कोरोना संक्रमणबाट बाँकेमा थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ४ र कैलालीका २ जना रहेका छन् । नेपालगन्ज–१० का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको भेरी अस्पतालमा उपचारका क्रममा मंगलबार(आज) बिहान ९ बजेतिर मृत्यु भएको हो । भेरी अस्पतालमा बैशाख १९ गते भर्ना भएका उनलाई भोलीपल्ट कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
यस्तै बाँके, बैजनाथ– ५ की ६२ बर्षिया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको मंगलबार बिहान साढे ६ बजेतिर मृत्यु भएको हो । मेडिकल कलेजमा वैशाख १९ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या आएपछि भोलीपल्ट सोमबार मेडिकल कलेजमा भर्ना भएकी थिईन् ।
यसैगरी धनगढी–१८, कैलालीका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा वैशाख १९ गते पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । सोमबार भर्ना भएका उनको मंगलबार बिहान साढे ४ बजेतिर मृत्यु भएको हो ।
कैलाली, बर्दगोरिया–६ का ८० वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा सोमबार राती ११ः५० बजेतिर उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल कलेजमा वैशाख १४ गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि भोलीपल्ट उनी भर्ना भएका थिए ।
त्यस्तै नेपालगन्ज–१० का ७० वर्षीय पुरुषको पनि मेडिकल कलेजमै मृत्यु भएको छ । उनको सोमबार राती ११ः४० बजे मृत्यु भएको हो । यही बैशाख १७ गते मेडिकल कलेजमा पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ भएको थियो । भोलीपल्ट उनी मेडिकल कलेजमा भर्ना भएका थिए ।
बाँके, खजुरा–२ का ६९ वर्षीय पुरुषको मृत्यु भएको छ । बागेश्वरी ल्याबमा वैशाख १९ गते पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ भएपछि सोही दिनदेखी उनी होम आईसोलेसनमा बसेका थिए । स्वास्थ्यमा समस्या आएपछि होम आईसोलेसनबाट अस्पताल लैजादै गर्दा सोमबार राती ११ः३० बजेतिर मृत्यु भएको हो ।
यो सँगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या १ सय ४३ र बाहिरी जिल्लाको मृतक संख्या १ सय २५ पुगेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
प्रकाशित: २१ वैशाख २०७८ ०६:१२ मंगलबार