coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

महामारीमा गाउँ भित्रिनेको न तथ्यांक, न निगरानी

फाइल तस्बिर

खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ५३ वर्षका खत्री थरका र २० वर्षका रोका थरका पुरुषलाई बैसाख २० गते नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भयो । काठमाडौंमा अध्ययनरत रोका वैशाख १५ गते र खत्री चितवनबाट वैशाख  १६ गते घर आएका थिए । यसको अर्थ कोभिड–१९ को महामारी शहरबाट क्रमशः गाउँमा प्रवेश गर्दैछ । कोभिड–१९ बाट गाउँ पनि असुरक्षित देखिन थालेको छ । 

सामान्यत : कोभिड–१९ प्रभावित क्षेत्रबाट भित्रिने व्यक्तिमार्फत गाउँमा संक्रमण फैलिन सक्ने खतरा बढी देखिएको छ । कोभिड–१९ को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि महामारीका बेला गाउँ भित्रिने हरेक व्यक्तिको विवरण संकलन तथा निगरानी जरुरी छ । त्यसमा पनि भारत, रोजगारमुलक देश तथा प्रभावित क्षेत्रबाट आएका नागरिकको बारेमा स्थानीय सरकार चनाखो हुन आवश्यक देखिन्छ । तर, खोटाङका अधिकांश स्थानीय तहले अन्यत्रबाट आउने व्यक्तिको विवरण संकलनमा ध्यान पु¥याउन सकेको छैन । कोरोना कहरकाबीचमा ‘को, कहाँबाट, कति जना गाउँ आए, गाउँ आउने व्यक्ति  होम आइसोलेसनमा बसेका छन् वा छैनन्, उनीहरुको स्वास्थ्य अवस्था, ट्राभल हिस्ट्री’ लगायतका बारेमा स्थानीय सरकार प्रायः बेखबर छन् ।  

१० स्थानीय तहमध्ये साकेला गाउँपालिकाले भने कोभिड–१९ को दोश्रो लहरको महामारी सुरु भएसँगै जिल्ला बाहिरबाट आउने व्यक्तीको विवरण संकलन सुरु गरेको जनाएको छ । गाउँमा ‘को आए, कहिले आए, कहाँबाट आए, कसरी बसिरहेका छन्, स्वास्थ्य अवस्था कस्तो छ’ लगायतका प्रारम्भिक सूचना संकलनका लागि स्वास्थ्य शाखा संयोजकलाई जिम्मेवारी दिइएको छ । महामारीकाबेला गाउँ भित्रिने व्यक्तीको बारेमा जानकारी संकलन गर्दै स्वास्थ्य संयोजकलाई उपलव्ध गराउनका लागि हरेक स्वास्थ्यचौकीका इन्चार्जलाई फोन खर्च समेतको व्यवस्था गरिएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए । ‘हामीले बैसाख १८ गतेदेखि यस्ता विवरण संकलन सुरु गरेका छौँ । गाउँ भित्रिने व्यक्तीको बारेमा जानकारी दिनका लागि स्वास्थ्य इन्चार्जलाई फोन खर्चको व्यवस्था गरेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत मगरले भने, ‘स्वास्थ्यचौकी इन्चार्जबाट आएका विवरणको आधारमा दैनिक एकीकृत विवरण तयार पार्ने गरेका छौँ । वडा–वडाका उपभोक्ता समुह, महिला समुह वा संघसंस्थाका प्रतिनिधिलाई पनि गाउँमा आउने व्यक्तीको बारेमा जानकारी दिन र निगरानी गर्न भनेका छौँ ।’  

यस्तै, कोभिड–१९ को संक्रमण रोकथामका लागि हलेसी तुवाचुङ नगरपालिकाले बाहिरी जिल्लाबाट आएका व्यक्तीको तथ्यांक संकलन गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण नगस्तरिय समन्वय समितिका संयोजक एवं मेयर इवन राईको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय बैठकले बाहिरी जिल्लाबाट आएका व्यक्तीलाई स्वास्थ्य शिक्षा दिने र होम क्वारेन्टिनमा बस्न लगाउने निर्णय गरेको हो । सो कामका लागि वडाध्यक्षको नेतृत्वमा सम्वन्धित वडाका सम्पूर्ण शिक्षकलाई परिचालन गरिने छ । भारत लगातबाट आउने व्यक्तीको तथ्यांक संकलनका लागि वडालाई स्टेशनरी उपलव्ध गराइएको मेयर राईले बताए । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पनि वडा–वडामा अन्यत्रबाट भित्रिएका व्यक्तीको तथ्यांक संकलन भइरहेको बताइएको छ । भारतबाट आएका व्यक्तीको हकमा भने एन्टीजेन परिक्षणको तयारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए ।  

