१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रिसोर्टमा मृत भेटिएका कामदारको पोष्टमार्टम हुन सकेन

खोटाङको हलेसीस्थित जाम्बाला रिसोर्टमा वैशाख १८ गते साँझ मृत फेला परेका कामदारको शवको पोष्टमार्टम हुन सकेको छैन। सुतेकै कोठामा मृत फेला परेका धादिङको निलकण्ठ नगरपालिका–४ का ४४ वर्षीय एकबहादुर मल्ल ठकुरीको तीन दिन बत्दा समेत पोष्टमार्टम हुन नसकेको हो। ठकुरीको शव वैशाख १९ गतेदेखि जिल्ला अस्पतालको पोष्टमार्टम गृहमा राखिएको छ। जाम्बाला रिसोर्टका सञ्चालक वार्तामा आउनुपर्ने र मृतक परिवारको माग पूरा गर्नुपर्ने भन्दै आफन्तले पोष्टमार्टमका लागि जाहेरी नदिएपछि पोष्टमार्टम हुन नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले बताए।  

मृतकको शवलाई घरसम्म पुर्‍याउने व्यवस्था गर्नुपर्ने, गाडी रिजर्भ गरेर खोटाङ आएका मृतकका ७ जना आफन्तको खर्च बेहोर्नुपर्ने र किरिया खर्च उपलब्ध गराउनु पर्ने मृतक परिवारको माग छ। रिसोर्टका आधिकारिक व्यक्तिको उपस्थितिमा छलफल गरेर सहमतिपछि मात्र शवको पोष्टमार्टम गर्न अनुमति दिइने मृतकका भाई शेरबहादुर मल्ल ठकुरीले बताए। ‘पोष्टमार्टम अगाडि रिसोर्टको आधिकारिक व्यक्ति छलफलमा आउनु पर्छ। घरसम्म शव लैजाने व्यवस्था हुनुपर्छ। रिजर्भ गाडीको भाडा दिनानुदिन उठिरहेको छ, खानामा उत्तिकै खर्च भइरहेको छ। त्यो खर्च रोजगारदाता पक्षले हेर्नुपर्छ भन्ने हाम्रो आग्रह हो,’ शेरबहादुरले भने, ‘हामीले क्षतिपुर्ती चाहियो भनेका छैनौं। हामीलाई किरिया खर्च दिनुपर्छ। त्यत्रो होटल चलाउने कम्पनीको आफ्नो स्टाफप्रति रेस्पोन्सिविलिटी पनि होलान् भन्ने हाम्रो धारणा हो।’  

एकबहादुरको मृत्यु खबरपछि गाडी रिजर्भ गरेर ७ जनाको टोली खोटाङ आएका थिए। तीन दिनसम्म मृतकको पोष्टमार्टम नै नहुने अवस्था आएपछि जाम्बाला रिसोर्टका प्रतिनिधि पनि दिक्तेल आउँदै गरेको बताइएको छ। जाम्बाला रिसोर्ट सञ्चालक मध्येका सिपी सुबेदीले भने मृतक परिवारलाई २० हजार किरिया खर्च उपलव्ध गराउने र शव पुर्‍याइदिने अथवा मृतक परिवारलाई एकमुष्ट एक लाख दिने र सवै व्यवस्थापन मृतक परिवारले नै गर्नुपर्ने प्रस्ताव राखिएको बताए।  

दिउँसो खाजा खाएर कामदार सुत्ने रिसोर्टकै कोठामा आराम गर्न गएका एकबहादुर बेलुका मृत फेला परेका थिए। उनी गत वैशाख १ गते मात्र जाम्बाला रिसोर्टमा कामदारकारुपमा आएका थिए। उनका श्रीमती र १० वर्षका छोरी छन्।

प्रकाशित: २१ वैशाख २०७८ ०९:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App