८ वैशाख २०८१ शनिबार
समाज

'हमर त आशके डिबिया मुझा गेलै'

कोरोनाले निभाएको दियाे

मथिलादेवी र धनवीरका छोरा। तस्बिर : नागरिक

गोलबजार नगरपालिका– १२ बेतौना गाउँका ४९ वर्षीय जयकृष्ण पाल पत्थरीबाट पीडित थिए। चिकित्सकले शल्यक्रिया गर्न सुझाए पनि कोरोना महामारी फैलिएकाले उनी घरमै बसिरहेका थिए। तर, दुखाइ बढेकाले शल्यक्रिया गराउन वैशाखको पहिलो साता उनी ‘नोबेल मेडिकल कलेज एन्ड शिक्षण अस्पताल’ विराटनगर पुगे, शिक्षण पेसाबाट अवकाशप्राप्त ६० वर्षीय दाजु धनवीर पालका साथमा।  

त्यहाँ उपचार गरेर घर फर्केको चार–पाँच दिनपछि उनका दाजु धनवीरलाई रुघाखोकी, ज्वरो लगायत समस्या देखियो, उपचारका लागि धनवीर जनकपुरको प्रादेशिक अस्पताल पुगे। पिसिआर परीक्षणबाट उनीमा कोरोना पजेटिभ देखियो। त्यहीँ आइसोलेसनमा उनको उपचार हुँदै थियो, श्वासप्रश्वासमा समस्या आएपछि अस्पतालमा भेन्टिलेटर र आइसियू सेवा दुरुस्त नभएकाले उनलाई रेफर गरियो। अक्सिजन चढाएर एम्बुलेन्समार्फत उनलाई परिवारका सदस्यले विराटनगरस्थित नोबेल अस्पताल पुर्‍याए। अस्पतालको आइसियूमा भर्ना भएको तेस्रो दिन (वैशाख १५) उपचारका क्रममा उनको मृत्यु भयो।

धनवीर अस्पतालको आइसियूमा भर्ना रहेकै बेला यता जयकृष्ण पनि रुघाखोकी र ज्वरोले थलिए। उनलाई उपचारका लागि अस्पताल पुर्‍याउन घर लोग्नेमान्छे थिएनन्। दुई जादुभाइमध्ये धनवीर आइसियूमा उपचाररत थिए, उनको कुरुवा थिए, भतिजा जनार्दन। जयकृष्णलाई आफन्तले एम्बुलेन्स चढाएर धनवीर रहेकै अस्पतालमा पुर्‍याएका थिए। जयकृष्ण पुग्दा दाइ धनवीरको मृत्यु भइसकेको थियो। यता जयकृष्णमा पनि कोरोना देखियो। श्वासप्रश्वासमा समस्या देखिएका उनलाई वैशाख १६ गते आइसियूमा भर्ना गरिएको थियो, तर केही घन्टामै उनको मृत्यु भयो।

जयकृष्ण पालको कच्ची घर। तस्बिर : नागरिक

पाल परिवारको आर्थिक अवस्था कमजोर छ। जनसांख्यिक हिसाबले पाल समुदाय अल्पसंख्यकमा पर्छ। चार दाजुभाइमध्ये जेठा उपेन्द्र पाल किसान हुन्। उनी अलग्गै बस्छन्। माइला धनवीर र साइँला जयकृष्णको परिवार सँगै बस्थ्यो। कान्छा भाइ बलराम पालको दुई वर्षअघि निधन भइसकेको छ।

धनवीर शिक्षण पेसाबाट अवकाश पाएर खेती किसानी गर्थे। उनका चार छोरी र एक छोरा सबै विवाहित छन्। उनकी श्रीमती उर्मिलादेवीको बुढेसकालको सहारा खोसिएको छ।  