जन्तेढुंगा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बंशिलाघाट र जन्तलुखामा हेल्थडेस्क स्थापना गरेर पालिका भित्रिने र बाहिरिने व्यक्तीको विवरण संकलनको व्यवस्था मिलाइएको बताए । ‘नाका–नाकामा राखिएको हेल्थडेस्कबाट कति आए, कति गए थाहा हुन्छ,’ पोखरेलले भने, ‘डेस्कबाट गाउँ प्रवेश गरेका सबैलाई १० दिन होम क्वारेन्टिनमा बस्न भन्ने गरेका छौँ ।’  

ऐसेलुखर्क गाउँपालिकाले पनि महामारीका बिचमा बाहिरबाट आउने व्यक्तीको तथ्यांक राखेको छैन । यसपल्टको महामारीमा भारतबाट आउने व्यक्तीको बारेमा जानकारी नआएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए । कोरोनाको महामारीकाबिचमा पालिकाभन्दा बाहिरबाट गाउँ भित्रिने व्यक्ती होम क्वारेन्टिनमा बसे÷नवसेको अनुगमन गर्ने र सोको जानकारी वडा तथा पालिकालाई उपलव्ध गराउने प्रयोजनका लागि केपिलासगढी गाउँपालिकाले स्वयंसेवक नियुक्तीको प्रकृया सुरु गरिसकेको छ । यद्यपी, हालसम्म बाहिरबाट आउने व्यक्तीको तथ्यांक संकलन गरिएको छैन । यसबिचमा केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले आफ्नो पालिकामा अन्यत्रबाट कोही पनि नभित्रिएको बताए । केपिलासगढीले बैसाख १६ गतेदेखि १० दिनका लागि यातायात बन्द गरेकाले कोही पनि नभित्रिएको दावी गरिएको छ ।  

जिल्लाको खोटेहाङ गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, बराहपोखरी गाउँपालिका र रावाबेँसी गाउँपालिकाले पनि महामारीका बिचमा भारत तथा अन्य देशबाट भित्रिएका व्यक्तीको रेकर्ड राखेको छैन । रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले आफ्नो पालिकामा भारतबाट कोही पनि नआएको बताए । रावाबेँसीमा विदेशबाट आएका दुई जनालाई होम क्वारेन्टिनमा राखिएको छ ।  

अक्सिजन सिलिण्डर जुटाउन समस्या  

खोटाङका स्थानीय तहलाई आइसोलेसन सेन्टरका लागि आवश्यक अक्सिजन सिलिण्डर जुटाउन समस्या भएको छ । आइसोलेसन सेन्टरका लागि बेड, डसना, सिरक जस्ता सामग्री जुटाउन सकिए पनि अक्सिजन सिलिण्डर भनेकोबेला खरिद गर्न नपाइएको जनप्रतिनिधि बताउँछन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको बैसाख १३ गते बसेको बैठकले नगरपालिकालाई ३० बेडको र गाउँपालिकालाई २० बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर व्यवस्थापन गर्न निर्देशन दिएको थियो । १६ बेडको आइसोलेसन सेन्टर निर्माणको तयारी गरिए पनि अक्सिजन नपाइएको केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले बताए ।  

साकेला गाउँपालिकाले पनि अक्सिजन सहितको २० बेडको आइसोलेसन सेन्टर निर्माण गर्दैछ । साकेला गाउँपालिका–२ रतन्छास्थित स्वास्थ्यचौकीमा स्थापना गरिएको ५ शैयाको अस्थायी कोभिड अस्पतालमा १५ बेड थप गरेर आइसोलेसन सेन्टर स्थापनाको तयारी गरिए पनि अक्सिजन सिलिण्डर नपाइएको प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए । ‘हामीसँग अस्थायी कोभिड अस्पतालमा पाँच बेडको आइसोलेसन अलरेडी छ । अव १५ बेड थप गर्छौँ,’ मगरले भने, ‘अक्सिजन सिलिण्डर भने चार वटा मात्र पाइयो । पुरानो अक्सिजन सिलिण्डर पाँच वटा थियो । अव हामीसँग भएको अक्सिजन सिलिण्डर संख्या नौ पुगेको छ ।’  

प्रकाशित: २१ वैशाख २०७८ १२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App