coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अक्सिजन र बेड अभावमा मृत्युदर बढ्यो

कोभिड अस्पतालमा दश दिनमा सयजनाको मृत्यु

रुपन्देहीमा कोरोना संक्रमण र मृत्युदर ह्वात्तै बढेको  छ । अस्पतालहरुमा अक्सिजन र शैयाको अभावमा संक्रमितको मृत्युदर बढेको हो । पछिल्लो दश दिनमा यहाँका कोभिड अस्पतालहरुमा उपचारत एक सय जना संक्रमितको मृत्यु भएको छ । 

पछिल्लो समय लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको कोभिड विशेष अस्पताल र भैरहवाको भिम अस्पतालमा उपचारत संक्रमितमध्ये अधिकांशले प्रयाप्त अक्सिजन नपाएर ज्यान गुमाइरहेको मृतकका आफन्तको दावी छ । त्यसो त अक्सिजनको मौज्दात सकिँदा गत बुधबार भैरहवाको भिम अस्पताल र बुटवलको कोभिड अस्पतालको आइसीयुमा उपचारत ९ जनाको अक्सिजन नपाएरै मृत्यु भएको अस्पतालहरुले नै पुष्टि गरेका छन् ।

ती अस्पतालको  इमर्जेन्सी वार्ड, गल्ली र पेटीमै उपचार गराइरहेका बिरामीहरुलाई पनि आवश्यक मात्रामा अक्सिजन नदिँदा छटपटाएरै संक्रमितको मृत्यु हुने गरेको अस्पतालमा कुरुवा बसेकाहरुको गुनासो छ । पछिल्लो एक महिनामा मात्रै जिल्लामा १२ हजार २१० जना संक्रमित थपिएका छन् ।गम्भिर लक्षणसहितका संक्रमतिको संख्या बढी रहँदा अस्पतालमा शैया, अक्सिजनको चरम अभाव भएको हो ।

अक्सिजनको चरम अभाव भएपछि लुम्बिनी प्रादेशिक अस्पतालले इमर्जेन्सिका बिरामीको अक्सिजन मास्क नै झिकीदिने गरेको छ । भेन्टिलेर र आइसीयुका बिरामीलाई एक मिनेट पनि अक्सिजन रोक्नै नहुने भएकाले इमर्जेन्सिकालाई एकैछिन अक्सिजन रोकेर भएपनि ज्यान बचाउने प्रयासमा लाग्नु पर्ने बाध्यता रहेको लुम्बिनी प्रादेशिक अस्पतलका एक जना नर्सले बताइन् । तर बिरामीका आफन्तले भने आइसीयुमा बेड नपाएर इमर्जेन्सीमा राखिएका सिकिस्तै बिरामीलाई समेत प्रयाप्त अक्सिजन नदिँदा मृत्यु हुने गरेको दावी गरेका छन् ।  

पछिल्ला केही दिनमा अक्सिजनको चरम अभाव भएपछि सरकारी अस्पतालहरुले नै भेन्टिलेटर, आइसीयु र एचडियुमा भर्ना भएकै बिरामीका आफन्तलाई समेत अक्सिजनको व्यवस्थापन आफै गर्न भनेका छन् । जसका कारण अक्सिजन नपाएर बिरामी अस्पतालको शैयामा छटपटाइ रहँदा तीनका आफन्त सडक पेटीमा हारगुहार गरीरहेका छन् । अस्पताल बाहिर, चौर सडकसम्मै बेड र अक्सिजन खोज्ने संक्रमित र तीनका आफन्तको बेहाल छ । अस्पतालहरुमा बेड नपाएर होम आइसोलेसनमा बसेका बिरामीको उस्तै बिजोग छ ।  

बुटवलको कोभिड अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भिम अस्पताल, भैरहवा मेडिकल कलेज, मणिग्रामको क्रिमसन अस्पतालले दुइ/चार घण्टाका लागि अक्सिजन जुगाड गर्दै बिरामी बचाउँदै गरीरहेका छन् । बिरामीको उपचारका खटिनु पर्ने चिकित्सकहरु नै अक्सिजनको जुगाडमा खटिनु परीरहेको बताउँछन् प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतम ।

यहाँका सरकारी र निजी अस्पतालहरुमा पछिल्लो दश दिनदेखि अक्सिजनको चरम अभाव भएको हो । दुई साता अघि नै ती अस्पतालले तीन तहकै सरकार र प्रशासन समक्ष अक्सिजन आपूर्तिको सहज व्यवस्थापको माग गरेका थिए । तर सम्बन्धित निकायले भरपर्दो व्यवस्थापनमा ध्यान नदिँदा भयावह स्थिती निम्तिएको लुम्बिनी प्रादेशिक अस्पतलाका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए ।  

अक्सिजनको चरम अभाव भएपछि यहाँका सरकारी र निजी अस्पतालले बिरामी भर्ना लिएका छैनन् । भैरहवा मेडिकल कलेजले त अक्सिजनको चरम अभाव भएपछि विज्ञप्ती नै जारी गरेर भर्ना भएका बिरामीलाइ आफ्नो व्यवस्थापन आफै गर्न भनेको छ । अक्सिजनको अभावमा बिरामीको अवस्था जे पनि हुन सक्ने भन्दै बिरामीका आफन्तलाई मन्जुरीनामामा हस्ताक्षर गराइएको छ ।

रुपन्देहीका अस्पतालहरुमा अहिले दैनिक २ हजार सिलिण्डर अक्सिजनको माग छ । तर आपूर्ति पुग नपुग १ हजार सिलिण्डर छ । जिल्लामा रहेका तीन वटा ग्यास उद्योगले दैनिक १ हजार सिलिण्डर ग्यास भरीरहेका छन् । २४ घण्टा बन्द नगरी उद्योग चलाउँदा १ हजार सिलिण्डर ग्यास भर्न सकिने ती उद्योगका संचालकको भनाइ छ । प्रशासनको पहलमा केही सिलिण्डर अक्सिजन चितवन र अन्य जिल्लाबाट ल्याएर तत्काललाई काम चलाइए पनि ती जिल्लामै संक्रमणको दर बढीरहेकाले नियमित आपूर्ति  सम्भव देखिँदैन । कोभिड अस्पतालहरुलाइ माग अनुरुपको अक्सिजन आपूर्तिको भरपर्दो व्यवस्थापन नगरीए जतीबेला पनि स्थिती अप्रिय हुन सक्ने चेतावनी कोभिड अस्पतालका चिकित्सकहरुले दिइरहेका छन् ।

प्रकाशित: १ जेष्ठ २०७८ १४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App