५ असार २०७८ शनिबार
स्वास्थ्य

चिकित्सक भन्छन्ः बिरामीलाई पाइपबाट वितरण गर्दा पोखरामा अक्सिजनको माग थाम्न सकेका हौं

पोखरा औद्योगिक क्षेत्रभित्रको पोखरा अक्सिजन प्लान्टमा काम गर्दै । तस्बिरः उमेश पुन/नागरिक

राजधानीसहित बुटवल, भैरहवा, दाङ, नेपालगञ्ज लगायतका सहरमा कोरोनाको दोश्रो लहरसँगै बिरामी थपिँदा अस्पतालमा अक्सिजनको चरम अभाव छ । अस्पतालमा शैया र अक्सिजन नपाएर बिरामी हायलकायल छन् । स्थानीय अस्पतालमा उपचार नपाएपछि हेलिकप्टर चार्टर गरेर बिरामी पोखरासम्म आएका छन् ।

उपचारका लागि भौतारिँदै दौडादौड गर्न बाध्य बिरामीको एउटै गुनासो छ अस्पतालमा अक्सिजन नै पाइएन । ठूला र सुविधासम्पन्न ती सहरका अस्पतालले अक्सिजन जोहो गर्न नसक्दा बिरामी नै भर्ना लिन छाडेका छन् । अस्पतालमा अक्सिजन नपाएरै एकैपटक धेरैजना बिरामीले ज्यान पनि गुमाएका छन् । अक्सिजन उत्पादन गर्ने प्लान्ट भएपनि सिलिण्डर अभावमा अस्पतालमा सकस भएको गुनासो सर्वत्र छ ।  

तर, अहिलेसम्म पोखरा भने ती समस्याबाट गुज्रनुपरेको छैन । के पोखराले अक्सिजन अभाव झेल्दै नझेलेको हो त ? वा पोखरामा अक्सिजन भर्नका लागि प्रयाप्त सिलिन्डर भएरै अन्यत्र भन्दा केही सहज भएको हो ? चिकित्सक भन्छन्, 'यहाँ सिलिन्डरको खाँचो केही हदसम्म हो । तर, अक्सिजन नै अभावमा अहिलेसम्म कोही बिरामीले ज्यान फाल्नुपरेको छैन । बरु, ढिला गरि उपचारमा आउँदा ज्यान गएको छ ।' अक्सिजन नै नपाएर अहिलेसम्म पोखरामा बिरामीको मृत्यु नभएको चिकित्सकको दावि छ ।

त्यसो भए यहाँका अस्पतालले कोरोनाका बिरामीको यो चापमा कसरी अक्सिजन व्यवस्थापन गरेका छन् त, जुन अन्यत्रका अस्पतालले गर्न सकेका छैनन् ? पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोभिड फोकल पर्सन डा. शरदचन्द्र बराल भन्छन्, ‘यहाँ एकाध बाहेक व्यक्तिपिच्छे सिलिण्डरबाट अक्सिजन दिइन्न, सबैजसो अस्पतालमा बिरामीको शैयासम्म पुग्नेगरि पाइपबाट अक्सिजनको वितरण प्रणालि विस्तार गरिएको छ । जसले गर्दा सहज भएको हो ।’  

