८ वैशाख २०८१ शनिबार
समाज

निषेधाज्ञाको समयमा आवतजावतमा ५९ प्रतिशत मात्रै कमी, कडाइ नगरे स्थिति अझ भयावह हुने!

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञाको समयमा पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशतले मात्रै कमी भइरहेको जनाएको छ। मन्त्रालयले संक्रमण रोगथाम र नियन्त्रणका लागि जारी निषेधाज्ञा पनि खासै प्रभावकारी नभएको जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सूचना प्रकाशन गर्दै निषेधज्ञाको अझैपनि बुझी, नबुझी लुकिछिपी वा खुल्मखुल्ला उल्लंघन भइरहेको जानकारी दिए। ‘अध्ययनहरुले अझै पनि जनस्वास्थ्यका मापदण्डहरुको राम्ररी पालना नभइरहेको र निषेधाज्ञाको समयमा पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशत मात्रै कमी भइरहेको पाइएको छ।’ मन्त्रालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ।

मन्त्रालयले पछिल्लो दुई हप्ता अझ भयावह स्थिति आउनेतर्फ इंगित गर्दै महामारीको संक्रमणको रोकथाम नियन्त्रण मात्रै सबैभन्दा प्रभावकारी हुने जनाउँदै वैशाख ६ गतेको नेपाल सरकार (मन्त्रीपरिषद) को आदेशअनुसार जिम्मेवार निकायहरुबाट तोकिए अनुसार भूमिकाहरु बढाउनुपर्ने भएकोमा पनि जोड दिएको छ।

मन्त्रालयले काठमाडौ, रुपन्देही, ललितपुर, भक्तपुर, मोरंग, कैलाली, कास्की, बाँके, दांङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर धनुषा, काभ्रेपलाञ्चोक, सुनसरी, पर्सा, बर्दिया, पाल्पा लगायतका जिल्लाहरुमा संक्रमण उच्च रहे पनि संक्रमित व्यक्तिहरु सार्वजनिक स्थानहरुमा खुलेआम हिँडिरहेको देखिएकाले संक्रमणको जोखिम बढिरहेको जनाएको छ।  

मन्त्रालयले उपचार केन्द्रित भएर लागेका देशहरुले भन्दा रोकथाममा लागेका देशहरुले मात्रै सफलता पाएको सन्दर्भ जोड्दै कोरोना विरुद्धको लडाइँ मन्त्रालयको मात्र नभएको जनाएको छ। ‘यो महामारीमा भाइरस विरुद्धको युद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक्लैको युद्ध होइन। यसका लागि अन्य मन्त्रालयहरु, प्रदेश र स्थानीय तह सबै सरकारी निकायहरुको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ।’ सूचनामा भनिएको छ।

मन्त्रालयले संक्रमणदर जुन रुपमा घट्नु पर्ने हो, त्यो नघट्नुमा विवाह, ब्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनैतिक कार्यको नाममा भेला हुने ठूला जनमानस नै मुख्य कारण भएको ठहर गरेको छ। 

प्रकाशित: ३ जेष्ठ २०७८ १२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App