coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मोरङमा ६ जना कोरोना संक्रमितको मृत्यु

मोरङमा कोरोना भाइरसको संक्रमणबाट छ जनाको मृत्यु भएको छ। मोरङको बेलबारीमा होम आइसोलेसनका १ जना, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ४ जना र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १ जना गरि छ जनाको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।  

विराटनगगर महानगरपालिका–१३ का ३९ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार बिहान ७ बजे मृत्यु भएको कोसी अस्पतालले जनाएको छ। कोरोना संक्रमित पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि वैशाख २० गते अस्पताल भर्ना गरिएको केन्द्रका संयोजक बैजनाथ साहले बताए।

मोरङको बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको होम आइसोलेसनमा बिहान ४ बजे मृत्यु भएको छ। मृतक पूर्वप्रहरी सहायक निरीक्षक (असइ) हुन्। वैशाख १६ गते पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि होम आइसोलेसनमा बसेका थिए। श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल लैजान नपाउँदै मृत्यु भएको प्रहरीले जनाएको छ।

विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा बिहान २ बजे मृत्यु भएको नोबेल अस्पतालले जनाएको छ। कोरोना पुष्टि भएपछि सोमबार अस्पताल भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए।  

इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको बिहान सवा ४ बजे उपचारका क्रममा नोबेलमै मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि वैशाख १३ गते अस्पताल भर्ना गरिएको थियो। मृतकमा निमोनियाको पुरानै समस्या रहेको दाहालले बताए।  

सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया वृद्धा महिलाको उपचारका क्रममा बिहान ५ बजे नोबेलमै मृत्यु भएको छ। कोरोना संक्रमित सोमबार अस्पताल भर्ना भएकी थिइन्। मृतकमा दमको पुरानो समस्या रहेको प्रबन्ध दाहालले बताए।  

त्यस्तै प्रदेश २ को सप्तरी हनुमाननगर–कंकालीनी नगरपालिका–२ का ३५ वर्षीय पुरुषको बिहान ५ बजेर ४५ मिनेटमा नोबेलमै मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको प्रबन्धक दाहालले बताए।

प्रकाशित: २१ वैशाख २०७८ १०:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App