बरालका अनुसार क्षेत्रीय अस्पतालमा एकपटकमा १४ वटा सिलिण्डर प्रयोग हुन्छन्। ती सिलिण्डरबाट झन्डै एकघण्टासम्म बिरामीसम्म पाइपबाट नियमित अक्सिजन सप्लाई हुन्छ । बिरामीका लागि सिलिण्डर बोक्दै दौडिनुपर्दैन । एकठाउँमा ८ र अर्काे ठाउँमा ६ वटा सिलिन्डर एकैपटक जोडिन्छन् । ८ वटा सिलिन्डर जोडिएका ठाउँमा अरु १६ वटा अतिरिक्त जोहो पहिल्यै गर्नुपर्छ । त्यस्तै ६ वटा जोड्ने ठाउँमा २४ वटा तयारी अवस्थामा राख्नुपर्छ । एकपटकमा ६ वटा खपत हुने भएकोले सकिनासाथ अर्काे ६ वटामा सार्नुपर्छ । ‘क्षेत्रीय अस्पतालमा एकपटकमा १४ वटा जोडिन्छन् । तर, तयारी ४८ वटा सिलिन्डरको गर्नुपर्छ । ती सबै सिलिन्डर खपत हुँदा झन्डै चारघण्टा लाग्छ,’ बरालले भने, ‘वितरण प्रणालि चुस्त बनाउँदा यो सहज भएको हो । व्यक्तिपिच्छे सिलिण्डर उपयोग गर्नुपरे सकिन्नथ्यो ।’

आठवटा सिलिण्डरबाट वितरण गरिएको अक्सिजन ४० जना बिरामीसम्म पुग्छ । ६ वटा सिलिण्डरबाट वितरण गरिएको अक्सिजन ३५ जनासम्म पुग्छ । एकपटकमा ७५ जना बिरामीसम्म अक्सिजन पहुँच पुग्ने हुँदा केही सहज भएको बरालले बताए । ‘व्यक्तिपिच्छे सिलिण्डर उपयोग गरेमा त एकैपटक ७५ वटा चाहिन्थ्यो । तर, यहाँ पाइपबाट वितरण गरेका छौ । त्यसले केही सहज भएको हो,’ उनले भने, ‘अस्पतालमा हजारौं सिलिण्डर अक्सिजन भएपनि उपयोगको तरिका एउटै हो ।’  

बरालका अनुसार लेखनाथस्थित संक्रामक अस्पतालमा अहिले कोरोनाका ५६ जना बिरामी छन् । त्यहाँ पनि पाइपबाटै अक्सिजनको पहुँच पुगेको बरालले जानकारी दिए । क्षेत्रीय अस्पतालको आइसोलेसनमा ४० र मेडिकल वार्डमा ३५ जना बिरामी छन् । ‘एकाध अवस्थामा मात्र व्यक्तिगत रुपमा सिलिण्डरको जोहो गर्नुपर्छ । नत्र अहिलेसम्म पाइपबाटै अक्सिजन दिएको भरमा चलेको छ,’ उनले भने, ‘सायद अन्यत्रका अस्पतालमा यो व्यवस्थापन छ छैन भन्न सकिन्न ।’ उनका अनुसार मेडिकल वार्डमा बिरामीका लागि अक्सिजन पु¥याउने पाइपको पहिल्यै वायरिङ गरिएको थियो । आइसोलेसनमा भने कोभिड संक्रमण सुरु भएपछि बल्ल बनाइएको थियो । पाइपको पायरिङ नभएको ठाउँमा क्षमता बिस्तार गर्नुपरे त्यहाँपनि पाइप राख्ने उनले बताए ।

पश्चिमाञ्चलको जस्तो अवस्था बिरामीको अधिक भीडभाड हुने गण्डकी मेडिकल कलेज (जिएमसी)मा पनि छ । त्यहाँ पनि व्यक्तिगत रुपमा एकाध अवस्थामा मात्र बिरामीलाई सिलिण्डरबाट अक्सिजन दिइन्छ । नत्र सबै बिरामीको पहुँचसम्म पाइपबाटै पुर्‍याइएको छ । जिएमसीकी मेडिकल सुपरिन्टेन्डेन्ट डा टुमाया घलेका अनुसार त्यहाँ एकपटकमा २२ वटा सिलिण्डर जोडिन्छ । ती सिलिन्डरबाट पठाएको अक्सिजन एकैपटक फरक फरक वार्डका ११५ बेडसम्म पुग्छ । क्याबिनमा बस्ने बिरामीले मात्र व्यक्तिगत रुपमा सिलिण्डरबाट अक्सिजन लिएको तर, नर्मल वार्डमा पाइपबाटै लिन पाइने उनले बताईन् । अहिले जिएमसीमा ११० जना कोरोनाका बिरामीले उपचार गराईरहेका छन् ।

