coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रसुवागढी नाकामा अब सीमित व्यक्ति मात्र जान पाउने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी । तस्बिरः हिमनाथ/नागरिक

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा सीमित व्यक्ति बाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै नाकामा आवश्यक पर्ने व्यक्ति बाहेक अन्यलाई जोखिम कायम रहँदासम्मको लागि रोक लगाइएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए । कोभिड–१९ का कारण अहिले नाकामा उच्च सतर्कता अपनाइएको छ ।  

नाकासँग सम्बन्धित कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, व्यापारी, मेसमा काम गर्ने व्यक्ति, सवारी चालक, कामदार बाहेक अन्य ब्यक्ति नाकामा जान नपाउने भएका हुन् । यसका लागि पनि खोपको मात्रा पूरा गरेका र क्वारेन्टिनमा बसेका हुन पर्नेछ । नाकामा प्रवेश गर्दा पीपीइ सेट लगाउनु पर्छ । तोकिएको व्यक्ति बाहेक अन्य व्यक्ति अब नाका भन्दा डेड किलोमिटर वर घट्टेखोलामा मात्र जान पाइने छ । पहिले अहिले निर्माण भइरहेको एकीकृत जाँच चौकीसम्म जान पाइन्थ्यो ।  

रसुवा भन्सारका कर्मचारी, सुरक्षाकर्मी, चालक, मजदुर, व्यापारी, मेसमा काम गर्नेलाई खोप लगाइएको छ । त्यसैगरी टिमुरेका स्थानीय, रसुवागढी जलविद्युत आयोजना र एकीकृत जाँच चौकीका कर्मचारी तथा कामदारलाई समेत खोप लगाइएको छ । त्यहाँ जानुपर्ने कारण सहित कोही आएको खण्डमा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर जान दिन सकिने प्रमुख भन्सार अधिकृत रेग्मीले बताए ।  

रसुवा जिल्लामा आएको कबिर २ हजार डोज चिनियाँ खोपमध्ये नाकासँग सम्बन्धित व्यक्तिलाई १ हजार ५ सय जनालाई खोप लगाइएको छ । नाकामा काम गर्ने कामदारलाई पीपीई सेटको व्यवस्था गरिएको छ । ‘चिनियाँ पक्षले कोभिड सुरक्षाको विषयमा निकै चासो देखाइरहेका छन्,’ उनले भने, ‘रसुवामा कोरोनाको बिरामी थपिना साथ नाकाबाट कति टाढाको भनेर प्रश्न गरिहाल्छन् ।’  

नेपाल र चीनबीच हुने व्यापारलाई सहज बनाउनका लागि चिनियाँ पक्षले ल्हासाबाट रसुवागढी नाकासम्म सिधैं सामग्री आइरहेको छ । बीचमा सामग्री भण्डारण गरेर राख्दा विभिन्न समस्या सिर्जना भएको भन्दै पछिल्लो समय नाकासम्म नै ल्याइदिन थालेका हु्न । अहिले विशेषगरी हार्डवेयरका सामग्री, स्याउ, लसुन, ओखर लगायतका सामग्री आइरहेको छ । ‘अहिले दैनिक ८ वटा गाडीमा सामग्री आइरहेको छ’, उनले भने, ‘यसले व्यापारीलाई केही राहत मिलेको छ ।’  

लामो समयसम्म नाकाबाट आयात बढ्न नसक्दा नेपाली व्यापारी समस्यामा परेका थिए । दैनिक पाँच वटा चिनियाँ गाडीमा सामग्री आउने र नेपाली व्यापारी तथा व्यवसायी केरुङसम्म जान नपाउँदा आयात प्रभावित हुँदै आएको थियो । कोभिड–१९ सुरु हुनुभन्दा अगाडि चीनबाट दैनिक सय वटा भन्दा बढी नेपाली कन्टेनरले सामग्री आयात गर्दै आएका थिए ।  

 गएको जेठ अन्तिमबाट नाकामा कारोबार पुनः सुरु भएतापनि आयात बढ्न नसक्दा नेपाली व्यापारी समस्यामा परेका थिए । २०७१ मंसिरदेखि औपचारिक रूपमा सञ्चालनमा आएको नाकाबाट हिउँ पर्ने समय, चीनतर्फ हुने निर्वाचन र ल्होसारको समयमा आयात निर्यात रोकिँदै आएको छ । कोभिड–१९ का कारण नाकामा आयात सहज नभएको, निर्यात ठप्प भएको र पटकपटक नाका बन्द हुँदा राजस्व संकलन समेत प्रभावित हुँदै आएको छ ।  

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलपूmल आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

प्रकाशित: २१ वैशाख २०७८ ११:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App