१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुरको चौदण्डीगढीमा आगलागीबाट टोलै नष्ट, १ करोड २० लाख क्षति

आगोले ७ घरधुरीलाई क्षति गरेको उदयपुरको वीरेन्द्र बजार । तस्बिरः महेश्वर

आइतबार विहान झिसमिसेमा लागेको आगोले उदयपुरको चौदण्डीगढी नगरपालिका ८ वीरेन्द्र बजारको एउटा टोलका ७ घरधुरी पीडित भएका छन् । वीरेन्द्र बजारका भरत राईको घरमा विहान ४ः१५ बजेजस्तो समयमा विद्युत सर्ट भई लागेको आगोले उनीसँगै बाँकी आधादर्जन छिमेकीको घर र धनमाल खरानी बनाएको हो ।  

झिसमिसे विहान भएकाले प्राय सबै ओछ्यानमै रहेका बेला एक्कासी फैलिएको आगोले क्षणभरत्रै टोलका ७ घरधुरी स्थानीयबासीको घर र  घरभित्र रहेका सम्पूर्ण धनमालमा जलाएको इलाका प्रहरी कार्यालय बेलटारले जनाउको छ । राईको घरसँगै जोडिएका अन्य ४ छिमेकीका घर र घरभित्रका केही सामान निकाल्न नपाएको तथा २ छिमेकीको ट्याक्टर र मोटरसाईकल  जलेर क्षति भएको प्रहरीले जनाएको छ ।  

आफ्नै घरमा विद्युत सर्ट भएर उब्जेको आगोले राईको काठ र टिनको छानो भएको १ तले घर, घरमित्रको अन्नपात, भाँडावर्तन, लत्ताकपडा, फर्निचर, महत्वपूर्ण कागजात सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उनको मात्र ३५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ ।  

त्यस्तै छिमेकी शिरिर राईको सोही प्रकारको टिनको छानो र काठले बनेको १ तले घर जल्दा घरसहित घरभित्र रहेका सम्पूर्ण धनमाल नष्ट हुँदा २० लाख बराबरको क्षति भएको छ । अर्का छिमेकी बादलविक्रम राईको काठ र टिनले बनेको १ तले घर जल्दा १२ लाख बराबरको क्षति भएको छ भने सोही घरमा बस्दै आएकी उनकी दिदी मुना राईको अन्नपात, लत्ताकपडा, भाँडाबर्तनसमेत गरी ३ लाख बराबरको क्षति भएको प्रहरी भनाई छ ।  

सोही आगोले वीरेन्द्र बजारकै पदमकुमारी मगरको काठले बनेको १ तले टिनको छानोवाल घर जल्दा ३० लाख बराबरको धनमाल नष्ट भएको छ भने अर्का किछेमी कृष्ण मगरको त्यस्तै काठ र टिनको छानो भएको १ तले घर जल्दा १० लाख बराबरको क्षति भएको प्रहरी ठहर छ ।  

आगोले नजिकै पार्किङ गरिराखेको सोही ठाउँका केशव बयलकोटीको स ८ प २७२५ नं. को मोटरसाईकल र को २ त ८२३० नं. को ट्याक्टर आंशिक जलेर ९ लाख बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । सोही ठाउँका लाबहादुर राईको बा १३ प ८४८० नं. को मोटरसाईकललाई पनि आगोले क्षति गरेर अन्दाजी १ लाख बराबरको नोक्सान भएको प्रहरीले जनाएको छ ।  

इप्रका बेलटारका निरीक्षक कमाण्डमा खटेको प्रहरी टोलीले सशस्त्र प्रहरी बेलटार, नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा विहान ६ः३० बजेसम्ममा आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ । आगोले स्थानीय ७ घरधुरी परिवारको १ करोड २० लाख हाराहारी क्षति गरेको घट्नाबारे बिस्तृत अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित: २६ वैशाख २०७८ १३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App