८ वैशाख २०८१ शनिबार
समाज

कोरोनाले लुट्दै खुसी..

बढैयाताल गाउँपालिका–८ कण्ठपुर चौकका ५२ वर्षिय रामलाल चौधरीको परिवारमा यति ठूलो बज्रपात पर्ला भन्ने कल्पना गर्नसमेत सक्दैनथे। ३२ वर्षीय जीवन चौधरी परिवारका एक्ला छोरा थिए। बैकमा जागिरेसमेत गर्ने जीवनले घरको व्यवसाय सघाउँदा घर परिवार कम्ता खुसी थिएनन्।  

नेपाल प्रहरीको अवकाश प्राप्त हवल्दार रामलालसँग पर्याप्त नभए पनि सुखी परिवार खुसी राजी नै थियो। जब कोरोना संक्रमणकाे कहर गाउँ पस्यो एकएक गरी पाँच जनाको लगातार ज्यान लियो भने जीवनलाई पनि छाडेन। अघिल्लो वर्ष वैवाहिक जीवनमा बाँधिएका जीवन पत्निलाई एक्लो बनाएर गए।  

जीवनका बुवा पूर्वहवल्दार रामलालको पेन्सनले घर चलिरहेकै थियो। ३२ वर्षीय छोरासँगै मिलेर कण्ठपुर चौकमा भुपू रेष्टुरेन्ट खोलेका व्यवसाय पनि उकालो नै लागि रहेको थियो। तर भर्खरको छोराको साथ पाएका रामलाल भविष्य सुखद कल्पना एक साता नबित्दै चुडाएर लग्यो। लक्का जवान छोरा जीवनलाई वैशाख पहिलो साता आएको सामान्य ज्वराले जिन्दगीको सबै खुसी लुट्यो। सुरुमा सामान्य ज्वरो आएका जीवनले नजिकको मेडिकलबाट औषधि पनि खाए। मौसम परिवर्तनको समय भएकाले औषधि खाएको दुई दिए स्वास्थ्य सामान्यतर्फ उन्मुख हुँदा ढुक्क भए। तर दुई दिनपछि ज्वरो उल्टियो। ९ गते रातमा कडा ज्वरो आयो। बाँकेमा गएर पिसिआर टेष्ट गराएपछि अन्तत कोरोना पुष्टि भयो।  

जिन्दगी भरीको खुसी खोसिएको वुवा रामलालले पिडा पोखे। ‘नागरिकतामा भर्खर २९ वर्षमा टेकेको। ३२ वर्षीय जीवनलाई लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा कोरोनाले लग्यो,’ उनले भने, ‘दैवले एक्लो छोरालाई पनि छाडेन।’ यस्तै बढैयातालको वडा नं ८ मा पर्ने पाँच युवालाई यस्तैगरी कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। ४७ वर्षिय गम्भीर रानाभाट सुरुमा सामान्य लक्षण देखिए पनि एक्कासि कोरोना पुष्टि भएको थियो। पिसिआर टेष्ट गराएका रानाभाटको भेरी अस्पतालको शय्यामा कोरानाका कारण मृत्यु भएको चिकित्सकले पुष्टि गरे।

युवा उमेरमै कोरोनाले खुसी लुटेका यी प्रतिनधि घटना मात्र हुन्। चैत दोस्रो साता छुटफुटमा रूपमा देखिएको कोरोना संक्रमण चार साताभित्रमा भुसमा आगो सल्किए जस्तै ग्रामीण र सहरी क्षेत्रमा फैलिएको छ। जिल्लामा रहेका ८ वटा स्थानीय तहमा दैनिक दुई सयको हाराहारीमा कोरोना पुष्टि भएको रेकर्डमा पुष्टि भएको छ। बाँकेमा रहेका कोभिड अस्पताल दिनहुँ अकालमा ज्यान गुमाएकामध्ये युवा अवस्थामा धेरै छन्। बाँकेका कोभिड अस्पतालमा २४ घण्टामा १२ जना जम्मासम्म रेकर्डले पुष्टि गरेको छ। कोभिड अस्पतालमा अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी कोरोना अछुतो छैनन्। स्रोत र साधन पर्याप्त नहुँदा  

