८ वैशाख २०८१ शनिबार
समाज

ईशनाथका मेयरले बनाए आफूले चढ्ने गाडीलाई एम्बुलेन्स

रौतहटको एक नगर प्रमुखले आफूले चढ्ने गाडीलाई एम्बुलेन्स बनाएका छन् । कोरोनाको कहर बढिरहेको समयमा नगरका संक्रमितलाई समयमा अस्पताल पुर्‍याउन ईशनाथ नगरपालिकाका मेयर सन्तोषकुमार मेहताले आफूले चढ्ने गाडीलाई एम्बुलेन्स बनाएका हुन् ।

जिल्लाका १८ स्थानीय तहमध्ये पहिलोचोटि ईशनाथका मेयरले यस्तो फैसला गरेका हुन् । नगरका समस्यामा परेका संक्रमितलाई समयमै आवश्यकतानुसारको अस्पतालमा नि:शुल्क पुर्‍याउने सुविधा प्रदान गर्न आफूले यस्तो फैसला गरेको मेयर मेहताले जानकारी गराएका छन् ।  

ईशनाथमा सबै किसिमको बिरामीको लागि र विशेष गरी कोरोनालाई लक्ष्यित गरी स्वास्थ्यकर्मीहरुको रैपिड रिस्पोन्स टिम गठन भएको छ । नि:शुल्क औषधि र चिकित्सकको सेवा घरमै दिने र बिरामीको उपचार गर्ने उद्देश्यले गरिएको सेवा प्रभावकारी भएको स्थानीयको भनाइ छ । आइतवारदेखि मेयरले चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएपछि स्वास्थ्यकर्मीहरुलाई पनि निकै सजिलो भएको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।  

ईशनाथ नगरपालिकाले आफ्नै व्यवस्थापनमा वडा नम्बर ९ मा रहेको डुमरिया स्वास्थ्य चौकीलाई १० शैयाको अस्थायी कोभिड अस्पताल बनाई सेवा दिइरहेको छ । अस्पतालमा अक्सिजनसहितको सेवा उपलब्ध गराइएको छ ।  

आइतवारसम्म ईशनाथ नगरपालिकामा कोरोना संक्रमितको संख्या ७ रहेको छ । नेपाल भारत सीमाक्षेत्रमा रहेको ईशनाथ नगरपालिकामा गत वर्ष कोरोनाको पहिलो लहरमा धेरै संक्रमित देखिएका थिए । कोरोनाको दोस्रो लहरमा अहिलेसम्म व्यापक सतर्कता अपनाइएको ईशनाथका स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

प्रकाशित: २ जेष्ठ २०७८ १४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App