६ वैशाख २०८१ बिहीबार
समाज

मनाङमा कोरोना सङ्क्रमितको उपचारमा समस्या

नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना फैलिएपछि  बढ्दो सङ्क्रमितको सङ्ख्यासँगै मनाङमा उनीहरूको उपचारमा समस्या देखिएको छ । उपचारको समस्या न्युनीकरण भएको छैन भने व्यवस्थित आइसोलेसनको अभावमा जटिल प्रकारका सङ्क्रमितलाई टेन्टमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी बिष्णु लामिछानेले जानकारी दिए ।  

‘जिल्लामा तीन कोभिड अस्पतालमा डाक्टर छैनन्, आइसोलेसन नहुँदा टेन्टमा राखेर सङ्क्रमितको उपचार गर्नु परिरहेको छ’, लामिछानेले भने, ‘सङ्क्रमितको स्वास्थ्य जटिल भएमा हेलिकप्टर चार्टड गरेर पोखरा वा काठमाडौं पु¥याउनुको विकल्प छैन ।’ समयमा हेलिकप्टर आउने अवस्था नहुँदा सङ्क्रमितलाई अस्पतालको पहुँचसम्म पु¥याउन समेत मुश्किल छ ।  

स्थानीय तहले आइसोलेसन वार्ड तयार पारिरहे पनि सम्पन्न भएका छैनन् । त्यसैले  केही दिनअघि सङ्क्रमण पुष्टि भएका एक दम्पतीलाई टेन्टमा राखेर तीन दिनसम्म उपचार गर्दा स्वास्थ्य जटिल भएपछि पोखरा लगिएको थियो । प्रजिअ लामिछानेले आइसोलेसन निर्माण हुँदै गरेकाले तत्कालको लागि त्यसरी नै टेण्टमुनि राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको जानकारी दिए । उनीहरुको अवस्था जटिल बन्दै गएपछि हेलिकप्टर मार्फत उपचारका लागि पोखरा पठाइएको प्रजिअ लामिछानेले बताए ।    

उनका अनुसार जिल्ला अस्पतालमा तीन दिनदेखि उपचार गराइरहेका कोरोना सङ्क्रमितलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा र एक विदेशी नागरिकलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । जिल्लावासीको स्वास्थ्यमा समस्या भएमा हेलिकप्टरबाट नै उपचारका लागि अन्यत्र पठाउनुपर्ने बाध्यता छ ।  

आइसोलेसन निर्माणको अन्तिम चरणमा भनिए पनि कहिलेदेखि सञ्चालनमा आउँछ भन्न सक्ने अवस्था छैन । जिल्ला अस्पतालको नयाँ भवनको निर्माण भइरहेको र पुरानो भवनमा सङ्क्रमितका लागि पर्याप्त कोठा नहुँदा आइसोलेसन वार्ड सञ्चालन गर्न नसकिएको अस्पतालले जनाएको छ ।  स्थानीय तहले निर्माण गरिरहेका आइसोलेसन केही दिनमा निर्माण सम्पन्न हुने र सञ्चालनमा ल्याइने प्रजिअ लामिछाने बताए ।  

मनाङमा जिल्ला अस्पतालको नयाँ भवन बनिरहँदा सेवा प्रवाहमा स्वास्थ्यकर्मीको पनि अभाव छ । कोभिड र अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अस्पतालमा चिकित्सकदेखि कर्मचारीसको अभाव छ । कोरोना सङ्क्रमितको उपचारको लागि बन्दै गरेको आइसोलेसनमा सेवा प्रवाह गर्ने चिकित्सकको अभाव रहेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । अस्पतालको भवन निर्माण भएपनि त्यहाँबाट सेवा प्रवाहका लागि आवश्यक पर्ने चिकित्सक, ल्याव टेक्निसियन, रेडियोग्राफी, स्टाफ नर्स, अनमी र सरसफाई कर्मचारीको अभाव छ ।  रासस  

प्रकाशित: १ जेष्ठ २०७८ ०५:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App