८ वैशाख २०८१ शनिबार
समाज

सुनसरीबाट काठमाडौं र भैरहवा अक्सिजन पठाइँदै

एक साताअघि इटहरीको अक्सिजन उद्योगहरुको अनुगमन गर्दै इटहरी उपमहागनरकी उपमेयर लक्ष्मी गौतमसहितको टोली । तस्बिर : नागरिक

कोभिड–१९ को महामारीको दोस्रो लहर सुरु भएपछि देशका विभिन्न अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि सुनसरीबाट सिलिण्डर भरेर पठाउन थालिएको छ ।

सुनसरीमा रहेको अक्सिजन उद्योगबाट सिलिण्डर ‘रिफिल’ गरेर राजधानी काठमाण्डौंसहित देशका विभिन्न जिल्लामा पठाउने क्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार गृहमन्त्रालयको समन्वयनमा नेपाली सेनाको स्काई ट्रकमार्फत बिहिबार र शुक्रबार एयर लिफ्ट गरी अक्सिजन रिफिल गरेर काठमाडौं पठाइएको थियो । यस्तै, स्थलमार्गबाट पनि पुर्वका विभिन्न जिल्लासँगै पश्चिम दाङमा पनि पठाइएको प्रजिअ ढकालले बताए । ‘एयर लिफट गरेर हिजो र अस्ति २ पटक अक्सिजन सिलिण्डर रिफिल गरेर पठाइसक्यौं । गाडीबाट पनि उठाउदैछौं,’ प्रजिअ ढकालले भने, ‘हाम्रो जिल्ला, पुर्वको अस्पतालहरुमा आवश्यक पर्ने अक्सिजन पुर्याएर नै पठाउदैछौं । सिलिण्डर नै पठाउने होइन, खाली सिलिण्डर ल्याएपछि भरेर पठाइएको हो ।’

अक्सिजन रिफिल गर्ने र पठाउने कार्यमा जनपद, सशस्त्र प्रहरीसँगै नेपाली सेनाले पनि सहयोग गरिरहेको प्रजिअ ढकालको भनाइ छ । उनका अनुसार आज भैरहवामा पनि ३ फ्लाईट गरेर अक्सिजन पठाइदैछ । ‘अक्सिजन उत्पादनको क्षमता बढाउन लगाएर २४ घण्टा प्लान्ट चलाएर भएपनि अरुतिर सपोर्ट गरिरहेका छौं,’ प्रजिअ ढकालले भने ।  

प्रदेश नं १ मा जम्मा ५ वटा अक्सिजन उद्योग रहेको छ । ती मध्ये ३ वटा सुनसरी जिल्लामा छ । सुनसरीमा पनि इटहरीमा २ वटा र एउटा दुहबीमा छ । अस्पतालहरुमा अक्सिजनको चरम अभाव भइरहदा यी उद्योगहरु भने पुर्णक्षमतामा चल्न सकेको थिएन । खास गरि अक्सिजन सिलिण्डरको अभावले उद्योगहरु पुर्ण क्षमतामा सञ्चालन नभएको एक साताअघि अनुगमनमा गएकी इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताईन् । ‘उत्पादन जति पनि हुने रहेछ, तर अक्सिजन भर्न सिलिण्डरको अभाव देखियो,’ उपमेयर गौतमले भनिन्,‘सिलिण्डर कहाँ कहाँ स्टक भएर बसेको छ, त्यहाँबाट खोजी गरेर ल्याउन पहल गछौं ।’

इटहरी ११ दुर्गा अक्सिजन उद्योगका सञ्चालक आशिष मित्तल अक्सिजनको माग नहुँदा उत्पादन क्षमताको ४० देखि ४५ प्रतिशत मात्र प्लान्ट चलेको बताउँछन् । प्रदेश १ मा भएको अक्सिजन उद्योग कसैको पनि सत प्रतिशत नचलेको उनको भनाई छ । ‘सिलिण्डर खपत भएर आयो भने न अक्सिजन भर्ने हो, उद्योगमा आउदै आएन भने कसरी प्लान्ट चलाउने ?’मित्तल भन्छन्,‘५ वटा प्लान्ट चल्दा ३ हजार सिलिण्डर भर्न सक्छौं, त्यत्रो खपत कहाँ छ ?’ उनी अक्सिजन उत्पादनमा समस्या नभएकोले चिन्ता नलिन आग्रह गर्छन् ।

प्रकाशित: १ जेष्ठ २०७८ १०:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App