१५ चैत्र २०८० बिहीबार
समाज

रौतहटमा दुई संचारकर्मीको मृत्युपछि संचार क्षेत्र नै शोकमा

बुधबार साँझ पत्रकार मनोजकुमार चौधरीको मृत्युको खबर एकै छिनमा आगोझैं फैलियो । सामाजिक सञ्जाल फेसबुकभरि पत्रकार चौधरीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको तस्बिरले भरिएको देखियो । वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा १३औँ दिन उपचाररत अवस्थामै देहत्याग गर्न पुगेका पत्रकार चौधरीको शव जन्मधर्ती रौतहटको गरुडा नगरपालिकास्थित गाउँमै सद्गतिका लागि आउँदैछ भन्ने खबरले त झन् गाउँ नै अस्तव्यस्त बन्न पुग्यो ।

गरुडास्थित रेडियो मधेस मसला एफएमका स्टेशन म्यानेजर र जनकपुरटुडे दैनिकका गरुडा सम्वाददाता रहेका चौधरी अन्य अनेक संघसंस्थामा जोडिएका थिए । लायन्य युवा क्लब गरुडाका अध्यक्ष, बज्जिका साहित्य संगम रौतहटका कोषाध्यक्ष, मध्यरौतहट बहुमुखी क्याम्पस तथा श्री माध्यमिक विद्यालय गरुडाका लेखापाल रहेका पत्रकार चौधरी अन्य संघसंस्थामा पनि प्रत्यक्ष आबद्ध थिए । गाउँका कसैको पनि बिहे, छेका, पूजा, श्राद्धमा आफ्नैजस्तो मानेर निरन्तर सक्रिय रहने ४१ वर्षीय पत्रकार चौधरी त युवाहरुका ढुकटुकी नै थिए । पत्रकार चौधरीको शव जब गाउँ ल्याइयो तब निषेधाज्ञालाई तोड्दै हजारौँ नरनारी उनको अन्तिम दर्शनका लागि निस्के ।

सबै किसिमको सुरक्षा र स्वास्थ्य सावधानी अपनाउँदै पत्रकार चौधरीको सद्गति गर्दा हजारौँ मानिस पर बसेर रोइरहेका थिए । कसैलाई पनि पत्रकार चौधरीको देहान्तमाथि विश्वास लागिरहेको थिएन । कैयौँ मानिस त यस खबर र उनको सद्गतिको दृश्य हेर्न नसकेर मुर्छित पनि बन्न पुगेका थिए ।

स्थानीय राजेश्वर पाण्डे भन्छन्, “मनोज दाइको दुःखद देहान्तको खबरले पूरा गाउँ शोकमा डुबेको छ, कैयौँ मानिस मुर्छित बने, नब्बे प्रतिशतभन्दा बढी घरमा चुलो बलेन ।”

गत वर्ष कोरोनाको कहरको समयमा कुन घरमा चुलो बलेन, कुन परिवारमा कस्तो औषधिको आवश्यकता छ र कहाँ कस्तो किसिमको सहयोग चाहिएको छ भनेर दिनरात नभनी असहाय र गरिबको गाँसको व्यवस्था गरेका उही पत्रकार चौधरीको अचानक मृत्युको खबर सुन्नुपर्दा कैयौँ परिवारको सहारा नै ढलेको तथा आशाको दियो निभेको छ ।

गत वैशाख १० मा हल्का ज्वरो र रुघाखोकी लागेपछि घरमै उपचार गराएका पत्रकार चौधरीलाई वैशाख १५ मा असहज भएपछि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा भर्ना गरिएको थियो । करिब २४ घन्टा इमर्जेन्सी वार्डमा राखेर उपचार गरिएका पत्रकार चौधरीमा कोरोना पोजेटिभ देखिएपछि १६ गते आइसियुमा राखी उपचार गरिएको भए पनि भर्ना गरिएको १३औँ दिनमा उपचारकै क्रममा मृत्यु भएको हो ।

पत्रकार चौधरीका ५ वर्षका छोरा र ८ वर्षकी छोरी छन् । दुई अबोध छोराछोरी घरिघरि बुबालाई खाजिरहेका छन् । ३५ वर्षकी श्रीमती पूनम चौधरी घरि मुर्छा पर्ने र खुल्ने तथा फेरि बेहोस हुने भइरहेको छ । पत्रकार चौधरीका दाजु रामकृष्ण चौधरीमाथि त दुःखको पहाड नै टुटेको छ । आफ्नो छोराजत्तिकै पालेर राखेका पत्रकार भाइको मृत्युले घरको मियो नै भास्सिएको लागेको छ ।

उता अर्का संचार उद्यमी रामादेवी यादवको परिवारको पनि बिजोग भएको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व उपाध्यक्ष जयप्रकाश यादवकी पत्नी तथा रेड टेलिभिजनकी संस्थापक रामादेवीको कोरोना संक्रमण पुष्टि भएको केही बेरमै देहान्त भएको थियो । गत मंगलवार दिउँसो स्वास्थ्यमा समस्या भएपछि जिल्ला अस्पतालमा उपचारको लागि ल्याइएकी संचार उद्यमी रामादेवी यादवलाई इमर्जेन्सी वार्डमा राखेर उपचार सुरु भएको मात्र थियो । शरीरमा रगतको अभाव देखिएको थियो र रगतको व्यवस्था पनि भइसकेको थियो । एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोसेटिभ भएको देखिएपछि तत्काल कोभिड अस्पतालमा भर्ना गर्नुपर्ने सल्लाह भइरहेकै बखत यादवको मृत्यु भएको थियो ।

केही दिनदेखि हल्का ज्वरो आउने तथा जीउ दुख्ने समस्या देखिएको यादवलाई घरमै उपचार गरिएको थियो । संचार उद्यमी यादवका ८, १०, १२ र १५ वर्षका चार छोरी छन् । मृतक यादवका पति पत्रकार जयप्रकाश यादवमा हल्का ज्वरो आउने, जीउ दुख्नेजस्ता समस्या देखिएको उनका भाइ अखलेश यादवले जानकारी गराएका छन् ।

दुई दिनमा दुई संचारकर्मीको देहान्त भएपछि रौतहटको सम्पूर्ण संचार क्षेत्र नै शोकमा डुबेको छ । रौतहटका सम्पूर्ण संचारकर्मी, सम्पूर्ण संचार माध्यम तथा संचारसम्बद्ध सम्पूर्ण संस्थाहरुले दुवै संचारकर्मीप्रति श्रद्धान्जली दिइरहेका छन् ।

प्रकाशित: ३० वैशाख २०७८ ०७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App