coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जर्नेलकाे कुटाे-काेदालाे

दर्जाले नेपाली सेनाका जर्नेल । कृषि कर्मको बिषय सुन्ने वित्तिकै हुरुक्क हुने किसानका प्रेरणा हुन् नेपाली सेनाका नम्बर २४ बाहिनीअड्डा जुम्लाका बाहिनीपति सहायकरथी यामबहादुर सापकोटा । उनी नेपाली सेनाका जर्नेल हुन् । तर कृषि कर्मलाई पनि उत्तिकै माया गर्छन् ।  

आर्थिक समृद्धिको आधार नै कृषि क्षेत्र ठान्छन् । नेपाली सेनाबाट अवकाश प्राप्त भएका हरेकले कृषिमै जोडिएर काम गरुन भन्ने चाहन्छन् । उनी भन्छन्,‘नेपाल कृषि प्रधान देश हो । कृषिमा निर्भर हुन जरुरी छ । यहाँको आर्थिक समृद्धिको आधार कृषि क्षेत्र नै हो । सबै मिलेर कृषि कर्ममा जोड दिनुपर्छ ।’

२०४६ साल वैशाख ११ गते नेपाली सेनामा प्रवेश गरेका सापकोटा सामान्य किसान परिवारमा जन्मेका थिए । सेनामा जोडिनु अघि बुबासंग सधैँ कृषि कर्ममा जोडिन्थे । कृषिमै रमाउथे । कृषिमै भरोसा राख्थे । कृषि क्षेत्रका पाठ्यपुस्तक पढ्न रुचाउँथे । कृषिमै नयाँ अनुसन्धान गर्न चाहान्थे । कृषि उत्पादन बेचेर उनले पठनपाठन गर्थे ।  

माध्यमिक शिक्षा जनमावि वीरेन्द्रनगरबाट हासिल गरेका जर्नेल सापकोटा हरेक वर्ष हुने कृषि सम्बन्धीको क्वीज प्रतियोगितामा प्रथम हुन्थे । चारपाते युवाक्ल्वले क्वीजको आयोजना गथ्र्यो । कृषि सम्बन्धीका प्रश्न आउने भएकोले उनी सहजै तरिकाले जवाफ फर्काउथे । किनकी उनी कृषिप्रति रुची राख्थे । असली किसानका सन्तान थिए । अहिले पनि उनी कृषि विज्ञ भन्दा कम छैनन् ।    

उनको बुवा पनि कृषि कर्मप्रति निकै विश्वास राख्ने किसान हुन् । सानैदेखि बारीमा विभिन्न प्रकारको खेती उत्पादन भइरहेको प्रति खुसी हुन्थे । उनी कृषि क्षेत्रमा चासो राख्ने भएकोले कृषि पढ्न रामपुर हानिए । तर बीचबाटोबाटै उनी त्रिचन्द्र कलेजबाट आइएस्सी पढ्न थाले ।

उनले भने,‘कृषि पढ्न गएको थिए । तर बीचमै बाटो कसरी मोडे पत्तो भएन ।’ उनले बि.ए. म्याथमेटिक्सबाट गरेका छन् । मास्टर्स इतिहासमा । मास्टर्स अफ स्टाटेजिक स्टडी नाइजेरियाबाट गरे ।

कृषिमा दख्खल त उनी हुँदै हुन् । त्यो भन्दा उनी अध्ययनशील र मेहनती पनि । तर उनी देश र राष्ट्रको सुरक्षाको लागि खटिसकेपछि कृषि क्षेत्र गौण बन्यो । उनले आफ्नो नेतृत्व पर्खिरहेका थिए । मैले कुनै गण र बाहिनीको नेतृत्व पाएको खण्डमा कृषिमय बनाउँछु । रमणीय बनाउँछु भन्ने मनमा खुलदुलि थियो । उनले भने,‘देशको रक्षासंगै कृषि कर्मलाई पनि संगसंगै लैजानुपर्छ भन्ने मन भित्र भावना थियो । कहिले उजागार भएन । हरेक सेनाका व्यारेक मौसम अनुकुलका कृषि क्षेत्रका पकड बन्नुपर्छ भन्ने लाग्थ्यो । तर त्यो अवसर आएन ।’

