१६ चैत्र २०८० शुक्रबार
समाज

ग्यास वेल्डिङ, मेटल उद्योग र ग्यारेजका सिलिण्डर अस्पताल पठाउँदै प्रहरी

पोखराका मेटलउद्योग, ग्यारेज, वेल्डिङ ग्यारेज लगायतबाट संकलन गरिएका अक्सिजनका सिलिण्डर प्लान्टमा पठाउँदै कास्की प्रहरी । तस्बिरः नागरिक

कोरोनाको दोश्रो लहर फैलिन थालेसँगै अस्पतालमा अक्सिजन दिनुपर्ने गम्भिर प्रकृतिका बिरामी पनि ह्वात्तै बढिरहेका छन् । अक्सिजन दिनुपर्ने खालका गम्भिर प्रकृतिका बिरामी बढ्न थालेपछि अस्पतालमा अक्सिजन पनि हाहाकार हुन थालेको छ । सबैभन्दा बढी समस्या अक्सिजन सिलिण्डरको अभावले निम्त्याएको छ ।

अक्सिजन उत्पादनमा समस्या नभएपनि सिलिण्डर अभाव हुँदा उत्पादित अक्सिजन बिरामीसामु पठाउन कठिन भईरहेको प्लान्टहरुले बताएका छन् । अक्सिजन सिलिण्डर अभाव हुन थालेपछि प्रहरीले यहाँका विभिन्न मेटलउद्योग, मोटरग्यारेज, वर्कसप, ग्यास वेल्डिङ हुने ठाउँका सिलिण्डर पनि अस्पतालका लागि उपयोग गर्नेगरि संकलन गर्न थालेको छ ।  

कास्कीका प्रहरी प्रमुख एसपी जिवनकुमार श्रेष्ठले मेटलउद्योग, वर्कसप, ग्यारेज, ग्यास वेल्डिङ गर्ने ठाउँमा अहिले काम कम भएको र बिरामीलाई बचाउनु नै महत्वपूर्ण भएकोले त्यहाँका सिलिण्डर पनि अस्पतालका लागि प्रयोग गर्नेगरि संकलन गर्न थालिएको बताए । यसअघि नै जिल्ला प्रशासन कार्यालय कास्कीले सुचना नै जारी गरेर सिलिण्डर बुझाउन भनेको थियो । दोश्रो पटक पनि ताकेता गरेको छ । एसपी श्रेष्ठले भने, ‘प्रशासनले भनेपनि त्यो अनुसार सिलिण्डर फिर्ता नभएपछि प्रहरी नै गएर संकलन गर्न थालेको हो ।’  

अक्सिजन ग्यास उत्पादनमा समस्या नभएपनि सिलिण्डर अभावमा बिरामीसम्म पु¥याउन नसकेपछि अस्पतालबाहेक बाहिर उपयोग भएका सिलिण्डर संकलन गर्न थालिएको उनले बताए । एसपी श्रेष्ठका अनुसार शनिबार मात्र पोखराभित्र संचालित ग्यारेज, मेटलउद्योग, वर्कसप लगायत ठाउँबाट १८७ थान अक्सिजनका सिलिण्डर संकलन गरि यहाँका दुईवटा अक्सिजन उद्योग पोखरा अक्सिजन र कालिगण्डकी अक्सिजन प्रालिलाई हस्तान्तरण गरिएको छ ।  

प्रशासनले निर्माणाधिन जलविद्युत आयोजनलाई पनि अहिलेका लागि काम रोकेर भएपनि अक्सिजन सिलिण्डर अस्पतालका लागि उपयोग गर्नेगरि फिर्ता पठाउन अनुरोध गरेको एसपी श्रेष्ठले बताए । ‘निर्माणाधिन जलविद्युत आयोजनालार्ई पनि जतिसक्दो छिटो अक्सिजन सिलिण्डर फिर्ता पठाउन भनेका छौ । तर, आयोजनाले थोरै संख्यामा मात्र सिलिण्डर रहेको बताएका छन,’ उनले भने, ‘आयोजनाले दिएको संख्या हाम्रा लागि चित्तबुझ्दो छैन । सबै सिलिण्डर अहिले अस्पतालका लागि जरुरी छ । सबै सिलिण्डर फिर्ता नआए प्रहरी पठाएर भएपनि ल्याउँछौ ।’ अहिले बिरामीलाई बचाउनु महत्वपूर्ण काम भएकोले पनि सबैतिर सिलिण्डर जुटाउने अभियान थालेको उनले बताए । हाल संकलित अक्सिजन ग्यासका ती सिलिण्डर पछि सम्बन्धित संस्था तथा कम्पनीलाई नै फिर्ता गर्ने गरी अहिले कोरोना संक्रमितको उपचारको लागि प्रयोग गरिने उनले बताए ।  

पोखरामा औद्योगिक क्षेत्रभित्र अक्सिजन उत्पादनका दुईवटा प्लान्ट छन् । कालिगण्डकी र पोखरा यहाँका दुईवटा अक्सिजन उत्पादन गर्ने प्लान्ट हुन् । वर्षाैअघिदेखि यहाँका यी दुई प्लान्टले अक्सिजन उत्पादन गर्दै आएका छन् । प्लान्टबाट उत्पादित मध्ये अधिकांश अक्सिजन मेटल उद्योग, ग्यारेज, वर्कसप, जलविद्युत र व्यक्तिगत रुपमा घरमा उपयोग हुन्थ्यो । अस्पतालले आफ्नै प्लान्टबाट उत्पादित अक्सिजन उपयोग गर्ने भएकोले प्लान्टबाट उत्पादित अक्सिजन कमै मात्रामा अस्पतालमा खपत हुन्थ्यो ।  

पोखरा अक्सिजनका अध्यक्ष डा. प्रदीप घिमिरेले अक्सिजन उत्पादनमा समस्या नभएको तर सिलिण्डरको हाहाकार मात्र रहेको बताए । ‘हामीसँग पनि झन्डै १७ सय सिलिण्डर छन् । केही सिलिण्डर अन्यत्रै होल्ड पनि भएका छन,’ घिमिरेले भने, ‘दिनमा एकहजार सिलिण्डर भर्न सक्ने क्षमता छ । तर, उत्पादित अक्सिजन राख्ने सिलिण्डर अभाव छ ।’ उनका अनुसार कोरोना कहर सुरु हुनअघि अक्सिजनको खपत निकै नै कम थियो । उत्पादनको ५० प्रतिशत त मेटल उद्योग, जलविद्युत, ग्यास वेल्डिङ लगायतमा खपत हुने गरेको उनले बताए ।  

‘अहिले अस्पतालमा अक्सिजनको माग बढिरहेको छ । तर, अब सिलिण्डर अभाव हुने देखेका छौ । तत्काल सिलिण्डर संख्या बढाउने हो भने उत्पादनमा समस्या छैन,’ घिमिरेले भने, ‘पहिलो पटक अक्सिजन प्लान्ट र सिलिण्डरको आवश्यकता सबैलाई महसुस भएको छ ।’ 

प्रकाशित: २५ वैशाख २०७८ ११:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App