कोभिड अस्पतालको व्यवस्थापन भद्रगोल अवस्था छ। कोभिड अस्पतालमा अक्सिजन, औषधि र बेड अभावमा अस्पतालमा बाहिर बिरामी छटपटाइरहेका छन्। संघीय र प्रदेश सरकारको प्राथामिकतामा नपर्दा सीमित स्रोतसाधनबीच मानिस पुनर्जीवन दिन स्वास्थयकर्मीलाई हम्मेहम्मे परेको छ। स्रोतसाधनको अभावमा बलजफ्ति कोरोनाका बिरामीको उपचार भइरहेको छ। कतिपय बिरामीले उपचार पाएका छैनन्। दुई साता अघिदेखि कोरोना संक्रमितको घुइँचो लागे पनि उपचारबिनै अस्पताल छटपटाउनुपर्ने बाध्यतामा बिरामी छन्। एन्टिजेन चेकअपपछि पिसिआर रिपार्टका लागि बाँकेका पिसिआर ल्याबमा जाने बिरामीको उस्तै घुइँचो छ। बर्दिया, कैलाली, दाङका बिरामीको पिसिआर टेस्टदेखि संक्रमित भर्नाका लागि भरपर्दो भेरी अस्पतालको सेवा आफैं थलिएको छ।

नयाँ भेरियन्टसहित कोरोना भाइरस तीव्ररूपमा बढिरहेको अवस्थालाई गम्भिरतापूर्वक लिँदै स्थानीय प्रशासनले पश्चिम नेपालमा कडाइका साथ निषेधाज्ञा पालना गराइरहदा अपेक्षित उपलब्धि हाँसिल हुन सकेको छैन। अत्यावश्यक सेवा र सोका लागि प्रयोग हुने सवारीसाधन बाहेक अन्य सबै प्रकारका सेवा बैंक तथा वित्तीय संस्थासमेत, सवारीसाधन, पसल व्यवसाय, हाट बजार सञ्चालन र अत्यावश्यक काम बाहेकको हिडडुलमा समेत निषेध गर्ने गरी आदेश जारी गरिएको बर्दिया प्रहरी प्रमुख ईश्वर कार्कीले बताए। सानादेखि ठूला सवारीसाधन गरि सोमबार र मंगलबारसम्म दुई हजाार सवारीसाधनलाई प्रहरीले कारबाही गरिसकेको कार्कीले जानकारी दिए। 

हरेक पालिकाले गरिएको एन्टिजेन परीक्षणमा ९० प्रतिशत कोरोना पाजेटिभ देखिएको छ। सोमबार गरिएको एन्टिजेन परीक्षणमा राजापुर नगरपालिका दुई सय कोरोना पुष्टि भएको छ। बर्दियाका ८ वटा स्थानीय तहमध्ये बढैयाताल गाउँपालिका र बासगढी नगरपालिका कोरोना संक्रमणको हटस्पोट बनेको छ। बर्दिया अस्पतालमा सुरुमा चिह्न देखिएका एन्टिजेनमा करिबकरिब सत प्रतिशत कोरोना पोजेटिभ देखिएको डाक्टर विजय उपाध्यायले बताए। ‘ग्रामीण भेग र सहरी भेगबाट चेकजाँचका लागि आउने अधिकांशमा पोजेटिभ देखिन्छ,’ उनले भने, ‘कतिपय सिकिस्त भएपछि अस्पताल पुग्नेलाई कोभिड अस्पतालमा रिफर गर्छौं, सामान्यलाई काउनसेलिङ गरेर घर फर्काइरहेका छाैं।’

प्रकाशित: २२ वैशाख २०७८ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App