जब उनी दोलखा जिल्लामा गण सम्हाल्ने जिम्मेवारी पाए । उनले दोलखामा ब्यारेक भित्रै किवि खेतीको शुरुवात गरे । व्यारेक भित्र उत्पादन गरेको किविको विरुवा किसानले लिएर खेती गर्न थाले । अहिले दोलखा किविमय छ । उनले भने,‘दोलखाका किसान अहिले पनि फोन गरेर किवि खेतीको बारेमा परामर्श लिन्छन् । किवि खेतीले आम्दानीको स्रोत बढेको सुनाउँछन् । एक पटक किवि खेती हेर्न निम्तो दिन्छन् । यो जीवनको सबैभन्दा खुसीको बिषय हो ।’

उनले पछिल्ला दिनमा सैनिक शिक्षण पक्ष छाउनीमा बसे । उनले त्यहाँ पनि कृषि तिरै जोड दिए । फस्ट क्लास हासिल गर्ने २५० जनालाई कृषि क्षेत्रमा अवलोकन गर्न लिए । फलफूल उद्यान केन्द्र, वागवानी विकास केन्द्रमा । यत्रो सैन्य जनशक्ति कृषि क्षेत्रको अवलोकनमा निस्केको देख्दा फलफूल र वागवानी केन्द्रका कर्मचारी दंग भए ।  सेना पनि कृषिमैत्री बन्न लागेको प्रति खुसी पोखे ।  

अहिलेसम्म सेनाको जिम्मेवारी देश शान्ति सुरक्षा गर्ने मात्रै हो भन्ने ठानेका उनीहरु कृषि प्रति सेनाको चिन्ता र चासो देख्दा उत्साहित पनि देखिन्थे ।  

त्यसपछि उनी राष्ट्रिय सुरक्षा परिषद सिंहदरवारमा १५ महिना बसे । नेस्नल डिफेन्स कलेज कोर्स पढ्न एक वर्ष नाइजेरिया गए । उनी नाइजेरियाबाटै सहायकरथी बाहिनीपति बनेर फर्किए । कार्यक्षेत्र तोकियो जुम्ला । जुम्ला भन्ने वित्तिकै स्याउको राजधानी भनेर चिनिन्थ्यो । उनी कर्णाली प्रदेशको राजधानी सुर्खेतको बासिन्दा भएकोले कर्णालीको भौगोलिक बनावट र खेती प्रणाली बारेमा जानकार थिए ।

२०७७ साउन महिनादेखि पोस्टिङ भएपनि भदौमा मात्र जुम्ला पुगे । आउने वित्तिकै स्याउ ओखर रोप्ने कार्य शुरु गरे । यो कार्य यसअघिका बाहिनपति दिपक बाँनियाले प्रारम्भ गरेका थिए । उनले स्याउ र ओखर खेतीको विस्तार गरे । जिल्लास्थित कार्यालय प्रमुख र भद्र भलादमीसंग बसे । नेपाली सेनाको जिम्मेवारीका बिषयमा छलफल गरे । ‘नेपाली सेना जनताको सेना हो । जनतासंग हातमाहात मिलाउनुपर्छ,’ उनले भने । यो कार्यले नागरिक सैनिक सम्बन्ध सुमधुर बनाउन मद्धत मिल्यो ।  

कृषि कार्यालयसंग परामर्श लिन थाले । पटक पटक कृषि प्रमुख र कृषि प्राविधिक बोलाएर परामर्श लिइरहन्छन् । यहाँका हरेक स्थानीय तहमा पुगिसकेका बाहिनीपति सापकोटा जुम्लामा हुने कृषि उत्पादनका बिषयमा निकै जानकार छन् ।  

उनी किसानका सारथी जस्तैछन् । किसान र सेना विच समुधुर सम्बन्ध हुनुपर्नेमा जोडदिन्छन् । कर्णाली प्राविधिक शिक्षालयमा समन्वय गरेर सैन्य जनशक्तिलाई कृषि तालिम दिने कार्यमा जुटेका छन् । उनले भने,‘सेनाको ब्यारेक स्याउ र ओखरमय बनेको छ । अवकाश भइसकेपछि हरेक सैन्य जनशक्ति कृषिमा लागेर आर्थिक समृद्धि हासिल गर्न सकोस भन्ने सन्देश दिइएको छ ।  

