८ वैशाख २०८१ शनिबार
समाज

विवाह र भोजभतेरले निम्त्याउँदै कोरोना संकट

बागलुङमा विवाहमा भेला भएका एकैघरका तीनजनाले कोरोनाका कारण ज्यान गुमाए

बागलुङको वडिगाड गाउँपालिका–४ जलजलाको एकघरमा वैशाख ११ गते विवाह थियो । विवाहपछि भोलिपल्ट भोजभतेर समेत आयोजना हुँदा गाउँले र आफन्तसमेत जुट्दा झन्डै एकसयजनाको जमघट त्यो घरमा भएको थियो ।

घरका मुलि थिए ८६ वर्षिय वृद्ध । उनै वृद्धका नातीको विवाह धुमधामसँग भएको थियो । विवाहमा बेहुलाका ठुलाबुबा भैरहवादेखि सहभागि हुन आएका थिए । काका पनि गाडी चलाउने हुँदा बुटवल आउजाउ गरिरहन्थे । उनै गाडी चलाउने व्यक्ति वैशाख पहिलो सातादेखि रुघाखोकीले बिरामी थिए । त्यही बेला विवाह आयोजना हुँदा घरमा टाढाटाढाबाट आएका आफन्त र छिमेकीको जमघट बाक्लै भएको थियो ।  

विवाहको त्यही जमघट र भोजभतेर नै अहिले गाउँमा कोरोना फैलाउन कारक बनेको र कोरोनाले गर्दा घरमुलि ८६ वर्षिय वृद्ध र उनका दुईछोरा ५५ र ४१ वर्षकाको ज्यान गएको वडाअध्यक्ष प्रेम गलामीले जानकारी दिए । उनका अनुसार एकसाताको अन्तरमा एकैघरका तीनजनाको कोरोनाले ज्यान गएको हो । ८६ वर्षिय बाबु र ४१ वर्षिय छोराको बागलुङस्थित धौलागिरी अञ्चल अस्पताल तथा अर्का ५५ वर्षिय छोराको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको अध्यक्ष गलामीले बताए ।

‘कोरोनाले एकैघरका तीनजनाको ज्यान गएको छ । त्यही विवाह र भोजभतेरमा सहभागि भएका अरु २५ जना बिरामी परेका छन,’ उनले भने, ‘गाउँका हरेकजसो घरमा एक–दुईजनाका दरले बिरामी परेका छन् ।’ उनका अनुसार विवाहपछि दुलाहा दुलाही समेत बिरामी परेका छन् । विवाहमा सहभागि हुन आएर घर फर्केका आफन्त पनि बिरामी परेको आशंका छ ।

‘गाउँमा कहाँबाट कोरोना भित्रियो भन्ने यकिन त भएन । तर, विवाहको जमघटले गाउँभर कोरोना फैलाउन भने पक्कै सघायो,’ उनले भने, ‘गाउँका धेरै व्यक्ति बिरामी छन् । उनीहरु सबैको पीसीआर परीक्षण पनि हुन सकेको छैन । भोजभतेरले सबैतिर सखाप पारेको छ ।’ लामो समयसम्म विवाह, ब्रतबन्ध, पुजाआजा रोकिएका थिए र वैशाख पहिलो सातादेखि सबैतिर सामाजिक र सांस्कृतिक गतिविधि एकाएक हुँदा भीडभाड र जमघट बढाएको उनले बताए ।

कोरोनाको दोश्रो लहर फैलिन थाल्दै गर्दा वैशाख पहिलोसाता गाउँगाउँमा विवाह, ब्रतबन्ध, भोजभतेर, पुजाआजा निकै नै चलेका थिए । सरकारले भीडभाड र जमघट तथा भोजभतेर नगर्न निर्देशन दिदाँदिँदै पनि गाउँमा बढि अटेर भएको थियो । त्यही अटेर अहिले गाउँमा कोरोना फैलाउने मुख्य कारक बनेको स्थानीय तहका पदाधिकारी बताउँछन् । उनीहरुका अनुसार केहीदिन अघिसम्म पनि गाउँमा भोजभतेर आयोजना हुँदै आएका थिए ।

