७ वैशाख २०८१ शुक्रबार
समाज

अक्सिजन नपाएर ज्यान गुमाउँदै संक्रमित

कैलालीमा नयाँ भेरियन्टसहितकाे कोरोना संक्रमणले बिकराल रुप लिँदै गएको छ । संक्रमण र मृत्युदर बढ्दै गएर भयावह अवस्था बनेको छ । अस्पताल भरिभराउ भएका छन् । अस्पतालमा आईसियु, भेन्टिलेटर त परको कुरा बेड समेत खाली पाउन संक्रमितलाई मुस्किल परेको छ । ठाउँ नभएर संक्रमितलाई अस्पतालको भुईमा, ग्यालरी र सिढीमुनी समेत राखेर उपचार गर्ने गरिएको छ । अक्सिजनको हाहाकार भएको छ । 

अक्सिजन नपाएर कयौको ज्यान गैरहेको छ । प्रत्येक दिन १, २ जना गम्भिर भएका संक्रमितहरुलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौ लगिने गरेको छ । प्रत्येक दिन धनगढीको आकाशमा १, २ हेलिकोप्टर उड्ने गरेका छन् । आर्थिक रुपमा विपन्न परिवारका व्यक्तिका लागि भने हेलिकोप्टरमा काठमाडाैं लैजान पनि संभव छैन । अस्पतालमा भर्ना भएका संक्रमितका आफन्त अक्सिजनको खोजीमा सबैतिर धाएर पनि निराश हुने गरेका छन् ।

अक्सिजनको हाहाकार भएर संक्रमित ज्यान गुमाईरहेको र स्थिती नियन्त्रण बाहिर गएको तर सरकारले अक्सिजनको समस्या समाधान गर्न ठोस पहल नगरेको भन्दै स्थानीयले समाजिक संजालमा चर्को आक्रोश पोखिरहेका छन् । अक्सिजनको हाहाकार हुँदा पनि आगनमै रहेको प्रदेश सरकार, जनप्रतिनिधि, मन्त्रीहरुले गम्भिरतापुर्वक चासो नदिएको स्थानीयको गुनासो छ ।  

‘नागरिकले उपचार नपाए ठूलो बिद्रोह हुन सक्छ’

सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीले सुदूरपश्चिमका जनताले उपचार नपाए ठूलो बिद्रोह हुन सक्ने बताएका छन् । अक्सिजन नपाएर संक्रमितहरु छटपटाएर ज्यान गुमाईरहेका बेला अध्यक्ष जोशीले सामाजिक सन्जाल फेसवुकमा सुदूरपश्चिमका नागरिक बिद्रोहमा उत्रने कुरा लेखेका हुन् । ‘सुदूरपश्चिम प्रदेशको एक मात्र तीस लाख जनताको आशा भरोसाको केन्द्र बिन्दु सेती प्रादेशिक अस्पतालमा अक्सिजन व्यवस्थापनका लागि बारम्वार बिभिन्न तहका सरकार र राजनीतिक दलका नेतृत्वसँग अनुरोध गर्दा पनि हालसम्म कुनै ठोस परिणाम नदेखिएकोले सु.प. वासिको बाच्ने अधिकार सुरक्षित भएन भने ठूलो बिद्राह हुन सक्छ,’ अध्यक्ष जोशीले लेखेका छन् । अक्सिजन नपाएर छट्पटिएर ज्यान गुमाईरहेका आफन्तहरुको चर्को दवाव र आक्रोश झेलिरहेका जोशीले तीव्र संक्रमणसँगै अक्सिजनको हाहाकारले स्थिती नियन्त्रण बाहिर जान लागेको संकेत गरेका हुन् ।  

सेती प्रादेशिक अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले दिनमा ५५ अक्सिजन सिलिण्डर उत्पादन गर्ने गरेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताएका छन् । सुदूरपश्चिम भरिमै धनगढीमा एक मात्र अक्सिजन उत्पादन गर्ने निजी उद्योग रहेको छ । सेती प्रादेशिक अस्पताललाई प्रति दिन १ सय अक्सिजन सिलिण्डर उपलब्ध गराउने सम्झौता गरेको उद्योगले अहिले दिनमा १०, १५ वटा मात्र अक्सिजन सिलिण्डर दिने गरेको उनी बताउँछन् । नेपालगंजबाट ५० वटा जति अक्सिजन सिलिण्डर अस्पतालमा आउने गरेको छ । ‘माग धेरै र आपुर्ती कम भएकाले तालमेल नै मिल्न नसकेर अक्सिजनको ठूलो समस्या भएको छ’, उनी भन्छन्,‘सेती प्रादेशिक अस्पतालमा कम्तीमा प्रत्येक दिन २ सय भन्दा बढी अक्सिजन सिलिण्डर आवश्यक छ ।’  

यसैगरि निजी अस्पतालपनि संक्रमितले भरिभराउ भएका छन् । निजी अस्पतालमा पनि अक्सिजनको चरम अभाव छ । सुदूरपश्चिम भरिमै अक्सिजनको हाहाकार भएको छ । सुदूरपश्चिमभरिमा ५ सय भन्दा बढी अक्सिजन सिलिण्डर प्रत्येक दिन आवश्यक रहेको अध्यक्ष जोशी बताउँछन् । अहिले सुदूरपश्चिममा उत्पादन भएका र बाहिरबाट आपुर्ती गरिएको गरेर दिनमा २ सय, अढाई सय सिलिण्डर मात्र उपलब्ध हुने गरेकोले संक्रमितले अक्सिजन नपाउने अवस्था बनेको उनी बताउँछन् ।

प्रकाशित: १ जेष्ठ २०७८ १२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App