नेपाली सेनामा पनि किसानको छोरा संलग्न छ । सेना कृषि कर्ममा पनि जिम्मेवार छ भन्ने छाप पार्नु अहिलेको आवश्यकता हो । अहिले जुम्लामा नेपाली सेना कृषिसंगै सामाजिक कार्यमा पनि अग्रसर छ ।  

कर्णाली मावि अनामनगरमा बास्केट बलसहितको विद्यालय भवन निमाण गरेको छ । अहिले पठनपाठनमा निकै सहज भएको छ । गुठिचौर गाउँपालिका ३ गज्र्याङकोटमा स्वास्थ्य शिविर चल्यो । ४ सय ६८ जनाले स्वास्थ्य सेवा पाए । कोभिड १९ मा अस्पताल पुग्न नसकेका बिरामी केन्द्रित थियो, यो शिविर ।  

चन्दननाथ नगरपालिकाले उमगाडमा काठेपुल निर्माण गरेको थियो । अहिले आवतजावतमा सहज भएको छ । गाउँमा पुगे। माइन रिस्क एजुकेशन,नेपाल आर्मीबारे जानकारी दिँदै आएको छ । राराको हिरा नामको बृत्तचित्र प्रदर्शनी गरेर नागरिक सैनिक सम्बन्ध सुमधुर बनाउन लागि परेको छ ।  

रारातालमा सेमिनारको आयोजना गरेर तालतलैया सरसफाई गर्नेदेखि यहाँको जलवायुमैत्री क्रियाकलापमा प्रत्यक्ष संलग्न छ । बाहिनीपति सापकोटा भन्छन्,‘जनता र जवान प्राथमिकतामा राखेर काम भइरहेको छ । संस्था बलियो बनाउनुपर्छ । हरेक क्षेत्रमा अब्बल भएको देखाउनुपर्छ । नेपाली सेना छुट्टै जातको होइन । नेपाली जनता पोखरी हो । सेना माछा हो ।’

प्रधानसेनापति पुर्णचन्द्र थापाको मार्गनिदेर्शनमा व्यारेक सुन्दरता बनाउदै लैजाने गरेको बाहिनपति सापकोटा बताउँछन् । सापकोटा श्री नम्बर २४ बाहिनीअड्डाका १५ औ बाहिनीपति हुन् ।  

उत्तरपश्चिम पृतना अन्तर्गत भएको युद्धकला तथा पेशागत प्रतियोगितामा जुम्लाको बाहिनी प्रथम भयो । केन्द्रस्तरीय प्रतियोगितामा पनि छनौटमा परेको छ । ८ वटा बाहिनीले प्रतिश्पर्धा गर्दैछन् । यहाँ कोदो, फापर, सिमि, सिस्नो, रानीकेरा अर्गानिक खान्की हुन्छ । अर्गानिक खेती र रैथानेबाली उत्पादन र प्रयोगमा जोड दिइन्छ ।    

जुम्ली किसानका प्रेरणा बनेका छन् । कृषि खेतीका बारेमा उनी दख्खल राख्ने भएकोले किसानले परामर्श लिने गरेका छन् । अहिले बिकास निर्माणका क्रियाकलापमा लागेर नेपाली सेनाले विकास कार्यमा समृद्धि ल्याएको छ । अब बिकाससंगै कृषि क्षेत्रको प्रवर्द्धनमा पनि सक्रिय बनेको छ । जुम्लाको सेनाको ब्यारेकमा गरेको कृषि कर्म देख्दा बाहिनपति एक सेनाका जर्नेल मात्र होइनन् । किसानका असल प्रेरणा पनि हुन भन्ने प्रमाणित भएको स्थानीय बताउँछन ।  

बाहिनीमै मौसमी तथा बेमौसमी तरकारी खेती भइरहेको छ । यहाँका स्याउ, ओखर संरक्षणको जिम्मेवारी सैन्यदेखि अधिकृतसम्म बाँडफाँड छ । सैन्य तालिम र प्रशिक्षण पछिको समय कृषि खेतिपाती तिर लगाउने गरिएको छ ।  

यसले कृषि र किसानप्रति नेपाली सेनाको भूमिका प्रशंसनीय रहेको छ ।

प्रकाशित: ३१ वैशाख २०७८ ०८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App