सदरमुकाम गाईघाटसँग जोड्ने आसपासका अधिकांश सडकहरु कालोपत्रे हुने क्रममा त्रियुगा नगरपालिका ८ को रावाबासदेखि भान्टाबारीसम्मको खण्ड स्तरोन्नतिसहित कालोपत्रे भएको छ । राजाबासदेखि ऐतिहासिकस्थल खाटमन्दिर हुँदै भान्टाबारीसम्म जोड्ने ४ किलोमिटर सडक भर्खरै कालोपत्रे सकिएको हो ।
गाईघाटदेखि ५ किलोमिटर पश्चिम राजावाससम्म मदन भण्डारी लोकमार्गको कालोपत्रेसँग जोडिएको उक्त सडकमा ४ किलोमिटर उत्तर–पश्चिम भएर भान्टाबारीसम्म कालोपत्रे भएको हो । निर्माण सम्झौता भएको डेढवर्षभित्रै उक्त सडक स्तरोन्नतिसहित कालोपत्रे भएको सडकको रेखदेख गर्ने जिम्मा पाएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय राजविराज सप्तरीले जनाएको छ । आयोजना प्रमुख (डिई) सुरेन्द्रकुमार साहका अनुसार सो खण्डमा कालोपत्रेसँगै १.५ किलोमिट खण्डमा नाला र स्थानीय खोलाखहरेमा कल्भर्ट र ह्युमपाईप पनि राखिएको छ ।
जोशी–पबित्र निर्माण कम्पनी उदयपुरले अस्फाल्ट प्रविधिमा कालोपत्रे गर्ने काम यसैसाता सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारी गरिरहेको डिई साहले बताएका छन् । उनका अनुसार ०७६/०७७ मा निर्माण सम्झौता भएको योजनाको काम समयमै सकिएको हो । लगभग ४ करोड हाराहारी लागत मूल्यमा भएको कालोपत्रेको अन्तिभ भुक्तानीका लागि प्रक्रिया अघि बढाईसकेको पनि साहले बताए ।
निर्माण कम्पनी सञ्चालक केदार दाहालले सम्झौता अनुसार समयमै काम सम्पन्न गरेर योजना हस्तान्तरण गर्ने तयारीमा पुगेको बताए । आफूले लिएको कामको जिम्मा बेलैमा सकेर हस्तान्तरण गर्न लागेको भन्दै दाहालले हस्तान्तरण र उद्घाटन सँगसँगै गर्ने तयारी गरिएकोमा कोविड महामारी फैलिएकाले अव उद्घाटन नगरेर कागजी प्रक्रियामार्फत हस्तान्तरण मात्र गर्ने बताए ।
सडक कालोपत्रे भएपछि राजाबासदेखि भान्टाबारीसम्मका बिभिन्न भित्रि भागका टोल बस्तीबासीलाई आउजाउ गर्न सहज भएको छ । त्रियुगा नगरपालिकाको सबभन्दा ठूलो भूगोल भएको १६ नं. वडासँग जोडिएको भान्टाबारी उत्तर पश्चिमभेगलाई जोड्ने मुख्य नाका हो । भान्टाबारी नाका भएर बाघचौरी, खाटमन्दिर हुँदै राजाबासस्थित मदन भण्डारी लोकमार्ग झरेपछि ५ मिनटमै गाईघाट आईपुगिने भएकाले सदरमुकामसँग ओहोरदोहोर गर्न यसले धेरै सहज बनाएको छ ।
प्रदेश सांसद हिमाल कार्कीले सडक कालोपत्रे भएपछि चुहाडे, भान्टाबारी, सुकौरा, चिलाउनेलगायत टोलबस्तीबासीलाई सदरमुकाम आउजाउ गर्न दूरी छोटिएको बताए । २÷३ वर्षअघिसम्म पैदल हिड्नुपर्ने सो क्षेत्रासीलाई नगरपालिकाले कच्ची सडक निर्माण गरेपछि दुःखले साईकल र मोटरसाईकल ओहोरदोहोर गर्ने गरे पनि स्थानीय खोला खहरेमा आउने बाढीले वर्षायाममा जोखिम थियो । सघन सहरी आयोजनाले कल्भर्ट, नाला र सडक स्तरोन्नतिसहित कालोपत्रे गरिदिएपछि दूरी छोटिएको कार्कीको भनाई छ ।
दुईतर्फी नालासहितको ४ मिटर कालोपत्रे सडक बन्नुअघि भान्टाबारीदेखि गाईघाट आउजाउ गर्न चुहाडे हुँदै घण्टौ घुमाउरो बाटो हिड्नुपर्ने बाध्यता थियो । अव कालोपत्रे सडक भएर सदरमुकामदेखि आधा घण्टाभित्र घरघर पुग्न सहज भएकाले स्थानीय कृषि उत्पादन बजार लगेर बेच्न तथा बजारबाट माल सामान सहजै घर ल्याउन सजिलो भएको स्थानीय भरत कार्की ढोलीले बताए ।
सडक कालोपत्रे भएसँगै ऐतिहासिक थलो खाटमन्दिर आउजाउ गर्न पनि सहज भएको छ । स्थानीय व्यवसायी बाबुराम राईले खाटमन्दिर दर्शन गर्न र घुमफिरका लागि आउने पर्यटकलाई पैदल हिड्नुपर्ने बाध्यता हटेको बताए । केही वर्षअघि बनेको कच्ची सडकले पैदल हिड्नुपर्ने बाध्यता हटेकोमा अव कालोपत्रे भएपछि पर्यटक छिटो र सजिलो तरिकाले खाटमन्दिर आउन सजिलो भएको राईले बताए ।
प्रकाशित: २४ वैशाख २०७८ ०८:२२ शुक्रबार