८ वैशाख २०८१ शनिबार
समाज

मोरङमा शनिबार रातिदेखि एक सातासम्म निषेधाज्ञा

मोरङमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको जारी गरेको छ ।  

कोरोना भाइसको संक्रमित संख्या बढ्न थालेपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको कोभिड क्राइसिस व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा गर्ने निर्णय गरेको हो । शनिबार (वैशाख १८ गते)राति १२ बजेदेखि लागु हुने गरी १ साताका लागि निषेधाज्ञा जारी गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।  

कोभिड १९ को दोस्रो लहरबाट संक्रमणको जोखिम बढेकोले नियन्त्रण गर्नका लागि निषेधाज्ञाको आदेश जारी गरेको बताउँदै प्रजिअ निरौलाले भने, ‘यस समयमा सार्वजनिक सवारीसाधन चलाउन नपाउने र पहिलो चरणमा संक्रमणको चेन ब्रेक गर्ने तथा अर्को पटक अवस्था हेरी खुकुलो हुन सकिने छ ।’  

कोरोनाको संक्रमणबाट बढी प्रभावित विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र जहदा गाउँपालिकाका सबै वडामा निषेधाज्ञा लागु हुनेछ । कटहरी गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडाका साथै भारत र सुनसरी जिल्लासँग जोडिएको सीमा क्षेत्रहरुमा निषेधाज्ञा जारी गरिएको प्रजिअ निरौलाले बताए । जिल्लाभर बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुल गर्न नपाइने भएको छ ।  

निषेधाज्ञाको अवधिमा औषधि, खाद्यवस्तु, इन्धनलगायत अत्यावश्यक वस्तु तथा सेवाहरु खरिद गर्न बाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ । खाद्यवस्तु, खाना पकाउने इन्धन, तरकारी, डेरी सम्बन्धी पसल र निर्माण सामग्रीका पसल बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने प्रशासन कार्यालयले जनाएको छ ।    

दैनिक रुपमा नित्य गरिने पूजा प्रार्थना बाहेक सबै धार्मिक सांस्कृतिक कार्य, मेला, चाडपर्व, हाटबजारलगायत सामूहिक गतिविधि गर्न नपाइने बताइएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक सेवामा प्रयोग हुने विद्युत्, खानेपानी, सञ्चार, बैंक, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, पशुआहार ढुवानीका साधन, एम्बुलेन्स, शव वहान, सरकारी नम्बरका साधन बाहेक अन्य सञ्चालन नगर्न प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  

छिमेकी मुलुक भारतसँग हुने आवागमन पूर्ण रूपमा बन्द गर्ने हुनेछ ।  उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य वृद्धि गर्नेलाई कारबाही हुने, होटल रेष्टुरेन्टहरु होम प्याक तथा होम डेलिभरी प्रयोजनका लागि मात्र खुला रहने प्रजिअ निरौलाले बताए ।  

निषेधाज्ञाका समयमा १० वर्षमुनि र ६० वर्षमाथि उमेर समूहका नागरिकलाई कुनै पनि काममा घरबाट बाहिर निस्कन नमिल्ने प्रशासनले जनाएको छ । वैवाहिक कार्यक्रममा बढीमा १५ जनासम्म सरिक हुन पाउने छन् भने भारतबाट आउने क्रममा नेपालीबाहेक अन्य मुलुकका नागरिकलाई भने पूर्ण रुपमा रोक लगाइएको छ ।

प्रकाशित: १७ वैशाख २०७८ १५:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App