जयकृष्णका चार छोरी र एक छोरा छन्। तीन छोरी विवाहित हुन् भने एक छोरी र कान्छो छोरा पढ्दै छन्। पोहोर एक छोरीको विवाह गर्दा १० लाख रूपैयाँ ऋण लिएका थिए। यसपालि पत्थरीको शल्यक्रिया र कोरोनाको उपचारले ६ लाख रूपैयाँ ऋण थपिएको छ। सयकडा तीनका दरले साहुसँग लिएको ऋणको ब्याजको बोझमाथि अर्की छोरीको विवाह खर्च कसरी जुटाउने भन्ने चिन्ता छ जयकृष्णकी पत्नी मिथिलादेवीलाई। ‘घरको खम्बा नै ढलिसकेपछि घरको हालत के हो, आफैँ अनुमान लगाउनुस्,’ बिहीबार उनले भक्कानिँदै भनिन्, ‘हमर त धनो चैलगेल आ घरो ढनमना गेल (मेरो त धन पनि ढुब्योे, घर पनि ढल्यो)।’

आर्थिक अवस्था कमजोर भएका जयकृष्ण वैदेशिक रोजगारीबाट परिवारको पालनपोषण गर्दै आएका थिए। पत्थरीको समस्या देखिएपछि उनी दुई वर्षदेखि घरमै थिए। विदेशको आम्दानीबाट अलिकति जग्गा जोडेकाले पछिल्लो समय खेतीकिसानीबाटै परिवार धानिएको थियो। पत्थरीको समस्या निको भएपछि फेरि विदेश जाने उनको सोच थियो। छोरीको विवाहमा लागेको ऋण र उपचार गराउँदा लिएको ऋण उनी विदेशमै कमाएर चुक्ता गर्न चाहन्थे। ‘एक बेर विदेश जेबै त बेटीके वियाहके खर्चाके चिन्ता दूर भ जेतै आहा चिन्ता नै लिय। (विदेश गएपछि कान्छी छोरीको विवाह खर्च जुटाइहाल्छु तिमी धेरै चिन्ता नलेउ भन्नुहुन्थ्यो)’ मिथिलादेवीले रुँदै भनिन्, ‘अब कसरी घर सम्हाल्नु, कहाँबाट छोरीको विवाह खर्च जुटाउनु, ऋण तिर्नु ? हमर त आशके डिबिया मुझा गेलै (मेरो त आशाको बत्ती नै निभ्यो)।’ 

जयकृष्ण पालकी श्रीमती मिथिलादेवी। तस्बिर : नागरिक

 पाल दाजुभाइ बिरामी परेको र समयमै समुचित उपचार नपाउँदा ज्यान गुमाउन पुगेको जानकारी स्थानीय सरकारलाई पनि छ। तर, सरकारले सहयोग गर्न त परको कुरा, सान्त्वना दिन पनि नआएको मृतकका भजिता जनार्दन बताउँछन्। ‘काका सिकिस्त हुँदा एम्बुलेन्ससम्म जुटाउन नसक्ने कस्तो सरकार ! दुःखका साथ भन्नुपर्छ– गरिब, असहाय, दुःखीका लागि सरकार छैन,’ जनार्दन भन्छन्, ‘स्थानीयदेखि प्रदेश र संघीय सरकारको गफ जनतालाई मूर्ख बनाउनेबाहेक केही होइन।’  

आफ्नो परिवारका दुई खम्बा कोरोनाका कारण नभएर असुविधा र अभावका कारण ढलेको जनार्दन बताउँछन्। ‘प्रादेशिक अस्पताल भरपर्दो भइदिएको भए धनवीर काकाले मृत्युवरण गर्नुपर्दैनथ्यो,’ उनी भन्छन्, ‘अस्पतालमा अक्सिजन पर्याप्त छैन, भर्ना गरेको बिरामी सिकिस्त भयो भने बाहिर लैजानुस् भनिन्छ।’  

कोरोना महामारी भित्रिएको एक वर्ष भइसक्यो। तर, प्रदेश २ मा सरकारले अहिलेसम्म भरपर्दो अस्पताल सञ्चालन गर्न सकेको छैन। भेन्टिलेटरसहितको भरपर्दो अस्पताल भइदिएको भए यस प्रदेशका सिकिस्त बिरामीलाई दौडाएर अर्को प्रदेशको अस्पतालमा लैजानुपर्दैनथ्यो। उनीहरूको ज्यान अस्पताल चहार्दैमा जाँदैनथ्यो। जनार्दन भन्छन्, ‘सरकारका लागि मेरा दुईजना काका मृतक संख्या मात्र हुन्, तर मेरो परिवारका लागि उज्यालो देखाउने डिबिया थिए। अहिले परिवारमा अन्धकार छाएको छ।’

