coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धादिङमा जेठ १५ गतेसम्म निषेधाज्ञा

धादिङ जिल्लामा जारी  निषेधाज्ञाको अवधि लम्बाइएको छ। कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि जिल्लामा जारी निषेधाज्ञाको समय आगामी जेठ १५ गते राती १२ बजेसम्मका लागि लम्बाइएको हो। जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले पहिलो पटक तोकिएको निषेधाज्ञाको समय सकिनै लाग्दा अवधि लम्बाइएको हो। 

यसअघि धादिङ जिल्लाभर वैशाख २१ गतेदेखि बैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । यस पटक पनि निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान ६ देखि ९ बजेसम्म खुला रहने छ। उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, दुध, फलफुल, तरकारीका पसल खुला हुने छ। 

मानिसको भिडभाड हुने सबै गतिविधिमा भने रोक लगाइएको छ । सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन पाउने छैन। सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। 

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ । भिडभाड गरि विवाह, व्रतबन्ध तथा अन्य धार्मिक कार्य गर्न रोक लगाइएको छ। घरमै उक्त कार्य गर्दा १० जनाभन्दा बढी उपस्थित हुन नपाइने बैठकको निर्णयमा उल्लेख गरिएको छ।  

बैंक तथा वित्तिय संस्थाहरुले सातामा दुई दिनमात्रै सेवा दिन आग्रह गरिएको छ। यसपटकको निषेधाज्ञालाई भने कडा बनाइएको र निषेधाज्ञा उल्लंघन गर्नेलाई कानून बमोजिम कारबाही गर्ने केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी ढकालले बताए।

जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या विहिबार बेलुकासम्म दुई हजार पाँच सय ५३ जना पुगेको छ। अहिले जिल्लामा सक्रिय केश ९ सय २२ पुगेको छ। संक्रमित मध्ये ६ सय ८८ जना जिल्ला भित्रका आइसोलेसनमा र २ सय ३४ जना जिल्ला बाहिरका विभिन्न आईसोलसनमा रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ। 

प्रकाशित: ३१ वैशाख २०७८ ०४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App