coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दाङ र बुटवलमा अक्सिजन अभाव भएपछि बिरामी पोखरासम्म

कोरोना संक्रमितका लागि धेरैतिरका अस्पतालमा अहिले अक्सिजन अभाव हुँदै गईरहेको छ । राजधानी काठमाडौं सहित बुटवल, दाङ, नेपालगञ्जका अस्पतालमा त अक्सिजनको हाहाँकार नै हुन थालेको छ । बुटवलका अस्पतालले त अक्सिजन नभएको भन्दै बिरामी भर्ना लिनै छाडेका छन् ।

अन्यत्रका अस्पतालमा अक्सिजन अभाव हुन थालेपछि अहिले पोखरामा उपचारकै लागि भनेर टाढा टाढाबाट समेत बिरामी आउन थालेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिश्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले उपचारका लागि बुटवल र दाङबाट समेत बिरामी आएका छन् । यसअघि बागलुङको धौलागिरी अञ्चल अस्पतालमा उपचारका लागि बिरामी काठमाडौंदेखि आएका थिए ।  

अस्पतालको कोभिड सम्पर्क व्यक्ति (फोकल पर्सन) डा. शरदचन्द्र बरालका अनुसार अस्पतालमा बुटवलका दुईजना बिरामी आइसकेका छन् भने दाङबाट पनि हेलिकप्टर चार्टर गरेर दुईजना बिरामी ल्याउने तयारी भएको छ । ‘बुटवल, दाङ लगायतका क्षेत्रका अस्पतालमा अक्सिजन अभाव भएकैले उपचारका लागि बिरामी पोखरासम्म आउन थालेका छन,’ बरालले भने, ‘सबैतिर अहिले अक्सिजन अभाव छ । पोखराले अहिलेसम्म बिरामीको माग अनुसार अक्सिजन उपलब्ध गराएपनि अवस्था जटिल हुँदै जाने त्रास छ ।’  

बुटवलका दुईमध्ये एकजना मंगलबार र अर्का एकजना हिजो मात्र अस्पतालमा आइपुगेका थिए । बुटवलका अस्पतालमा उपचारार्थ अक्सिजन अभाव भएपछि उनीहरु पोखरासम्म आएको बरालले बताए । अहिले पोखराको यो अस्पतालमा मात्र कोरोनाका ४२ जना बिरामी उपचाररत छन् । ती सबै बिरामीलाई अक्सिजन दिनुपरेको बरालले बताए । ‘सबैतिर हाहाँकार हुँदै जाने हो भने अरु बिरामी पनि आउन थाल्नेछन् । बुटवल, दाङतिरको अवस्था भयाभव बनिसकेको छ,’ बरालले भने, ‘हामीले सकेसम्म अक्सिजन अभाव हुन नदिन हरसम्भव प्रयास गरिरहेका छौ ।’ क्षेत्रीय अस्पतालमा मात्र अहिले दैनिक ६० सिलिन्डर अक्सिजन खपत भईरहेको छ ।  

कोरोनाको उपचारार्थ यहाँ भर्ना भएका सबै बिरामीलाई अक्सिजन आवश्यक परेको उनले बताए । ‘अक्सिजन नचाहिने बिरामीलाई त हामीले भर्ना नै गरेका छैनौ । जसलाई अक्सिजनको आवश्यकता छ, त्यो बिरामीलाई मात्र अस्पतालमा राखेर उपचार भईरहेको छ,’ उनले भने, ‘अक्सिजन नचाहिने बिरामीलाई पनि अस्पतालमा राख्ने हो भने अरु जोखिममा पर्छन । त्यसैले पहिलो प्राथमिकता अक्सिजन चाहिने बिरामीलाई दिनुपरेको हो । पहिला दिनमा ८–१० सिलिन्डर अक्सिजन खपत हुने अस्पतालमा अहिले भने दैनिक ६० सिलिन्डर खपत भईरहेको छ । यसअघि बागलुङको धौलागिरी अस्पतालमा पनि उपाचारका लागि बिरामी काठमाडौंबाट ल्याइएको थियो ।  

प्रकाशित: २३ वैशाख २०७८ ०७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App