराउन सेनाको पेट्रोलिङ गस्ती खटाउनेलगायत १५ बुँदे निर्णय गरिएको छ । जस अनुसार जिल्लाको पश्चिमी व्यापारिक केन्द्र कटारी बजार, सदरमुकाम त्रियुगा नगरपालिका १६ को बेलदोभान र बेलका नगरपालिका ४ को गुरुङचौरी मंगलबारदेखि ‘सिल’ गरिएको छ ।  

कटारी बजार भएर व्यापारिक गतिबिधिका नाममा अनियन्त्रित र अनावश्यक सवारी आउजाउ हुने गरेको तथा एउटै बस्तीमा दर्जनबढी संक्रमित एकैदिन देखिएको भन्दै स्थानीय तहको सिफारिसमा त्रियुगा १६ र बेलका ४ को गुरुङचौरी अर्को नियर्णय नभएसम्मका लागि सिल गर्नु परेको हो । त्यस्तै अव बिरामी बोकेको एम्बुलेन्स, शवबाहन र अत्यावश्यकबाहेक सबैखाले सवारीसाधन रोक लगाइएको छ ।

चौदण्डीगढी बेलटारस्थित उदयपुर कोभिड अस्पतालमा दिनहुन बिरामीको चाप बढ्दै गएको हुनाले चलखेलको निगरानी गर्न सबै कोठामा क्लोज सर्किट (सिसि) क्यामेरा जडान गर्न नगरपालिकालाई भनिएको छ । त्यस्तै त्रियुगा ५ को देउरी स्वास्थ्य चौकीमा १० बेडको आइसोलेसन वार्ड सञ्चालन गर्न उदयपुर सिमेन्ट उद्योग र स्वास्थ्य कार्यालयलाई सहयोग गर्न बैठकले आग्रह गरेको छ ।  

आर्थिक गतिबिधिको नाममा मानव चलखेल अत्याधिक हुने बैंक र बित्तीय संस्थाहरु सातामा बढीमा ३ दिन मात्र विहान ७ः०० देखि ९ः०० वजेसम्म मात्र सञ्चालन गरिने भएको छ । डिसिसिएमसीले होम आईसोलेसमा बस्ने संक्रमितहरु घुमफिर गरेकाले उनीहरुबाट अन्यमा संक्रमण हुने हुँदा स्थानीय तहबाट प्रतिबद्ध कर्मचारी खटाएर फोन नं. सहितको बिबरण अद्यावधि गरेर स्वास्थ्य कार्यालयमा बुझाउनुपर्ने र स्वास्थ्यले डिसिसिएमसीमा बुझाउनुपर्ने निर्णय गरेको छ ।  

होम आइसोलेसनमा बसेका संक्रमितलाई पोषिलो खानेकुरा, औषधि, आयुर्वेदिक चुर्ण र मनोसामाजिक परामर्श दिन स्थानीय तहहरुले स्वास्थ्य कार्यालय, आयुर्वेदिक औषधालय र सामाजिक संघसंस्थासँग सहकार्य गर्दै घरदैलो कार्यक्रम गर्ने निर्णय भएको छ ।  

बेलटारको कोभिड अस्पताल र गाईघाटको भर्खर सञ्चालनमा ल्याइएको मदन भण्डारी आँखा अस्पताल आइसोलेनका संक्रमितको उपचार प्रभावकारी बनाउन ५/५ बेडको हाई डिपेन्डेन्सी युनिट (एचडियु) सेवा सुचारु गर्न प्रदेश सरकारसँग समन्वय गर्न चौदण्डीगढी नगरप्रमुख र जिल्ला अस्पताललाई आग्रह गरिएको छ । बैठकले विरामीको उपचारका लागि २४ सै घण्टा एम्बुलेन्स र स्वास्थ्यकर्मी तैनाथ गर्न आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको सिडिओ सेंढाईले बताए ।  

उदयपुरमा कोभिडका कारण सोमबार साँझसम्म १४ जनाको मृत्यु भईसकेको छ भने संक्रमित संख्या १ सय ८७ महिलासहित ४ सय ३४ जना पुगेको छ । सोमबार ३ जना र आईतबार ४ जनाको मृत्यु हुनेमा ४ महिला र १० पुरुष छन् ।  

सोमबार एन्टीजेन ५९ र पिसिआर ५५ गरी १ सय १४ को स्वाब परीक्षणमा २० महिलासहित ४९ संक्रमित थपिएका छन् । त्रियुगा नगरपालिकामा मात्र १२ महिलासहित २८ नयाँ संक्रमित थपिँदा कटारीमा ४ महिलासहित १४, उदयपुरगढीमा ३ महिलासहित ४ र चौदण्डीगढीमा १ महिलासहित २, ताप्लीमा १ महिला, लिमचुङबुङमा २ महिलासहित ४  संक्रमित देखिएका छन् ।  

स्वास्थ्यका तथ्यांक अधिकृत उमेश लुईटेलका अनुसार हालसम्म उदयपुरमा २३ जना निको भएर घर फर्केका छन् ।

प्रकाशित: ४ जेष्ठ २०७८ १०:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App