पाल दाजुभाइको निधनपछि दुःखमा डुबेको यस परिवारसँग सरकारले मात्र होइन, समाजले पनि दूरी बढाएको छ। समाजका मानिस पालको घर अगाडिबाट सकभर हिँड्नै छाडेका छन्। हिँड्दा पनि अर्कोतिर फर्केर तर्किन्छन्। चिनेका मानिस पनि यो परिवारसँग अपरिचित जस्तै व्यवहार गर्न थालेका छन्। ‘काकाका जिगरी दोस्त पनि टाढिएका छन्,’ जनार्दन भन्छन्, ‘सरकार त कहिल्यै हामीसँग नजिक थिएन, तर समाज पनि टाढिएको देख्दा मन फाट्छ। जो दिन रात हाम्रो दरबाजा (आँगन) मा गफिएर बस्थे, अहिले उनीहरू नचिनेझैँ गर्छन्।’

पहिला समाजमा कसैलाई दुःख पर्दा सारा समाज एकजुट भएर मलम लगाउँथे। सहयोग र सान्त्वनामा जुट्थे। ‘यो कस्तो समय आयो, जसले दुःखीसँग समाजको दूरी नै बढाइदियो,’ जनार्दन भावुक भए।  

अस्पतालमा राख्ने धरौटी नभएर ज्यान गयो

पैसा र सबै प्रकारको पहुँच भए पनि बेड र अक्सिजनको अभाव भइरहेको खबरले धेरैलाई अत्याएको थियो। यही बेला (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै ढाडस दिए, ‘उपचार नपाएर कोही पनि मर्नुपर्ने अवस्था आउन दिन्नँ।’ यसले समाजका तल्लो वर्गलाई राहत मिलेको थियो।  

तर सम्बोधनको एक दिनपछि मंगलबार धनुषाको बटेश्वर गाउँपालिका– ४ का ४५ वर्षीय लोकबहादुर परियारले उपचार नपाएरै मृत्युवरण गर्नुपर्‍यो। कमजोर आर्थिक अवस्थाका उनलाई रुघाखोकी, जिउ दुख्ने र ज्वरो बढ्ने समस्या भयो, चार दिनदेखि गाउँकै औषधि पसलबाट औषधि किनेर सेवन गरिरहेका थिए। गाउँले उपचारबाट समस्या झन् बल्झिँदै गएपछि उनी सोमबार साँझ करिब ७ बजेतिर बटेश्वर बजारस्थित आरपी मेडिकल हल पुगे। एकजना सहयोगीसहित मेडिकल पुगेका परियारलाई मेडिकल सञ्चालक समेत रहेका स्वास्थ्यकर्मी सुबोध साहले जनकपुर जान सल्लाह दिए। साह भन्छन्, ‘यहाँ उपचार गर्ने अवस्था थिएन, हामीले प्राथमिक उपचार मात्र गर्ने हो।’ परियारलाई प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याउने एम्बुलेन्स चालक रामबाबु महतोका अनुसार, अस्पतालले बेड अभाव छ भनेर भर्ना गर्न मानेन। त्यसपछि उनलाई जानकी हेल्थ केयर अस्पताल पुर्‍याइयो। त्यहाँ पनि भर्ना लिन मानेनन्। बिरामीका सहयोगीले त्यहाँबाट फर्केर अर्को अस्पताल पुर्‍याइदिन भनेपछि एम्बुलेन्स चालक महतोले परियारलाई रामजानकी हस्पिटल पुर्‍याए। महतो भन्छन्, ‘त्यहाँ पनि भर्ना नलिइएपछि सहयोगीसहित बिरामीले घरै पुर्‍याइदिन भन्नुभयो।’  

