१५ चैत्र २०८० बिहीबार
समाज

धादिङमा बजार अनुगमन तीव्र

कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेसँगै व्यवसायीहरुले बजारमा मूल्य वृद्धि गरेको गुनासो आउन थालेको छ । कोरोना भाइरस संक्रमणको महामारीमा खाद्यवस्तुमा मिसावट, मूल्यवृद्धि लगायतका उपभोक्ता हित विरुद्ध कार्य हुन सक्ने भन्दै बजार अनुगमनलाई तीव्र बनाएको छ । जिल्ला प्रशासन कार्यालय धादिङ, घरेलु तथा साना उद्योग विकास कार्यालयल नीलकण्ठ नगरपालिका लगायतको संयुक्त टोलीले धादिङबेसी बजार क्षेत्र र राजमार्ग क्षेत्रमा अनुगमन गरेका छन् । धादिङबेसीको मुख्य बजारहरु पुछारबजार, बीचबजार, सिरानबजार, सिद्धलेकको बुङचुङ, फूर्केखोलाका पसलहरु अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।  

टोलीले खाद्यान्न, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । ‘कोरोना भाइरसको महामारीको संकटका बेला व्यापारीहरुले जथाभावी गर्नसक्ने भएकोले अनुगमन तीब्र पारेका हौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी उपाध्ययले भने, ‘अनुगमनका क्रममा व्यापारीहरुले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका कार्य गर्ने गरिएको भेट्यौँ ।’ बजार अनुगमन व्यवसायीहरुलाई आतंक फैलाउने र तत्काल जरिवाना गरेर तर्साउने उद्देश्यले नगरिएको पनि उनले बताए ।  

चाडपर्व तथा संकटका बेलामा कृत्रिम मूल्यवृद्धि, अखाद्य वस्तुको मिसावट, म्याद सकिएका वस्तुको विक्री तथा नापतौलमा ठगी हुन सक्ने बताउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायले एवम् स्थानीय तहले पनि बजार अनुगमन गर्दै आइरहेको छ । अनुगमनका क्रममा खाद्य पसलमा अखाद्य वस्तु पनि विक्रि गर्ने गरेको, मूल्यसूचि नराखेको, म्याद गुज्रेका सामान बिक्री गरेको, पसल दर्ता नगरी गैरकानूनी रुपमा सञ्चालन गरेको, दर्ता गर्दा तोकिएको उद्देश्यभन्दा फरक सामाग्री बिक्रि गरेको पाइएको छ ।

निशेधाज्ञाको हल्लापछि खाद्यान्नका सामग्री चामल, दाल, तेल लगायतका खाद्य वस्तुलाई महंगो लिने गरेको स्थानीय उपभोक्ताले बताएका छन् ।  सामान्य अवस्थाको भन्दा बढि उपभोग्य वस्तुहरुको माग भएको र माग अनुसारको उत्पादन र आपूर्ति नहुनुका साथै उद्योगबाट नै मूल्य बढेर आएका कारण उपभोग्य वस्तु तथा सेवाहरुको मुल्यमा वृद्धि भएको व्यवसायीहरुले बताएका छन् । अहिले उपभोग्य वस्तुहरुमा ५ देखि २० प्रतिशत सम्म मूल्य वृद्धि भएको छ ।  

पहिलेको सामान्य अवस्थाको समय भन्दा अहिले अधिकांश उपाभोक्तहरुले धेरै मात्रामा उपभोग्य वस्तु खरीद गरी स्टक राख्ने गरेका कारण यस्तो अवस्थाको सृजना भएको बताएका छन् । एक आर्थिक वर्षमा पटक–पटक दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको मूल्य बढ्दा आम उपभोक्ताहरु मारमा परेका छन् । नियमित आम्दानीको स्रोत नहुने र दैनिक ज्यालामजदुरी गरी आफ्नो हातमुख जोड्नु पर्ने वाध्यतामा रहेका मानिसहरुको लागि भने झन अभिषाप नै भएको छ ।

व्यवसायीहरुले मनलाग्दी रुपमा मूल्य लिने गरेको र निशेधाज्ञाको फाइदा उठाएको गुनासो गर्दै आइरहेका छन् । नागरिकहरुले चामल, खाने तेल, दाल लगायतका खाद्यान्नहरुमा व्यवसायीहरुले चर्को मूल्य लिएको गुनासो आएतापनि अनुगमनका क्रममा मूल्य वृद्धि भएको नदेखिएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्ययले बताए । अनुगमन टोली बजार अनुगमनमा निस्किएको सूचना पाउनासाथ कतिपए व्यवसायीहरुले पसल बन्द समेत गरेका थिए । पूर्व जानकारी दिएर अनुगमनमा आउँदा सही सूचना प्राप्त नहुने र वास्तविक अनुगमन नहुने उपभोक्ताहरुको गुनासो छ ।

प्रकाशित: १ जेष्ठ २०७८ ०९:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App