coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुरमा वैशाख मसान्तसम्म निषेधाज्ञा

बढ्दो नयाँ भेरियन्टको कोरोना संक्रमण रोक्न उदयपुरमा शुक्रबारदेखि निषेधाज्ञा लागू गरिने भएको छ।

जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) उदयपुरको बिहीबारको बैठकले २४ गते राति १२ः०० बजेदेखि आउँदो ३१ गतेसम्म एकसाता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो।

दिनदिनै दुईदर्जन बढीको संख्यामा संक्रमित देखिन थालेपछि परिस्थिति भयावह हुनबाट रोक्न थप कडाई गर्दै निशेधाज्ञा गर्ने निर्णय गरिएको हो। यसअघि गत १९ देखि २५ गतेसम्म ३ पाङ्ग्रे सवारीमाथि रोक लगाउँदै विहान १०ः०० देखि ३ः०० बजेसम्म मात्र बजार पसल खुल्ला गरेर अर्धनिषेधाज्ञा रहेको उदयपुरमा पछिल्लो समय तीव्र रुपमा संक्रमित बढ्न थालेपछि निषेधाज्ञा गर्नु परेको डिसिसिएमसीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईले बताए।

प्रजिअ सेंढाईका अनुसार परिस्थिति जटिल हुँदै गएकाले निषेधाज्ञा लगाउनु परेको हो। निषेधाज्ञाको अवधिमा पनि विहान ६ः०० देखि १०ः०० बजेसम्म खाद्यान्न, दूध, खाना पकाउने ग्याँस, निर्माण सामग्रीजस्ता अत्यावश्यक पसलहरु खुल्ला राख्ने निर्णय भएको छ।

डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष पनि विहान ६ः०० देखि १०ः०० बजेसम्म खुला राख्ने निर्णय भएको छ। होटल, पार्टी प्यालेस, खाजा घर तथा क्यान्टिनहरु पूर्णरुपमा बन्द गर्ने तथा पार्टी प्यालेसमा विबवह, ब्रतबन्धलगायत कार्यक्रमहरु पूर्णत बन्देज गरिने छ।  

निषेधाज्ञाको अवधिभर सबैखाले सवारीसाधन सञ्चालनमा रोक लगाइने छ। खाद्यान्न, लुब्रिकेन्ट, ग्यास, खानेपानी, औषधिलगायत अत्यावश्यक उपभोग्य सामग्री, निर्माण सामग्री, एम्बुलेन्स, दूध, औषधि पसल ओसारपसारमा परिचय खुलाएर हिँड्न दिइनेछ।

राष्ट्रिय गौरवका योजना आयोजना सञ्चालनमा निर्माण कार्य सुचारु गर्न दिने र त्यसका लागि निर्माण सामग्री ओसार पसार गर्न रोक नलगाउने, सार्वजनिक तथा नीति निर्माण कार्य गर्दा निर्माणस्थलमै मजदुरलाई खाने बस्ने व्यवस्था मिलाउने, कामदारलाई एक ठाउँबाट अर्को ठाउँ ओसार पसार गर्दा समूहगत रुपमा नगर्ने पनि निर्णय गरेको प्रशासन कार्यालयले जनाएको छ।  

खाद्य, सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने, कालाबजारी गर्ने, जम्माखोरी, लुकाउने वा आपूर्तिमा अवरोध गर्नेमाथि संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाहीसमेत गरिने छ।

प्रकाशित: २३ वैशाख २०७८ १४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App