भर्नाका लागि दुवै निजी अस्पतालले परियारसँग धेरै रकम धरौटी राख्न भनेका थिए। जुन उनका लागि सम्भव थिएन। करिब डेढ घन्टासम्म प्रदेशमुकाम जनकपुरधामका विभिन्न अस्पताल चहार्दा उपचार सम्भव नभएपछि घर फर्केको भोलिपल्ट (मंगलबार बिहान) उनले प्राण त्यागे। एम्बुलेन्स चालक महतोका अनुसार, मेडिकल हलबाट एम्बुलेन्समा बसेका परियारले श्वास फेर्न गाह्रो भयो भन्दै अक्सिजन लगाइदिन भनेका थिए। ‘फुल फ्लो’ अक्सिजन दिएर परियारलाई प्रादेशिक अस्पताल पुर्‍याएको चालक महतो बताउँछन्। ‘प्रादेशिक अस्पतालमा धेरैबेर हारगुहार गर्दा पनि भर्ना लिइएन। अन्य निजी अस्पतालले पनि भर्ना नलिएपछि बिरामीलाई पुनः फर्काएर बटेश्वरको मेडिकल हलमा ल्याइदिएँ,’ चालक महतो भन्छन्, ‘रामजानकी अस्पतालमा चिकित्सकले परियारको शरीरमा अक्सिजन मात्रा जाँच गर्दा ४५ मात्र थियो।’

सास फेर्न नसकेर छटपटाउँदै रात काटेका परियार मंगलबार बिहानै एकजना सहयोगी साथमा फेरि आरपी मेडिकल पुगेका थिए। मेडिकलका स्वास्थ्यकर्मी साह उनलाई हेर्नेबित्तिकै आत्तिए। उनले तुरुन्तै जनकपुर लगिहाल्न सल्लाह दिए। पैदलै मेडिकल पुगेका परियार फर्कन लाग्दा सिँढीमै ढले, उठ्न सकेनन्। त्यहीँ उनको प्राण गयो। साह भन्छन्, ‘आवश्यक उपचार पाएको भए उनको ज्यान जोगिन्थ्यो कि !’

प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेडेन्ट डा. जामुन सिंह अस्पतालमा बेड नभएकाले परियारलाई भर्ना नलिएको बताउँछन्। ‘हाम्रो अस्पतालको आइसोलेसन भरिएको छ। बिरामी फर्काउनुको विकल्प छैन,’ उनले भने। उनका अनुसार प्रादेशिक अस्पतालमा अहिले २६ बेडको आइसोलेसन छ। जसमा ३२ जना बिरामी छन्। परियारको शव नेपाली सेनाको टोलीले व्यस्थापन गर्‍यो। श्वासप्रश्वास, ज्वरोको समस्या भए पनि मृतकमा कोरोना संक्रमण भए/नभएको केही खुलाउने प्रयत्न गरिएन। मृत्युपछि स्वाब परीक्षण गर्ने सरकारी नीति नभएकाले उनको पिसिआर परीक्षण नभएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला बताउँछन्।

परियारले ससुराली गाउँ बटेश्वर गाउँपालिका–४ मा होटल सञ्चालन गर्दै आएका थिए। उनका श्रीमती, एक छोरा र एक छोरी दिल्लीमा बस्दै आएको गाउँपालिकाका कार्यपालिका सदस्य रामबाबु रविदासले बताए। ‘६ महिनादेखि श्रीमती, छोराछोरी दिल्लीमै छन्,’ उनले भने, ‘परियार एक्लै यहाँ होटल चलाएर बसेका थिए। परियारको मृत्युले उनको परिवारको खम्बा ढलेको छ। परिवार बेसहारा बनेको छ।’

गुरुशरणका छोराछोरीलाई कसले पढाउने ?

