७ वैशाख २०८१ शुक्रबार
समाज

इलाममा काेराेनाबाट थप दुईको मृत्यु, व्यवसाय र सेवा धमाधम बन्द

जिल्लामा दोस्रो लहरको कोराेना संक्रमणदर बढेपछि सेवाप्रदायक र व्यावसायिक क्षेत्र धमाधम बन्द हुन थालेका छन्। कोरोना रोकथाम र नियन्त्रणका लागि व्यवसायी आफैंले जिल्लाको व्यापार तथा यातायात क्षेत्र बन्द गराउन थालेका हुन्।  

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सदरमुकामस्थित टुँडिखेलदेखि जिरोकिलोमिटर र टुँडिखेलदेखि इलाम बजार हुँदै धोबिधारासम्मको क्षेत्रका बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरेको छ। केन्द्रको बैठकले यो क्षेत्रमा अत्यावश्यक सेवाबाहेकका सवारी साधनसमेत नचलाउने गरी सूचना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए।

बैठकले मेची राजगर्मामा चल्ने लामो दूरीका सवारी साधनलाई बिब्ल्याँटे बजारमा पार्किङ गर्न नदिने र सार्वजनिक सेवाप्रदायकलाई स्वास्थ्य मापदण्ड पालना अनिवार्य गराउने निर्णय पनि गरेको उनले बताए।  

कोरोना संक्रमण बढेककै कारण इलाम उद्योग वाणिज्य संघले सदरमुकामका पसलहरू बुधबारदेखि बन्द गराउने भएको छ। संघले बिहान ७ बजेदेखि १० बजेसम्म मात्र पसल खुला राख्ने र बाँकी समय बन्द गर्ने निर्णय गरी व्यवसायीलाई सूचित गरेको छ। संघ अध्यक्ष ईश्वर चिपालुले आउँदो २८ गतेसम्म बजारका पसलहरू बन्द रहने र अत्यावश्यक र खाद्य पसलमात्र बिहान ७ देखि १० बजेसम्म खुला राख्ने निर्णय भएको बताए।  

यातायात व्यवसायीको संस्थाले पनि सातासम्मका लागि सवारीका साधन नचलाउन व्यवसायीलाई आग्रह गरेको छ। पूर्वेली जिप तथा ट्याक्सी यातायात सेवा प्रालिले अत्यावश्यक बाहेकका सवारी साधन बन्द गर्न, सञ्चालन गरेका सवारीमा पनि भौतिक दूरी कायम गर्न, मास्क, सेनिटाइजर प्रयोग गर्न आग्रह गरेको हो। प्रालि अध्यक्ष गृष्म सुब्बाले मंगलबार विज्ञप्ति जारी गरी बुधबारदेखि एक साताका लागि प्रालि अन्तर्गतका सबै काउन्टर बन्द राख्ने जनाएका छन्।  

जिल्ला सहकारी संघ लिमिटेडले घर–घरमा गई बचत संकलन नगर्न र अन्य गतिविधिसमेत स्थगित गर्न सहकारी संस्थालाई आग्रह गरेको छ। संघ अध्यक्ष विष्णु दाहालले विज्ञप्ति जारी गर्दै सहकारीका कार्यालयको काम भने यथावत राख्न सकिने जनाएकी हुन्।

जिल्लाका विद्यालय, क्याम्पस, मानिस भेला हुने अन्य संघ–संस्था, कार्यक्रम र अन्य गतिविधि यसअघि नै बन्द गरिएका छन् ।  

इलाम नगरपालिकामा मंगलबार २ जना थपिएसँगै जिल्लामा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ। इलाम नगरपालिका–७ का ७४ वर्षे पुरुष र वडा–५ की २९ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यसअघि चुलाचुली गाउँपालिकाकी ८६ वर्षीया महिला र त्यही गाउँपालिकाका ८८ वर्षे पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।  

कार्यालयका अनुसार जिल्लामा बुधबार १७ संक्रमित थपिएका छन्। इलाम नगरपालिकामा मात्रै १३ संक्रमित थपिएको कार्यालयले जनाएको छ। योसँगै जिल्लामा कूल संक्रमितको संख्या ७१ पुगेको छ। तर, इलाम नै घर भएपनि जिल्लाबाहिरका अस्पतालमा स्वाब नमूना जाँच गराएर पोजिटिभ रिपोर्ट आइ मृत्यु हुनेहरू पनि छन्।  

कोरोना नियन्त्रण र रोकथामकै लागि भइरहेका गतिविधिबारे १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले इलामसँग जोडिएका भारतीय सीमाक्षेत्रको निरीक्षण गरेका छन्। मन्त्री कार्कीले पशुपतिनगर नाकामा राखिएका हेल्प डेस्क र सीमामा भइरहेको आउ–जाउबारे जानकारी लिएको सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले बताए।

‘नगरपालिकाले सीमा क्षेत्रमै २० जना अटाउने क्वारेन्टिन तयार गर्दैछ,’ मेयर राईले भने, ‘कोरोना नियन्त्रणका लागि तीनै तहका सरकारको समन्वयमात्र प्रभावकारी हुने देखिन्छ ।’ निरीक्षणपछि मन्त्री कार्कीले प्रदेश सरकारले पनि कोरोना नियन्त्रणका लागि आवश्यक सहयोग गर्ने बताए।

प्रकाशित: २१ वैशाख २०७८ १३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App