८ वैशाख २०८१ शनिबार
समाज

उदयपुरमा कोभिडबाट थप ३ को मृत्यु

कोभिड १९ को दोस्रो लहरले उदयपुरका सरकारी कार्यालय प्रमुखसहित थप ३ जनाको ज्यान लिएको छ । सदरमुकामस्थित ३४ वर्षीय एक कार्यालय प्रमुखको उपचारको क्रममा सोमबार काठमाडौं महाराजगञ्जस्थित टिचिङ अस्पतालमा मृत्यु भएको हो । महिला र पुरुष २ जनाको मंगलबार बिराटनगरमा उपचारको क्रममा ज्यान गएको हो ।  

जिल्ला कोभिड शंकट व्यवस्थापन कार्यालय (डिसिसिएमसी) का अनुसार संक्रमण देखिएर टिचिङमा उपचाररत कार्यालय प्रमुख सिराहाका स्थायी बासिन्दा हुन् । उनी कोभिड सुरुतिरै घर गएपछि संक्रमित भएका थिए । यता त्रियुगा नगरपालिका ८ का ५४ वर्षीय पुरुष र त्रियुगा ५ की ५० वर्षीया महिलाको मंगलबार विहान विराटनगरस्थित नोबेल र कोसी कोभिड अस्पतालमा मृत्यु भएको हो ।  

नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार सुरुमा ज्वरो र रुघाखोकी लागेर उपचार गर्न अस्पताल भर्ना भएका पुरुषको स्वाव परीक्षण गर्दा संक्रमण देखिएपछि भर्ना गरेर उपचार हुँदै थियो । वैशाख २३ गते अस्पताल भर्ना उनको मंगलबार बिहान मृत्यु भएको हो । अर्की मृतक ५० वर्षीया महिलाको कोसी कोभिड अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका कोभिड फोकलपर्सन बैजनाथ साहले बताए । साहका अनुसार वैशाख २६ गतेदेखि उपचाररत उनको मंगलबार विहान मृत्यु भएको हो ।

मृतकहरुको शव जिल्ला ल्याउने तयारी भईरहेको छ । शव ल्याएपछि व्यवस्थापन टोलीको जिम्मा दिइने प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईले बताए । कोभिडका कारण उदयपुरमा हालसम्म ७ जनाको ज्यान गएको छ । यसअघि कटारी ४ की ८७ वर्षीया वृद्धा, त्रियुगा ६ की ३४ वर्षीया महिला र चौदण्डीगढी ५ का ५४ र ६ का ७० वर्षीय पुरुषको कोभिडले ज्यान लिइसकेको छ ।  

उदयपुरमा हालसम्म कोभिड संक्रमितको संख्या २ सय ३९ पुगेको छ । पछिल्लो सातादिनमा ह्वात्त बढेको संक्रमितहरुमा १ सय ३ महिला र बाँकी पुरुष छन् । जसमध्ये ६ जना निको भईसकेका छन् भने उदयपुर कोभिड अस्पतालमा ५ महिलासहित १५ को उपचार भईरहेको छ । केहीको बिराटनगर, धरान र धेरैजसो होम आईसोलेसनमै रहेको जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत उमेश लुईटेलले बताए ।

प्रकाशित: २८ वैशाख २०७८ ०९:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App