पाँच दिनदेखि शरीर दुख्ने, ज्वरो आउने समस्या बल्झिँदै गएपछि वैशाख ६ गोलबजार नगरपालिका– ६ डोहटियाका ३५ वर्षीय गुरुशरण सदाको मत्यु भयो। मृत्युपछि उनको स्वाब परीक्षण गर्दा रिपोर्ट कोरोना पोजेटिभ आयो। पाँच दिन घरमै औषधि खाएर बसेका उनी अचानक बेहोस भएर मृत्युवरण गर्नुपरेको घटना धेरैलाई अनौठो लाग्यो। सेभ द चिल्ड्रनमा कार्यरत सदा चैत २९ गते आमाको श्राद्धका लागि घर आएका थिए। तेज ज्वरोसँगै कमजोरी महसुस भएपछि श्रीमती शान्तिले गुरुशरणलाई एम्बुलेन्समा राखेर उपचारका लागि गोलबजारस्थित भूमिजा अस्पताल पुर्‍याइन्। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर लैजाँदै गर्दा लहानमा मृत्यु भएको थियो।  

गुरुशरणको मृत्युले स्थानीय सरकारमाथि प्रश्न तेर्साएको छ– कोरानाकै लक्षणबाट बिरामी परेर थलिएको उनको जाँच किन गरिएन ? उनी घरमै थलिएको दैलोमा उभिएको स्थानीय सरकारले किन भेउ पाएन ?  

गुरुशरण एक व्यक्ति थिए, तर उनको जीवन व्यक्तिगत थिएन। उनी आफ्नो परिवारको मात्रै होइन, समुदायकै लागि खम्बा थिए। इँटाभट्टामा मजदुरी गर्दै उनले उच्च शिक्षा हासिल गरे। आफ्नी पत्नी शान्ति सदालाई पढाए। पत्नीलाई पनि आफ्नो सामाजिक–साहित्यिक यात्राको अभिन्न हिस्सा बनाए। मुसहर प्रायः भूमिहीन छन् र सामाजिक रूपमा बहिष्कृत छन्। मुसहर समुदायभित्र जागरण ल्याउन गुरुशरणले थुप्रै अभियान चलाएका थिए। उनले मद्यपानविरोधी अभियान चलाए। शिक्षित भएरै अधिकार लिन सकिन्छ भनी लागिपरे।  

मुसहरले माटोलाई देवता मान्छन्, माटोकै पूजा गर्छन्। तर, अधिकतर मुसहरको खरले छाएको घर पनि आफ्नो स्वामित्व नभएको जग्गामा छ। मुसहरलाई माटोसँगको आबद्धता र निर्भरतालाई गौरवान्वित गर्न उनले प्रत्येक वर्ष माघ १० लाई ‘माटो दिवस’ मनाउने थालनी गरे। शीतलहरबाट सर्वाधिक सताइने मुसहरको कथाव्यथालाई उनले कवितामा पोख्थे– शीतलहरले मेरो मात्र घर चिसिएको छैन सरकार

घरसँगसँगै मेरो मन र तन पनि चिसिएको छ

प्रकृतिका चिसा शीतहरूको लहरले मेरो परिवार

अनि मेरो जीवनको वरपर सबै चिसिएको छ

मैले खाने हरेक अन्नको भाग चिसिएको छ

सबैलाई ताप सम्प्रेषण गर्ने आगोको झिल्का पनि मबाट चिसिएको छ र मलाई दिनबाट टाढिएको छ।’

यी शब्द त्यसै उब्जिएका होइनन्। उनले भोगेका दर्दनाक यथार्थ हुन् यी। परालको चटाइ ओढेर बाल्यकाल गुजारेका उनले जाडोको रात कस्तो हुन्छ भन्ने गहिरोसँग आत्मबोध गरेका थिए। त्यसैले उनका एकएक अक्षर उनकै भोगाइका वास्तविकता थिए।  

गुरुशरणको सपना थियो, जस्तो कष्टपूर्ण जीवन मैले बाँचे, मेरा सन्तानले बाँच्न नपरोस्। त्यही भएर उनले दुई भाइ र आफ्ना छोराछोरीलाई काठमाडौंको गुणस्तरीय निजी स्कुलमा पढाउँथे। के बनाउने भन्ने उनले सोचेका त थिएनन्, तर छोराछोरीलाई उच्च शिक्षा पढाउनुपर्छ भन्ने उनको सपना थियो। ‘मेरो परिवारको खम्बा मात्र नभई सपना नै ढल्यो। अब कसरी उठ्ने, कसरी परिवारका सदस्यलाई सम्हाल्ने दिमागले काम गर्दैन,’ उनकी पत्नी शान्ति भन्छिन्, ‘मेरो हिम्मत, शक्ति, सपना सबै उहाँसँगै तुहियो।’

