७ वैशाख २०८१ शुक्रबार
समाज

कोभिड नियन्त्रणको सहयोगमा जुटे युवा हात

शुक्रबार बिहान ९ बजेदेखि वीर अस्पतालको नयाँ भवनमा युवाहरू कोभिड वार्ड व्यवस्थापन गर्न जुटेका छन्। सरकारले आइतबारसम्म वीरको नयाँ भवनमा कम्तीमा सय बेडसहितको कोरोना अवार्ड सञ्चालन गर्ने तय गरे पनि जनशक्ति अभावका कारण ढिलाइ भइरहेको भन्ने सन्देश युवा जमातले थाहा पाएपछि उनीहरू स्वतःस्फूर्त रूपमा इन्स्टाग्रामबाट सन्देश प्रवाह गरी मंगलबारदेखि जम्मा भएका थिए।

काठमाडौंका सुजन गुरुङ र रिजेसराज कर्निकार आफूहरू नेपाली नागरिक भएको र राज्य र जनतालाई आपत् पर्दा राज्यप्रतिको दायित्व निर्वाह गर्न कोरोना संक्रमितका लागि बन्दै गरेको नयाँ भवनको कोभिड वार्डमा बेडलगायत भौतिक पूर्वाधार व्यवस्थापनमा जुटे। मुखमा मास्क र हातमा पन्जा लगाएर रिजेस, सुजनलगायत करिब २५ युवाको समूहले चार दिनदेखि सय बेडको व्यवस्थापन गरिसकेका छन्। बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म निःस्वार्थ भावले खटिएका ती युवा कोही पुराना बेड सफाइ गरिरहेका थिए त कोही बेडमा रङरोगन गरी चिटिक्क पार्नमा व्यस्त थिए। अस्पतालका कर्मचारीसँगै हातेमालो गर्दै विगत चार दिनमा ती युवाले सय बेडलाई वीर अस्पतालको पुरानो भवनबाट नयाँमा सारे। यसका साथै उनीहरूले बिरामीलाई आवश्यक पर्ने बेडसँगै पानी चढाउने स्ट्यान्डसमेतको व्यवस्था गरे।  

यति मात्र होइन नयाँ कोभिड वार्डका लागि आवश्यक पर्ने सय जना नर्सको आवेदन अस्पतालले माग गरेको थियो। तर आवेदन दिनेहरू एक हजार ५ सय पुगेपछि अनियन्त्रित भिड व्यवस्थापन गर्न अस्पतालका कर्मचारीलाई हम्मे परेपछि स्वेच्छिक रूपमा खटिएका ती युवा नै उक्त लाइन व्यवस्थापनमा जुटेको दृश्य शुक्रबार अस्पतालपरिसरमा जोकोहीले पनि देख्न सक्थ्यो।  

रिजेसलाई सुरुमा परिवारले सन्तानको मोहले केही अब्जेक्सन नगरेको भने होइन। तर २५ वर्षीय रिजेसले आफ्ना आमाबुवालाई राम्ररी सम्झाइबुझाई आफू सुरक्षित रहेर सबै काम गरिरहेको देखाइदिएपछि परिवारको पनि सहयोग पाउँदा निकै खुसी लागेको अनुभव सुनए। उनले कोडिभ वार्डको भौतिक पूर्वाधार व्यवस्थापन गर्नैका लागि पनि आफ्नो जागिरबाट केही दिनका लागि बिदासमेत लिएका छन्।

‘अस्पतालले जनशक्तिको अभावमा सय बेडको कोभिड वार्ड बनाउन नसकेको विषय हामीले थाहा पायौं,’ उनले नागरिकसँग भने, ‘त्यसपछि मैले र सुजनजीले मिलेर अस्पतालमा गएर सक्दो सहयोग गर्ने निधो ग¥यौं। दुई जनाले मात्र नसक्ने भएपछि स्वेच्छिक सहयोगका लागि हामीले सोसल मिडियामा आह्वान गर्‍यौं र युवा साथीहरू हामीसँग जुड्नु भयो।’ उनले थपे, ‘बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म हामीले पुराना बेड सफा गर्ने, कोठाहरू सरसफाइ गर्ने, पुरानो भवनबाट सफा गरिएको बेड र स्ट्यान्ड सबै नयाँ भवनमा लगेर व्यवस्थापनसम्मको काम गायौं। यसका लागि हामीले परिवारबाट टाढा रहनुपरेको छ। हामी छुट्टै कोठामा बस्ने गरेका छौं।’ तर रिजेसलाई अलि मन खिन्न पनि भएको छ किनभने उनले इन्स्टाग्राममा आह्वान गर्दा ६० हजारले भिउ गरेका छन्। तर वास्तविक रूपमा फिल्डमा २५ जना मात्र भेला भई सहयोगी हात बने। ‘मेरो इन्स्टाग्राममा कोभिड वार्डको सहयोगका लागि पोस्ट गरिएको सन्देश हेर्ने ६० हजार र बधाई सन्देश दिने पनि उत्तिनै छन्,’ रिजेसनले अनुभव सुनाए, ‘तर सहयोगी हात २५ मात्रै पुगेका छन्। तैपनि हामीले उत्साहका साथ आफ्नो राज्यप्रतिको दायित्व पूरा गर्न पाउँदा गर्व महसुस गरेका छौं।’

३४ वर्षीय सुजन गुरुङले पनि आफू समाज सेवाप्रति समर्पित रही कोभिड वार्डको व्यवस्थापनमा सहयोगी हात बनेको जनाए। उनी पेसाले व्यवसायी भए पनि आपतविपतमा अग्रपंक्तिमा हमेसा उभिन तयार हुन्छन्। त्यही भएर उनले २०७२ सालको महाभूकम्पमा पनि घाइतेको उद्धार गर्ने र अस्पताल पुर्‍याउने समेत काम गरेको अस्पतालकी निमित्त निर्देशक डा. शान्ता सापकोटाले बताइन्।  

‘युवाले देशमा आपतविपत आइपर्दा हमेसा साथ दिनुपर्छ भन्ने मेरो मान्यता हो। राज्यले हामीलाई के दियो होइन, हामीले राज्यलाई के दियौं भन्ने मान्यताका साथ आफ्नो दायित्व पूरा गर्नुपर्छ,’ सुजनले नागरिकसँग भने, ‘हाम्रो लक्ष्य शनिबारसम्म दुई सय बेड व्यवस्थापन गर्नु हो। अब हामीले आफैले पनि स्वेच्छिक रूपमा बेडको तयारी गर्दै छौं।’  

निर्देशक डा. शान्ता सापकोटाका अनुसार अस्पतालले आइतबार नयाँ कोरोना वार्ड खुला गर्ने भने पनि जनशक्ति अभावकै कारण भौतिक पूर्वाधार व्यवस्थापन गर्न सकेको थिएन। ‘तर धन्य यी युवा आफैले चासो देखाएर हामीसँग सम्पर्क गरी हातेमालो गर्नुभयो र आज सय बेडको कोभिड वार्ड तयार भयो,’ उनले भनिन्।

प्रकाशित: २५ वैशाख २०७८ ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App