७ वैशाख २०८१ शुक्रबार
समाज

उदयपुरमा काेराेना तीव्रः सांसद राई संक्रमित

उदयपुर कोभिड अस्पताल । तस्बिरः महेश्वर

गतवर्ष पहिलो कोभिड महामारीको ‘इपिसेन्टर’ हुन पुगेको उदयपुरमा दोस्रो चरणको संक्रमणले पनि गाँज्दै गएको अनुमान गरिएको छ । शुक्रबार प्रतिनिधिसभा सदस्य सुरेशकुमार राई (हिमाल)सहित जिल्ला प्रशासन कार्यालयका कर्मचारीलगायत ८ जना संक्रमित थपिएसँगै सातादिनभित्र २९ मा कोभिड पुष्टि हुनुले उदयपुर असुरक्षित भएको निश्कर्ष निस्केको छ ।

सातादिनअघि कटारीमा ४ र त्रियुगामा १ जना मात्र संक्रमित रहेकोमा शुक्रबारसम्ममा २९ जनामा रोग पुष्टि भईसकेकाले उदयपुर असुरक्षित देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एकैदिन जिल्ला प्रशासनका कर्मचारीसहित ८ जनामा संक्रमण पाइएको तथा सांसद राईमा पनि पुष्टि भएको स्वास्थ्यले जनाएको छ ।  

पछिल्लो अद्यावधि अनुसार त्रियुगा नगरपालिकामा संक्रमित संख्या ४ महिलासहित १६ पुग्दा कटारी नगरपालिकामा २ महिलासहित ४ संक्रमित छन् । चौदण्डीगढीमा १ महिलासहित ३, बेलकामा १ पुरुष र रौतामाई गाउँपालिकामा १ पुरुष संक्रमित पाइएको स्वास्थ्य कार्याालयका फोकल पर्सन उमेश लुईटेलले बताए । उनका अनुसार यसअघि नै १ संक्रमित महिलाको मृत्यु भएको थियो भने २ पुरुष संक्रमणमुक्त भएर घर फर्किसकेका छन् । ताप्ली, उदयपुरगढी र लिमचुङबुङ गाउँपालिकामा भने अहिलेसम्म संक्रमित कोही नदेखिएको लुईटेलले बताएका छन् ।  

स्वास्थ्य कार्यालयले संक्रमणबाट बँच्न सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै रोग पत्ता लगाउन पिसिआर र एन्टिजेन किट खरिद प्रक्रिया अघि बढाएको जनाएको छ । स्वास्थ्यले सबै स्थानीयतहलाई एन्टीजेन किट खरिद गर्न आग्रह गरे अनुसार आईतबारभित्र किट आईपुग्ने जिल्ला स्वास्थ्य प्रमुख मोहन सुबेदीले बताए । उनका अनुसार त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका तथा उदयपुरगढी गाउँपालिकाले एन्टीजेन किट खरिद गरिसकेकाले आईतबारसम्ममा आईपुग्ने छ ।  

त्रियुगा र चौदण्डीगढी नगरपालिकाले ५–५ सय किट खरिद गरेका छन् भने बेलकाले ३ सय तथा उदयपुरगढीले खरिद गरेको १ सय किट आईपुग्ने क्रममा रहेको छ । किट आएपछि आईतबारदेखि शंकास्पद व्यक्तिहरुको एन्टीजेन परीक्षण सुरु हुने उनले बताए । कटारीले आफै खरिद गर्ने जनाएको छ भने ताप्ली, रौतामाई र लिमचुङबुङले किट किन्ने विषयमा निर्णय चासो नदिएको सुबेदीले बताएका छन् ।  

सुबेदीका अनुसार एन्टिजेन किट पिसिआरभन्दा महँगो तर, छिटो नतिजा निस्कने प्रविधि हो । नाकबाट स्वाव लिएर परीक्षण गर्ने यस विधिबाट १५ मिनेटभित्र नतिजा पत्ता लागिसक्ने सुबेदीले बताए । पिसिआर विधिबाट परीक्षण गर्न नाक र मुखबाट स्वाब लिनुपर्ने तथा नतिजा लिन कम्तीमा २४ घण्टादेखि सातादिनसम्म लाग्ने गर्छ । पिसिआर ३ देखि ५ सय रुपैंयासम्म पर्छ भने एन्टिजेन झण्डै १ हजार पर्ने सुबेदीले बताए ।  

चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले सातादिनअघि नै एन्टिजेन किट किन्ने प्रक्रिया अघि बढाएको र आईपुग्ने तयारीमा लागेको बताए । उदयपुर कोभिड अस्पताल चौदण्डीगढी ६ मै रहेको र संभावित संक्रमित पत्ता लगाउन पनि किट खरिद गरिएको उनले बताए । ४ जना संक्रमितको उपचार भईरहेको कोभिड अस्पतालमा एकजना निको भएर घर फर्किसकेका छन् भने बाँकी ३ जना उपचाररत रहेको मेयर राईले बताए ।  

संक्रमण बढेपछि जिल्ला कोभिड शंकट व्यवस्थापन समिति (डिसिसिएमसी) उदयपुरले सुरक्षा सतर्कता अपनाउन कडाई गरेको छ । प्रशासनकै कर्मचारीसमेत जिल्लामा भकाभक संक्रमितहरु बढ्न थालेछि डिसिसिएमसीले सुरक्षा सतर्कतामा कडाई गर्नुपरेको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईले बताए । उनले लकडाउन नै गर्ने सोँचाई नभएको तर, बजारमा बढी भिडभाड र सर्वसाधारणमा सचेतना नदेखिएकाले बाध्य भएर कडाई गर्नुपर्ने बाध्यता आईपर्नसक्ने बताए ।  

प्रशासनले आउँदो आईतबारदेखि प्रशासनको सेवा प्रवाहमा आलोपालो प्रणाली लागु गर्न लागेको उनले बताए । खासगरी नागरिक्ता, नागरिक्ताको प्रतिलिपि तथा अहिले वितरण भईरहेको राष्ट्रिय परिचयपत्रको सेवाग्राहीको भीड अत्यन्त बाक्लो रहेकाले सदरमुकाम र नगरपालिकालाई पालो प्रणाली लागु गर्न लागेको सेंढाईले बताए । बेलका नगरबासीलाई आईतबार र सोमबार, चौदण्डीगढीलाई मंगलबार र बुधबार तथा त्रियुगालाई बिहीबार र शुक्रबारको पालो मिलाइएको छ ।  

पहाडी भेगका लिमचुङबुङ, ताप्ली, रौतामाई र उदयपुरगढी गाउँपालिका भने टाढा र बिकटबाट आउनुपर्ने भएकाले कार्यालय खुल्ने सबै दिन सेवा प्रदान गर्ने सिडिओ सेंढाईले बताएका छन् । संक्रमणको अवस्था थप जटिल बन्दै गएमा कडाईका लागि आवश्यक कदम चाल्न उद्योग बाणिज्य संघलगायत सरोकारवालाहरुसँग छलफल गर्ने तयारी भईरहेको पनि उनले बताए ।

प्रकाशित: १७ वैशाख २०७८ १४:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App