उनको परिवारले एनआइसी एसिया बैंकबाट पाँच लाख रूपैयाँ ऋण लिएको थियो। त्यसलाई चुक्ता कसरी गर्ने र छोरालाई कसरी पढाउने भन्ने चिन्ता शान्तिलाई छ। उनी भक्कानिँदै भनिन्, ‘गुरुको निधनले परिवार मात्र नभई समुदाय टुहुरो भएको छ।’

हामीसँग संघीय सरकार त पहिला देखि नै टाढा थियो। तर स्थानीय र प्रदेश सरकार त झन टाढा भएजस्तो अनुभूति गर्दैछु शान्तिले भनिन्,‘भौतिक रूपमा उपस्थित नभएर फोन मार्फत पनि कसैले सान्त्वना सम्म दिएनन्। दलित, गरिबका लागि सरकार होइनन् भनेको ठिकै रहेछ।’

एम्बुलेन्स उपलब्ध गराएका छौँ : नगरपालिकाका प्रमुख  

गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साह नगरमा कोरोना भएका व्यक्तिलाई होम आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको बताउँछन्। घरमा सिकिस्त हुनेलाई एम्बुलेन्समा राखेर जिल्ला अस्पताल र जिल्लामा उपचार सम्भव नहुनेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइरहेको उनको दाबी छ। ‘तर, संक्रमित आफ्नै खर्चमा एम्बुलेन्स खोजेर उपचारका लागि अस्पतालको बेड चहार्दै हिँडिरहेको छन् ?’ यस जिज्ञासामा प्रमुख साहले जवाफ दिएनन्। ‘संक्रमणबाट ज्यान गुमाएका परिवारले स्थानीय सरकारबाट सान्त्वना समेत नपाएको गुनासो गरेका छन् नि !’ यस जिज्ञासामा त प्रमुख साहले ‘मेरो घरमा चिफ गेस्ट आउँदै छन्’ भन्दै फोन काटे।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तिरक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले संक्रमितको पहिचान, परीक्षण र उपचारमा कुनै कसर बाँकी नराखेको दाबी गरे। हामीलाई जानकारी भएसम्मका संक्रमितलाई उपचारको व्यवस्था मिलाएको उनको दाबी छ। लहानका प्राध्यापक चक्रपाणि लहान सबैभन्दा नजिकको स्थानीय सरकारले संक्रमित र उसको परिवारसँग भावनात्मक दूरी बढाउनु विडम्बना भएको बताउँछन्। ‘स्थानीय सरकार संवेदनशील ढंगबाट संक्रमितको स्याहारमा जुट्न सक्नुपर्छ,’ उनी भन्छन्, ‘दुःखको बेला त नागरिकलाई सरकार चाहिने हो।’ कोरोना महामारीका बेला भौतिक दूरी बढाएर अर्कासँग भावनात्मक सम्बन्ध बढाउन उनी सबैलाई आग्रह गर्छन्।  

मृतकको परिवारलाई लागेको ऋणबारे सोच्छौँ : प्रवक्ता

कोरोना संक्रमणबाट मृतक परिवारलाई ऋण छ, पालनपोषणमा समस्या छ, यसमा प्रदेश सरकारकोे योजना के होला ?  

यस जिज्ञासामा प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव ‘आफूहरूले अहिले नै यस सम्बन्धमा योजना बनाइनसकेको’ बताउँछन्। ‘प्रदेशबासीको उपचार प्रदेश सरकारले निःशुल्क गर्ने योजना चाहिँ छ,’ उनी भन्छन्, ‘रह्यो कुरा मृतक परिवारलाई लागेको ऋणको। हामीले यस विषयमा अवश्य सोच्छौँ। मृतक परिवारको दुःखमा हामी अवश्य मलम लगाउँछौँ।’

गरिब, विपन्न र बेसाहारा परिवारको साथमा प्रदेश सरकार रहिरहने उनले बताए।

प्रकाशित: २५ वैशाख २०७८ ०३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App