coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मुन्दुम ट्रेलको प्रवर्द्धनमा साईकल यात्री

मैयूं पुगेका साईकल यात्री तेजप्रसाद पराजुली (एभरेष्टबाबु) । तस्बिर : पराजुलीकै फेसबुक

झापा चन्द्रगढीका साईकल यात्री तेजप्रसाद पराजुली (एभरेष्टबाबु)ले मुन्दुम ट्रेल (मुन्दुम मार्ग) यात्रा गरेका छन् । खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीय स्थलको पर्यटन प्रवद्र्धनका लागि परिकल्पना गरिएको मुन्दुम ट्रेलको प्रचार–प्रसारका लागि साईकल यात्री पराजुलीले साईकलबाटै मुन्दुम ट्रेलको यात्रा गरेका हुन् । साईकल कुदाएर नेपालका ७७ जिल्लाको यात्रा गरिसकेका पराजुलीले मुन्दुम ट्रेल अन्तरगत भोजपुर, सुन्तले, मैयूँडाँडा, हाँसपोखरी, दलसिंगे हुँदै चखेवाभञ्ज्याङबाट भोजपुर नै फर्किएको मुन्दुम ट्रेलका प्रवद्र्धक मैयूं–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्र (एमटिएसएसटिसिपी)का अध्यक्ष रमेश राईले बताए ।  

साल्पा सिलिचुङको टपसम्म साईकल पुर्‍याउने लक्ष्यका साथ बैसाख १६ गते मुन्दुम ट्रेलको यात्रा सुरु गरेका पराजुलीले कहिल्यै नहिँडेको बाटो, प्रतिकूल मौसम तथा साथमा सहयोगी नभएका कारण तीन दिनमै यात्रा टुंग्याएका छन् । मुन्दुम ट्रेलको प्रवद्र्धनमा आफ्नै खर्चमा सोलो साईकल यात्रा गरेर पुराजुलीले ‘मुन्दुम ट्रेलको पहिलो साईकल यात्री’को इतिहास रचेको अध्यक्ष राईले बताए । राईका अनुसार मुन्दुम ट्रेल एक्स्प्लोर गर्नेक्रममा वातावरण संरक्षणकर्मी देबेन्द्र बस्नेतले पनि साईकल यात्राका लागि चासो देखाएका थिए । तर कारणवस बस्नेतको यात्रा रोकिएको थियो  

खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीय स्थल चखेवाभञ्ज्याङ, मैयुङडाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पा पोखरी, सिलिचुङडाँडा लगायतको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले २०७५ सालमा मुन्धुम ट्रेलको अवधारणा अघि सारिएको हो । मुन्दुम ट्रेलमा खोटाङको साकेला गाउँपालिकाको तावाभञ्ज्याङबाट भोजपुरको टेम्केमैयूं गाउँपालिका, खोटाङको केपिलासगढी गाउँपालिका, भोजपुरको साल्पा सिलिचोँ गाउँपालिका, साल्पापोखरी हुँदै साल्पा सिलिछो पिक पु¥याउने र ताराखसे पोखरीबाट भोजपुरको षडानन्द नगरपालिका, भोजपुर नगरपालिका हुँदै मध्यपहाडी लोकमार्गको साम्पाङ चोकलाई समेटिएको छ । आन्तरिक तथा वाह्य पर्यटकलाई यात्रा गराउँदै पर्यटन प्रवद्र्धन गर्ने र आन्तरिक आयआर्जन वृद्धि गर्ने लक्ष्यका साथ मुन्दुम ट्रेलको परिकल्पना गरिएको मैयूं–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवद्धन केन्द्रले जनाएको छ ।  

मुन्दुम ट्रेलले विशेषगरी दर्शनका लागि प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल साल्पा पोखरी पुग्ने दर्शनार्थी बढी लाभान्वित हुने छन् । हाल मुन्दुम ट्रेलका लागि विभिन्न स्थानीय तहमा आवश्यक संरचना निर्माणको काम भइरहेको छ । पर्यटन प्रवद्र्धनका लागि खोटाङ र भोजपुरको सिमानामा पर्ने तावाभञ्ज्याङबाट मैयूडाँडा, बगरेभञ्ज्याङ, जुगेडाँडा, लौरेडाँडा हुँदै साल्पापोखरी पुग्ने ६० किलोमिटर दुरीको मुन्दुम पदमार्ग अन्तरगत साकेला गाउँपालिका (खोटाङ)भित्र पर्ने खण्डमा स्थानीय सरकारको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्वीस सरकार विकास सहयोगको ३५ प्रतिशत गरी ९१ लाख ४५ हजार २५२ रुपैयाँमा मुन्दुम पदमार्गको काम भइरहेको साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए । 

प्रकाशित: २० वैशाख २०७८ १२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App