६ वैशाख २०८१ बिहीबार
समाज

वडा कार्यालयमा एकसय बेडको कोभिड अस्पताल

कोभिडपछि जनरल अस्पताल बनाईने

तस्बिर: नागरिक

पोखरामा दैनिक  कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । कोभिड सेन्टरको रुपमा बिरामीको उपचार सेवा सुरु गरेका अस्पतालहरुले थप बिरामी भर्ना नलिने बताएका छन्। यस्तो अवस्थामा पोखरा महानगरपालिकाले साविक लेखनाथ नगरपालिकाको भवनलाई कोभिड युनिट बनाउन थालेको छ । 

भवनलाई उपयोग गर्दै ९५ देखि १०० बेडसम्मको अस्पताल बनाउने र विरामीलाई राखेर उपचार गर्ने गरी युनिट शुरु गरिएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ । ‘भईरहेको वडा कार्यालयलाई अन्यत्र सारेर कोभिड विरामीलाई उपचार गर्न कोभिड युनिट शुरु गरिएको छ,’ स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले भने, ‘विरामीको लागि अत्यावश्यक अक्सिजन सप्लाई गर्ने पाईपिङ गरिदैंछ ।’ पाईपिङको लागि महानगरपालिकाले सार्वजनिक बोलपत्र समेत आह्वान गरिसकेको छ । उनले बढीमा दश दिनभित्रमा काम सक्ने गरी कम्पनीसँग सम्झौता गरिने उल्लेख गरे ।  

स्वास्थ्य महाशाखा प्रमुख शर्माले भईरहेको भवनलाई अस्पतालको रुपमा प्रयोग गर्ने विषयमा कति बेड राख्न सकिन्छ भनेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य भईरहेको जनाए । ‘भौतिक पूर्वाधार र अक्सिजनको लागि पाईपिङ गर्न प्रतिष्ठानका प्राविधिकसँग सहकार्य गरिएको छ,’ उनको भनाई थियो । प्रतिष्ठानसँग जनशक्ति समेत व्यवस्थापन गर्ने तयारी गरिएको छ ।  

कोभिड युनिट पोखरा महानगरकै शिशुवा अस्पतालको मातहतमा रहनेछ । कोभिडपछिको अवस्थामा उक्त कोभिड युनिटलाई जनरल अस्पतालमा रुपान्तरण गरिनेछ । ‘अहिले कोभिड युनिट चल्छ । पछि जनरल अस्पतालमा रुपान्तरण हुन्छ,’ उनले भने, ‘अस्पतालकै लागि सबै पूर्वाधार बनाएपछि फेरी वडा कार्यालय बनाईदैन् । अस्पतालकै रुपमा रहन्छ ।’  

महानगरले अक्सिजनको व्यवस्थापन र पाइपलाइनका लागि २५ लाख रुपैयाँमा बोलपत्र आब्हान गरेको छ । भवन बाहिरका केही संरचना परिवर्तन गर्न ८ लाख ५० हजार रुपैयाको अर्को बोलपत्र प्रकाशित गरेको उनले जानकारी दिए । जेठको पहिलो हप्ता नत्र दोश्रो हप्ताभित्र संचालन गर्ने गरी काम गरिएको उनले बताए ।

कोभिड युनिटमा चिकित्सकको नेतृत्वमा स्वास्थ्यको टिम खडा गरी संक्रमितको उपचारलाई सहज बनाईने शर्माले बताए । साविक लेखनाथ नगरपालिकाको ३६ रोपनी क्षेत्रफलको उक्त जग्गामा महानगरले यसअघि महानगर अस्पताल र विशिष्टीकृत बाल अस्पताल बनाउने गरी निर्णय गरेको छ । वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङका अनुसार महामारीमा जनता बचाउनु ठुलो कुरा भएको उल्लेख गर्दै, उक्त भवनलाई महामारी पछि महानगर अस्पतालकै रुपमा विकास गर्नु पर्नेमा जोड दिए ।  

कोभिड युनिटलाई स्वास्थ्य सामाग्री सहयोग र सहकार्य गर्न लायन्स क्लव अफ इन्टरनेशनल ३२५ वि १ सक्रिय रहेको छ । गण्डकी क्षेत्रका क्लवहरुलाई अभियानमा सहयोग गर्न आब्हान समेत गरेको छ । क्लबले कोभिड कियर बेड र अक्सिजन हाइ फ्लो मेशिन एवं ५० बेड निर्माणका लागि अभियान चलाएको बताईएको छ । 

प्रकाशित: २९ वैशाख २०७८ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App