coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बिस्फोटक पदार्थसहित एक पक्राउ

मिक्लाजुङ गाउँपालिका–२ मा दुई पटक शंकास्पद वस्तु राखेर त्रास फैलाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। शंकास्पद वस्तु राखेर त्रास फैलाउने र त्यसका आधारमा चन्दा असुल गर्ने समूहमध्येका एकजना बन्दुक तथा बिष्फोटक पदार्थसहित पक्राउ परेको प्रहरीले जनाएको छ। वैशाख ७ गते सप्तमी बजार नजिकै एनसेलको टावर छेउमा सकेट बम राखिएको थियो। उक्त बम राखेको नजिकै नेपाल कम्युनिष्ट पार्टी (विद्रोहि समूह) का नाममा पर्चा भेटिएको थियो।  

यस्तै, बुधबार बिहान पनि सोही ठाउँ नजिकै शंकास्पद वस्तु फेला परेको थियो। दुवै शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको थियो। एकपछि अर्को गरी शंकास्पद वस्तु भेटिएपछि प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरेको थियो। शंकास्पद वस्तु राखेर स्थानीयलाई त्रसित गराउने, चन्दा दिन धम्काउने व्यक्तिलाई हतियार, हतियार तथा बममा प्रयोग हुने सामग्रीसहित पक्राउ गरिएको पाँचथरका प्रहरी प्रमुख डिएसपी दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका व्यक्ति तथा उक्त समूहको बारे अनुसन्धान भइरहेको उनले बताए। प्रहरी स्रोतका अनुसार फालेलुङ गाउँपालिकाका ३७ वर्षीय कुबेर राई पक्राउ परेका हुन्। उनीसँगै तीनजनाको समूह रहेको प्रारम्भीक अनुसन्धाबाट खुलेको छ। अन्य दुईजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। जिल्लाको फालेलुङ गाउँपालिका–८ को आकासे भन्ने ठाउँमा समेत शंकास्पद वस्तु राखेको उनले स्वीकार गरेका थिए। 

प्रहरी टोलीले उक्त स्थानमा पुग्दा शंकास्पद वस्तु समेत फेला पारेको थियो। अहिले अनुसन्धान भइरहकाले सबै कुराको जानकारी प्राप्त नभएको डिएसपी थापाले बताए। पक्राउ परेको व्यक्तिको घर खानतलासी गर्दा भरुवा बन्दुक एक थान, सोही बन्दुकमा प्रयोग हुने सात थान पाठपुर्जा फेला परेको प्रहरीले जानकारी दिएको छ। यस्तै १ थान सकेट, फेक्जीवल तारसहित विद्युतीय सामग्री, बिष्फोटमा प्रयोग हुने सक्ने ९ थान फलामका टुक्रा, सिम कार्डसहित पाँच थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ वैशाख २०७८ ०२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App