७ वैशाख २०८१ शुक्रबार
समाज

घर फर्केका बिरामी बीच बाटोमै अलपत्र

काठमाडाैंबाट उपचार गरी फर्केका दुई बिरामी र दुई कुरुवालाई सोमबार बीच बाटोमै रोकेपछि अलपत्र परेका छन्। रामेछाप सुनाकोठी गाउँपालिका–५ खनियाँपानीका ६० वर्षीय नारायाणबहादुर खड्का र उनकै २८ वर्षीय छोरा निशान खड्का र दुई जना कुरुवालाई घर जान रोकिएको हो। गाउँपालिकाको खैरेनीघाट प्रहरीले रोकेको नारायणका छोरा निशानले बताए। उनीहरु सोमबार बिहान काठमाडौंबाट घर फर्किनको लागि बा.१ ज.५५४६ नम्बरको जिपमा हिँडेका हुन्।  

काठमाडौको हेल्पिङ ह्याण्ड्समा बुवाको र आफ्नो चाहविल स्थित ओम अस्पतालको आकस्मिक कक्षमा उपचार गरी फर्केको निशानले बताएका छन्। आफूसंगै उपचार गरेको कागजात हुँदाहुँदै स्थानीय प्रहरीले गाउँ छिर्न प्रतिबन्ध लगाएपछि बुबासहित चार जना बाटैमा अलपत्र परेको खड्काले बताए।  

‘रोकेको ठाउँदेखि घर पुग्न दुई घण्टा हिँड्नु पर्छ, बुवा हिँड्न सक्नु हुन्न’, निशानले भने। काठमाडौंदेखि हिँडेपछि कुनै पनि ठाउँमा नरोकेकोमा स्थानीय प्रहरीले मात्र रोकेको उनको भनाइ छ।  

स्थानीय प्रहरीले भने गाउँपालिकाले प्रवेशमा कडाइ गरेकोले गाउँपालिकाको अनुमति पाएपछि मात्र प्रवेश दिने स्थानीय प्रहरी चौकीका असइ केदारवावु कार्कीले बताए।  

सुनाकोठी गाउँपालिकाका अध्यक्ष धावा लामाले भने गाउँपालिकाभरी कोभिड १९ संक्रमित बढी भएको र एक २८ वर्षीया युवतीको समेत मृत्यु भएकोले कडाइ गरेको बताए। कोभिड परीक्षण गरेकामध्ये ७० प्रतिशतमा कोरोना संक्रमण भएको पछिल्लो तथ्यांक रहेको गाउँपालिकाले जनाएको छ। बिरामी पक्षले आवश्यक कागजात पेश गरेमा अनुमति दिने उनको भनाइ छ। ‘कागजात सबै मिलेमा हामीले प्रक्रियाबाटै अनुमति दिन्छौं’, उनले भने।

प्रकाशित: ३ जेष्ठ २०७८ ११:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App