६ चैत्र २०८० मंगलबार
समाज

उदयपुरमा दिनहुँ संक्रमित थपिँदै

गत वर्षको इपिसेन्टर यस पटक शान्त

चौदण्डीगढीस्थित उदयपुर कोभिड अस्पताल । तस्बिरः महेश्वर

उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका ३ को भुल्के गतवर्ष यतिबेला मुलुकभरकै चर्चाको शिखरमा थियो। ०७७ वैशाख ५ गते स्थानीय नुरी मस्जिदका ११ भारतीय जमातिसहित १६ जनामा कोभिड संक्रमण देखिएपछि वैशाखभर मुलुककै ‘कोरोना इपिसेन्टर’ सावित भएको भुल्के यसपटक शान्त छ ।  

दिनहुँ धार्मिक गतिबिधिका लागि देशी विदेशी जमातिको भेला जमघट हुने मस्जिद र आसपासको बाक्लो मुस्लिम बस्तीमा जेठ पहिलो साताभित्र ३२ संक्रमति फेला परेपछि कहालीलाग्दो अवस्थाको सिर्जना भएको भुल्केमा यो वर्ष अहिलेसम्म एकैजना संक्रमित देखिएको छैन । हुन त गतवर्ष देखिएका ३२ संक्रमितहरु ढिलोमा २४ दिनभित्र सबै निको भएर डिस्चार्ज भएका थिए ।  

अत्याधिक त्रसित र आतंकित बनाए पनि भुल्केले मानवीय क्षति बेहोर्नु परेको थिएन, बरु भुल्के संक्रमणकै कारण उदयपुरलाई कोभिड अस्पताल बनाउनेसम्मको अवसर मिल्यो । भुल्केसँगै जिल्लाभरी ३ महिनाभित्र झण्डै सवा सय संक्रमित पाइएपछि आत्तिएका प्रशासन र स्थानीय जनप्रतिनिधिले जिल्लामै कोभिड उपचार केन्द्र बनाउने अठोट लिए । त्यसकै उपज चौदण्डीगढी नगरपालिका ६ बेलटार सातधारेमा कोभिड अस्थायी अस्पताल तथा आईसोलेसन सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइयो, जहाँ १ सय ४५ जना उदयपुर र बाह्य जिल्लावासी संक्रमितले सफल उपचार पाए ।  

कोभिड संक्रमण देखिएको ६ महिना नबित्दै त्यहाँ ‘उदयपुर कोभिड अस्पताल’ निर्माण सम्पन्न भएर हाल देखिएका कोभिड २ का संक्रमितले उपचार पाईरहेका छन् । हालसम्म २२ शैया रहेको अस्पताललाई अब छिट्टै ६० शैयामा स्तरोन्नति गर्ने तयारी भईरहेको चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले बताए । उनका अनुसार ठूल्ठूला १२ कोठा, पर्याप्त खाली जमिन र परिसर रहेको अस्पतालमा पहिले प्रति कोठा २ शैया राखिएकोमा अव ५ शैयाका दरले राख्ने गरी आवश्यक स्रोतको खोजी भईरहेको छ । जिल्लामा रातदिन दर्जनौंको संख्यामा संक्रमित वृद्धि हुँदै गएपछि बेड संख्या बढाउने तयारी सुरु गरिएको मेयर राईले बताए ।  

त्यहाँ हाल ५ महिलासहित २५ जनाको उपचार भईरहेको छ भने ९ जना डिस्चार्ज भईसकेका छन् । अस्प्ताल रेखदेखको जिम्मा लिएका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेलले बिरामीहरु कोही गम्भीर अवस्थामा नरहेको र सबैको स्वास्थ्य सुधारोन्मुख रहेको बताएका छन् । हाल १२ थान सिलिण्डर अक्सिजनको व्यवस्था गरिएको अस्पताललाई स्तरोन्नति गर्न सके उदयपुरका संक्रमितहरु अन्यत्र रिफर गर्न नपर्ने पोखरेलले बताए ।  

यता सदरमुकामस्थित उदयपुर जिल्ला अस्पतालमा ५ जना संक्रमितको उपचार भईरहेको छ । उनीहरुमध्ये ३ जनालाई अक्सिजन दिएर राखिएको छ भने २ को अवस्था सुधारोन्मुख छ । जिल्ला अस्पताललाई अनिवार्य आईसोलेसन सेन्टर सञ्चालन गर्न प्रदेश सरकारले दिएको निर्देशन अनुसार संक्रमितहरुको उपचार सुचारु भएको उनले बताए । अस्पतालले थप शैयाको व्यवस्था गर्न नजिकै रहेको त्रियुगा आँखा अस्पतालको नवनिर्मित भवनमा ४० बेडको आईसोलेसन सेन्टर बनाएर सञ्चालनको तयारीमा राखेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जीवनारायण मण्डलले हाल उपचाररत ५ जना बिरामीलाई पनि त्यही स्थानान्तरण गरेर उपचार गरिने भएको छ ।  

५० बेडको स्वीकृती पाएको जिल्ला अस्पतालमा आवश्यक जनशक्ति अभावमा सबै बेड सञ्चालनमा आउन सकेको छैन । ६ जना विशेषज्ञ (कन्सल्टेन्ट) डा. को दरबन्दी भए पनि हाल २ जना मात्र विशेषज्ञसहित ८ जना डा. मात्र कार्यरत रहेकाले ५० बेडको अस्पतालमा ८ बेड आकस्मिकसहित ३० शैया मात्र रहेको छ । अस्पतालमा २० थान सिलिण्डर अक्सिजनको व्यवस्था भएकाले संक्रमितहरु आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको डा. मण्डलले बताएका छ्न ।  

उदयपुरमा अघिल्लो साँझसम्म ३ सय ६१ संक्रमित जिल्लामा पहिचान भएका छन् । सहरदेखि गाउँबस्तीसम्म संक्रमित पाइएकाले अझै यो संख्या केही दिन बढ्ने अनुमान गरिएको छ । तीव्र गतिमा संक्रमित बढ्दै गएपछि प्रशासनले गत २५ गतेदेखि आउँदो जेठ पहिलो सातासम्म जिल्लाव्यापी निषेधाज्ञा लागु गरेको छ ।

प्रकाशित: १ जेष्ठ २०७८ १०:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App