‘व्यक्तिपिच्छे दिनुपरेको खण्डमा हामीले अहिलेको अवस्थामा एकपटकमा ११० वटा सिलिण्डर चाहिन्थे,’ घलेले भनिन, ‘तर, त्यसको काम २२ वटाले गरेका छन् । तर, २२ वटालाई एकैपटक फेर्नुपर्दा अतिरिक्त भने जोहो गर्नुपर्छ ।’ अक्सिजनको सिलिण्डर अभाव भन्दा पनि कहिलेकाँही भर्नका लागि पालो कुनुपर्ने अवस्था रहेको उनले बताईन् । ‘पोखराका दुुइवटा प्लान्टले क्षमता अनुसार उत्पादन गरेका छन् । तर, कहिलेकाँही प्लान्टले बाहिरका लागि पनि भरिदिनुपर्छ । केहीदिन अघि सयौं सिलिण्डरमा अक्सिजन भरेर राजधानी पठाउँदा यहाँ पालो पाउन कठिन भयो,’ घलेले भनिन, ‘जिएमसीको आफ्नै प्लान्ट भएकोले पनि उत्तिसारो कठिन नभएको हो ।’ उनका अनुसार पोखराका केही निजी अस्पतालका आफ्नै अक्सिजन प्लान्ट छन्र। ती अस्पतालको प्लान्टबाट उत्पादिन अक्सिजनले पनि धेरथोर सहयोग गरेको उनले सुनाईन् ।

पोखरा अक्सिजनका अध्यक्ष डा. प्रदीप घिमिरेका अनुसार प्लान्टसँग १७ सय वटा ठुलो आकारका सिलिण्डर छन् । यो प्लान्टले २४ घण्टामा ८ सय सिलिण्डर ग्यास भर्न सक्छ । घिमिरेका अनुसार अस्पतालमा अक्सिजन अभाव नहोस भनेर अधिकतम बढी सिलिण्डरमा उपलब्ध गराउने गरिएको छ । ‘अस्पतालले एकपटमा १० वटा सिलिन्डर भर्न पठाए भने हामी ४० वटासम्म भरि सिलिन्डर दिन्छौ,’ घिमिरेले भने, ‘किनकी अस्पतालमा अक्सिजन अभाव हुनु हुँदैन । अस्पतालमा बिरामीको चाप हेरेर सिलिन्डर व्यवस्थापन गरेका छौ ।’

घिमिरेका अनुुसार पोखराका अधिकांश अस्पतालमा अक्सिजनको आन्तरिक वितरण प्रणालि अब्बल छ । त्यसले गर्दा व्यक्तिपिच्छे सिलिण्डर उपयोग गर्नुपर्दैन । ‘अन्यत्रका अस्पतालमा वितरण प्रणालि व्यवस्थित नहुन पनि सक्छ, तर कसरी अभाव भयो भनेर यकिन भन्न सक्दैनौ,’ घिमिरेले भने, ‘तर, अहिलेसम्म पोखरामा अक्सिजन अभाव छैन । बिरामीले अक्सिजनकै अभावले ज्यान फाल्नु परेको छैन । अभाव पनि नहोस भन्ने चाहेका छौ ।’ घिमिरेको अनुमानमा कास्कीमा मात्र अक्सिजनका झन्डै पाँचहजार सिलिण्डर छन् । तर, ती सबै सिलिण्डर अहिले छरिएको अवस्थामा छन् । पोखरामा दुईवटा अक्सिजन प्लान्ट छन् । ती प्लान्टले अहिले भ्याइ न भ्याई उत्पादन गरिरहेका छन् ।

प्रकाशित: १ जेष्ठ २०७८ १६:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App