७ वैशाख २०८१ शुक्रबार
समाज

उदयपुरमा कोरोना संक्रमण तीव्रः एकैदिन थपिए ३३ नयाँ संक्रमित

उदयपुरको चौदण्डीगढी नगरपालिका ६ स्थित उदयपुर कोभिड अस्पताल। तस्विरः महेश्वर

दोस्रो चरणको कोभिड १९ काे लहर उदयपुरमा दिन दुईगुणा रात चौगुणाका दरले वृद्धि भईरहेको छ। मंगलबार एकैदिन ३३ जना थपिएसँगै जिल्लामा संक्रमितको संख्या ७८ पुगेको छ। नयाँसहित महिला २७ र पुरुष ५१ जना संक्रमित देखिएको जिल्लामा ३ जनाको अवस्था गम्भीर रहेको छ।  

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले दुईदिनअघि संकलन गरी पठाइएको पिसिआर रिपोर्ट मंगलबार आउँदा ३३ जना नयाँ संक्रमित थपिएको जनाएको छ। नयाँ थपिने संक्रमितमा सबभन्दा बढी सदरमुकाम त्रियुगा नगरपालिकामा ७ महिलासहित २४ थपिएका छन्। चौदण्डीगढी नगरपालिकामा १ महिलासहित ५, बेलका नगरपालिकामा १ पुरुष, उदयपरगढी गाउँपालिकामा १ महिलासहित ३ जना र रौतामाई गाउँपालिकामा १ महिलासहित ५ जना नयाँ संक्रमित भेटिएको जनस्वास्थ्य कार्यालयका तथ्यांक शाखा प्रमुख उमेश लुईटेलले बताए।

यो सँगै त्रियुगामा संक्रमितको संख्या २० महिला र ३४ पुरुष गरी ५४ जना पुगेको छ। त्रियुगा ६ मा ४ पुरुष ३ महिला गरी ७ जनामा संक्रमण देखिदा १० नं. मा ३ महिला र ३ पुरुष गरी ६ जना, ११ मा २ पुरुष १ महिला, १२ मा २ पुरुष १ महिला, २ नं. मा २ पुरुष, ९ नं. मा २ पुरुष, १ नं. मा १ पुरुष २ महिला संक्रमित छन्। वडा नं. २ मा २ पुरुष, ३ मा १ पुरुष १ महिला, ९ मा २ पुरुष, ५ मा १ पुरुष १ महिला संक्रमित फेला परेको लुईटेलले बताए।  

हालसम्म फेला परेका ७८ संक्रमितमा चौदण्डीगढी नगरपालिकामा २ महिलासहित १०, रौतामाई गाउँपालिकामा १ महिलासहित ५, कटारी नगरपालिकामा २ महिलासहित ४, उदयपुरगढी गाउँपालिकामा १ महिलासहित ३, बेलका नगरपालिकामा १ महिलासहित २ रहेका छन्। लिम्चलुङबुङ र ताप्ली गाउँपालिकामा अहिलेसम्म संक्रमित नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।  

अघिल्लो दिन सोमबारसम्म १५ महिलासहित ४५ जना संक्रमित रहेको उदयपुरमा एकैदिन १२ महिलासहित ३३ संक्रमित थपिएसँगै जिल्लाको संक्रमण अवस्था भयावह हुने संकेत देखिएको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुबेदीले बताए। उनका अनुसार संक्रमितमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई चौदण्डीगढी नगरपालिका ६ सातधारे बेलटारस्थित ‘उदयपुर कोभिड अस्पताल’मा उपचार भईरहेको छ। त्रियुगा नगरपालिकाका २५, ५१ र ६० वर्षका ३ संक्रमितलाई अक्सिजन दिएर उपचार गराईराखेको सुबेदीले बताएका छन्।  

सुबेदीका अनुसार अघिल्लो दिन विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएका चौदण्डीगढी ५ का ५५ वर्षीय एक पुरुषमा कोभिड संक्रमण भएको खुलेको छ। सोमबार दिउसो उपचारको क्रममा मृत्यु भएका उनी सुनसरीको इनरुवास्थित हुलाक कार्यालयमा कार्यरत कर्मचारी रहेको स्वास्थ्यले जनाएको छ। केहीदिनअघि ज्वरो आएपछि चौनपा ५ शिवाईस्थित घर आएका उनलाई थप स्वास्थ्यमा जटिलता आएपछि नोबेल भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको खवर आएको सुबेदीले बताए।  

अघिल्लो दिनसम्मका संक्रमित भने एन्टीजेन परीक्षणबाट संक्रमित पुष्टि भएका हुन्। उदपुरमा पिसिआर र एन्टीजेन दुवै बिधिबाट कोभिड परीक्षण भईरहेको छ। तर, पर्याप्त मात्रामा किट नपाउँदा शंकास्पदलाई मात्र परीक्षण गर्ने गरिएको छ। स्वास्थ्य कार्यालयले सबै स्थानीयतहलाई एन्टीजेन वा पिसिआर किट खरिद गर्न आग्रह गरे पनि त्रियुगा, चौदण्डीगढी, बेलका र उदयपुरगढीले मात्र खरिद गरेका छन्। त्रियुगा र चौदण्डीगढीले ५–५ सय, बेलका र उदयपुरगढीले १–१ सय थानका दरले खरिद गर्न चाहे पनि पर्याप्त किट नपाएको जनाएका छन्।  

चौदण्डीगढी नगरपा्रमुख खगेन्द्र राईले ५ सय थान एन्टीजेन किन्न खोजे पनि नपाएपछि ३ सय थान मात्र किनेको बताए। उनले नगरपालिकामै रहेको कोभिड अस्पताललाई सक्षम र व्यवस्थित बनाउँदै संक्रमितको उपचार त्यहीँबाट गर्ने चाँजोपाँजो मिलाउँदै गरेको बताएका छन्। हाल ९ जना पुरुष संक्रमितको उपचार भईरहेको अस्पतालमा अक्सिजनसहितको उपचार गर्ने व्यवस्था मिलाइएको मेयर राईले बताए। हाल ३ जना जटिल खालका बिरामीलाई अक्सिजन दिएर उपचार गराईराखिएको र थप बिरामी संक्रमित आए उपचार गर्न सहज बनाउन १० थान सिलिण्डरको जोहो गरिएको छ।

प्रकाशित: २१ वैशाख २०७८ १४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App