गोरखाको भीमसेनथापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनाल भन्छन, ‘गाउँमा यो सिजनमा धेरै नै विवाह, ब्रतबन्ध, चौरासी जस्ता जमघट बढाउने गतिविधि भए । त्यसले गर्दा गाउँमा संक्रमण फैलाउन सहज भयो ।’ उनका अनुसार गाउँमा सांस्कृति जमघट केहीदिन अघिसम्म पनि नियमित थिए । फाट्टफुट्ट अहिले पनि हुने गरेका छन् । अहिले भने सहभागिता केही कम हुन थालेको छ ।  

‘एकै वडाभित्रको एउटा टोलमा ५०–६० जना संक्रमित भेटिँदा त्यही वडाको अर्काे टोलमा विवाह भोज चलिरहेको थियो,’ खनाल भन्छन ‘गाउँमा भोजभतेर, विवाह, पुजाआजा रोक्न सकिएन । गाउँका ती कार्यक्रममा प्रयाप्त आफन्त र गाउँले जुट्दा संक्रमण पनि चारैतिर फैलिएको थियो । गाउँका ती कार्यक्रममा स्वास्थ्य मापदण्ड सबैभन्दा बढी हेलचेक्रयाँइ गरिने उनले बताए ।  

‘आफन्त नै त हुन् भनेर मास्क पनि लगाएनन् । आखिर त्यही जमघट र वेवास्ता नै कोरोना फैलाउने कारक बनेको छ,’ खनाल भन्छन, ‘स्वास्थ्यका मापदण्ड पालनामा पटक्कै ध्यान दिइएन ।’ सहरी क्षेत्रमा प्रहरी प्रशासनको डरले भीडभाडका गतिविधि कम भएपनि ग्रामिण क्षेत्रमा भने फुक्काफाल ती गतिविधि भएका थिए । सहरका पार्टीप्यालेस र होटलमा गतिविधि रोकिँदा गाउँमा भने भोजभतेर खुलमखुला भएको उनले बताए ।

पर्वतको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा पनि गाउँमा भोजभतेरले कोरोना फैलाउन सघाएको बताउँछन् । धार्मिक तथा वैवाहिक कार्यक्रमको निरन्तरताले एकाघरका भेला भए र त्यसैमा गाउँले पनि थपिँदा संक्रमण चारैतिर फैलाउन सघाएको उनले बताए । ‘गाउँका भोजभतेर रोक्नै सकिएन । विवाह, व्रतबन्ध जस्ता सामाजिक कामले एकाएक आउजाउ र भीडभाड बढायो,’ शर्माले भने, ‘जसले गर्दा संक्रमण फैलाउन सघाएको हो । संक्रमित नै गाउँ डुल्दै हिड्ने अवस्था हुँदा पनि रोक्ने आँट कतै छैन ।’  

उनका अनुसार तीनदिन अघिसम्म पनि गाउँमा भोजभतेरको तयारी हुँदै गर्दा रोक लगाइएको थियो । ‘यतिधेरै विवाह, ब्रतबन्ध, चौरासी पुजा भए की सबैतिरका गाउँमा यो बेला चहलपहल थियो । त्यही चहलपहल नै कोरोना संक्रमणलाई सार्ने माध्यम बन्यो,’ उनले भने । पछिल्लो समय गाउँमा भएका यस्तै गतिविधिका कारण कोरोना पनि गाउँगाउँमा फैलिएको छ । कतिपय गाउँमा त सहरमा भन्दा बढी डरलाग्दो अवस्था निम्तिनुमा यस्तै कारण रहेको स्थानी तहका पदाधिकारीले बताए ।

प्रकाशित: ३१ वैशाख २०७८ ०८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App