८ वैशाख २०८१ शनिबार
समाज

'अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार'

दिनप्रतिदिन सुर्खेतमा कोभिड–१९ फैलिँदो छ। अस्पतालमा अक्सिजन अभाव हुँदा कोरोना संक्रमितको उपचारमा उस्तै समस्या छ। अक्सिजन अभावमा मृत्यु दर पनि बढ्दो छ। अक्सिजन अभाव हुँदा उपचारमा समस्या हुन नदिन र अकालमै नागरिकको ज्यान जान नदिन सुर्खेती युवाहरुले ‘अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार’ अभियान सुरु गरेका छन्। कोरोना भाइरसको जोखिम न्यूनीकरणमा जिम्मेवारी र उत्तरदायित्व बहन गर्न सुर्खेती कोभिड–१९ सेल्फ हेल्प समूह बनाएर उनीहरुले उक्त अभियान सुरु गरेका हुन्।

अहिलेसम्म अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार रूपैयाँ अभियानमा करिब दुई सय बराबर व्यक्ति जोडिएका छन्। एक/एक मिलेर हजार बन्छ भनेजस्तै सुरुमा तीन युवाहरु मिलेर यो अभियान सुरु गरेका थिए। पत्रकार सुदीप पुरीको नेतृत्वमा धर्मराज आचार्य र मिलन श्रेष्ठले उक्त अभियान सुरु गरेका हुन्। ‘मानवीय र सामाजिक उत्तरदायित्व पूरा गर्न हामीले यो अभियान सुरु गरेका हौं,’ अभियानका नेतृत्वकर्ता सुदीप पुरीले भने, ‘हाम्रो जिम्मेवारी भनेको आलोचना गर्ने मात्र होइन। संकटमा सहयोग गर्नु पनि हो।’ यस्तो महामारीको संकटका बेला नागरिकले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्ने उनको भनाइ छ। अहिलेसम्म करिब साढे तीन लाख रूपैयाँ संकलन भइसकेको छ।

सुत्केरी महिलासहित २२ जना बिरामीलाई अक्सिजनसहितको सिलिन्डर सहयोग गरेको अभियान्ता पुरीले जनाए। ‘एकजना मृतकलाई दाहसंस्कार खर्चका लागि पाँच हजार सहयोग गरेका छौं,’ उनले भने, ‘अब कोरोना संक्रमितलाई पौष्टिक आहारका लागि पौष्टिक तत्व पनि सहयोग गर्छाैं।’ अस्पताल र होमआइसोलेसनमा अक्सिजन नपाएकालाई सहयोग गरिरहेको अर्का अभियान्ता मिलन श्रेष्ठले जनाए। यो अभियान सुरु गर्नमा लेखा अधिकृत सुशिल केसी र पत्रकार नगेन्द्र उपाध्यायको पनि महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ।

‘उहाँहरु दुवैजनाले अस्पतालको समस्या बाहिर नल्याएको भए हामीलाई थाहा हुने थिएन,’ उनले भने, ‘उहाँहरुले समस्या बाहिर ल्याएपछि हामी तीनजना समूह बनाएर अभियान चलाएका हौं।’ यो अभियानमा जोडिनेको संख्या बढ्दो छ। ‘एकजनाले एक हजार मात्र सहयोग गरे पुग्छ,’ उनी भन्छन्, ‘एक हजारले कसैको ज्यान जोगिन्छ भने एक हजार किन सहयोग नगर्ने?’ अक्सिजनसहितको सिलिन्डर अभाव हुँदा प्रदेश अस्पतालमा बिरामीहरुको उपचारमा समस्या हुँदै आएको छ।

यो अभियानप्रति धेरैले खुसी व्यक्त गरेका छन्। अस्पतालभित्रको समस्या देखेपछि समस्या समाधानका लागि पहल गरिरहेको लेखा अधिकृत केसीले जनाए। उनी आफैँ कोरोना संक्रमित हुँदा अस्पतालमा रहेका कोरोना संक्रमित बिरामीलाई सहयोग गरेका थिए। ‘समस्या देखिएपछि सचेत नागरिक भएर चुप लागेर बस्न सकिएन,’ उनी भन्छन्, ‘यस्तो संकटमा आलोचना मात्र गरेर हुँदैन। स्वास्थ्य संकटमा सहयोग गर्नुपर्छ।’ मिलन श्रेष्ठको नाममा रहेको खाता नम्बर ०६५०८७७४८१२०५००१ सनराइज बैंक सुर्खेतमा रकम जम्मा गरेर यो अभियानमा जोडिन सकिने अभियान्ता पुरीको भनाइ छ।

प्रकाशित: २१ वैशाख २०७८ १३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App