८ वैशाख २०८१ शनिबार
समाज

अक्सिजन अभाव भएपछि बिरामी भर्ना लिन छाडियो

आपूर्ति सहज नभए स्थिती नाजुक हुने चिकित्सकहरुको भनाइ

बुटवलको कोभिड अस्पतालमा अक्सिजनको अभाव भएको छ। अक्सिजन अभावकै कारण अस्पतालले हिजो साँझ देखि कोरोनाका थप बिरामी भर्ना लिन सकिरहेको छैन। लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र उसले संचालन गरेको धागो कारखानाको कोभिड विशेष अस्पतालमा अक्सिजनको चरम अभाव भएको हो।

यी दुइ अस्पतालमा अहिले १ सय १४ जना कोरोना संक्रमित बिरमीको उपचार भइरहेको छ। ती बाहेक प्रादेशिक अस्पतालमा अन्य रोगका गम्भिर बिरामीहरु पनि छन्। अक्सिजनको अभाव हुँदा ती बिरामी जोखीममा परेका हुन्। भर्ना भएका बिरामीकालागि अहिले दैनिक ६ सय सिलिण्डर अक्सिजन आवश्यक पर्छ। तर अस्पतालमा पुग नपुग ३ सय सिलिण्डर अक्सिजन आपूर्ति भइरहेको छ।

अस्पतालका कोरोना फोकल पर्सन डा.नन्दु पाठकले अक्सिजन स्टक सकिन लागेपछि त्यसको व्यवस्थापनकालागि पहल भइरहेको बताए। ‘गएराती देखि नै हामी निकै तनावमा छौं। हामीसंग भएको अक्सिजनको मौज्दातले दिँउसो सम्मलाइ थेग्ला। स्थिति नाजुक छ तत्कालै जसरी पनि अक्सिजनको व्यवस्थापन गर्नु पर्नेछ’ डा पाठकले भने।  

अक्सिजन व्यवस्थापनकालागि डा पाठक सहितको टिमले रातभर नसुतेर सरकार,सम्बन्धित निकाय,उद्योग, सप्लार्यस र संघसंस्थाहरु संग हार गुहार गरेपनि भरपर्दो व्यवथापन हुन नसकेको प्रादेशिक असपतालका स्टोर प्रमुख रुपलाल पन्थीले बताए। दैनिक ६ सय सिलिण्डर अक्सिजनको माग छ तर अपूर्ति जम्मा ३ सयको हाराहारीमा हुँदा अक्सिजनको चरम अभाव भएको स्टोर किपर पन्थीले बताए।  

केही दिन अघि देखि नै प्रदेश र स्थानीय सरकार समक्ष अक्सिजन आपूर्ति सहज बनाउन माग गरिए पनि सुनुवाइ नभएको स्टोर प्रमुख पन्थीले बताए। यहाँका मन्त्री मुख्यमन्त्री, नगरपालिकाका मेयर सबैलाइ जानकारी छ। अक्सिजन आपूर्ति सहज बनाउन प्रदेश र स्थानीय सरकारसंग माग गरेका हौं तर खै त सुनुवाइ नै भएको छैन’ स्टोर प्रमुख पन्थीले भने।  

यो अस्पतालमा हाल शंकर अक्सिजन,लुम्बिनी अक्सिजन र एचओ अक्सिजन उद्योगबाट अक्सिजनको आपूर्ति भइरहेको छ। तर ती उद्योगले माग अनुरुपको अक्सिजन आपूर्ति गर्न सकिरहेका छैनन्। पछिल्लो समय बिभिन्न संघसंस्था र स्थानीय तहहरुले समेत अक्सिजन स्टक राखेर घरघरमा अक्सिजन पुर्याउने काम गर्दा स्वास्थ्य संस्थाहरुमा अक्सिजन र सिलिण्डर अभाव भएको अक्सिजन सप्लायर्सहरुको भनाइ छ।

प्रादेसिक अस्पतालका स्टोर प्रमुख पन्थीले बुटवल उपमहानगर पालिकाले अक्सिजन बैंकको नाममा अक्सिजन स्टक राखी रहँदा बुटवलकै कोभिड अस्पतालमा भने अक्सिजन अभाव भएर बिरामी जोखीमा परेको बताए। कोरोना अस्पतालका चिकित्सकहरुले पनि स्थानीय सरकार र बिभिन्न संघसंस्थाहरुले क्षणीक प्रचार र प्रशंसाकालागि भन्दा संक्रमितको हितमा प्रभावकारी र बहुउपयोगी योजनाहरु ल्याउनु पर्नेमा जोड दिएका छन्।

प्रकाशित: २३ वैशाख २०७८ ०६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App