८ वैशाख २०८१ शनिबार
समाज

रुपातालः बाँध बाध्न सम्झौता, डिजाईन गर्न ६ महिना

रुपाताल

कास्कीकै तेस्रो ठुलो रुपातालमा बाँध बाध्न कालिका–नयाँबाटो(जे.भी)सँग सम्झौता भएको छ । रुपाताल एकिकृत संरक्षण तथा विकास परियोजना र कम्पनीबीच गत शुक्रबार सम्झौता भएको हो । सम्झौता भएसँगै कम्पनीले बाँधको डिजाईन बनाउन शुरु गरेको छ । बाँध बनाउन ६ महिनाको समय तय गरिएको छ । डिजाईन स्वीकृत भएपछि मात्रै बाँध बाध्ने काम शुरु हुने परियोजनाले जनाएको छ ।  

‘सम्झौता गरियो, डिजाईन एण्ड विल्ड अनुसार बाँध बनाउने हो । कम्पनीलाई डिजाईन गर्न ६ महिनाको म्याद छ,’ परियोजना प्रमुख तुलसी भट्टराईले भने, ‘डिजाईन स्वीकृत भएपछि काम अघि बढ्छ ।’ उनका अनुसार कम्पनीले छ महिनाभित्रमा डिजाईन सकेपछि परियोजनालाई पेश गर्नुपर्नेछ । पेश भएको डिजाईन स्वीकृत गरेपछि मात्रै कम्पनीले बाँधको कामलाई अगाडि बढाउन सक्नेछ । ‘स्वीकृतको लागि ५ महिनाको समय राखिएको छ,’ उनको भनाई थियो ।  

कम्पनीसँग सम्झौता गर्नुअघि रुपाताल बराह मन्दिरमा क्षमा पूजा गरिएको थियो । ‘बाँध बाँध्दा कुनै अनिष्ट नहोस भनेर बराह मन्दिरमा क्षमा पुजा गरियो,’ रुपाताल पुर्नस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष लेखनाथ ढकालले भने, ‘क्षमा पुजा गरेपछि कम्पनीसँग सम्झौता गरिएको हो । कम्पनीले अब काम अघि बढाउने छ ।’ तालको गहिराई यकिन नहुँदा डिजाईन गर्न केही कठिनाई भएको उनको भनाई थियो ।  

कम्पनीलाई २८ करोड ७० लाखमा टेण्डर परेको परियोजनाले जनाएको छ । ४ वर्षभित्रमा बाँध निर्माण सक्नुपर्ने गरी सम्झौता गरिएको परियोजनाका प्र्रमुख भट्टराईले सुनाए । परियोजनाको तथ्यांक अनुसार बाँधको लम्बाई ५ सय ९० मिटर लामो हुन्छ । बाँध बनाउन पन्चवर्षिय योजना अन्तर्गत नै प्रक्रिया शुरु गरिएको थियो । बाँधको लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरी मुआब्जा वितरण समेत गरिदैंछ । मुाअब्जा वितरण पूर्ण रुपमा टुंगिएको भने छैन् । परियोजनाले बाँधस्थलमा केही क्षेत्रफलको मुआब्जा वितरण गर्न बाँकी छ । ‘बाँध बाँधेपछि पानीले ढाकिने माथिल्लो क्षेत्रको मुअब्जा वितरण प्रक्रियामा छौं,’ परियोजना प्रमुख भट्टराईले भने, ‘बाँधस्थलमा पनि केही क्षेत्रफलको बाँकी छ ।’  

बाँध अर्धन(माटो)को हुने छ । बाँध ६ मिटर उचाईको हुनेछ । माथिल्लो फिनिसिङ अवस्थाको भने ७ मिटर चौडाईको हुनुपर्ने परियोजनाले जनाएको छ । ६ मिटरको उचाईको र ७ मिटर चौडाईको बाँध बन्ने उनको भनाई थियो । बाँधको एक छेउमा ढोका(गेट) राखिने छ । उनका अनुसार ढोका तर्फ सिमेन्ट प्रयोग गरेर बनाईनेछ । बेगनास तालको झैं ओभरफ्लो बनाईने छ । तर सिंचाईको लागि अर्को ढोका भने राखिदैंन् । पञ्चवर्षिय योजना अन्तर्गत सरकारले बाँध निर्माणको लागि ४ अर्ब ५१ करोड रुपैयाँको लागत अनुमान गरेको छ ।  बाँध हालेपछि रुपातालको सतह १७४ हेक्टर पुग्ने अनुमान छ । अहिले पानीको सतह भने १०४ हेक्टर मात्रै छ । नापी विभागको २०३२ सालको तथ्यांक अनुसार रुपातालको क्षेत्रफल १३५ हेक्टर थियो । 

प्रकाशित: २६ वैशाख २०७८ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App